काठमाडौं । पहिलो र दोश्रो चरणमा गरी ६७ जिल्लामा चुनाव भयो । पहिलो चरणमा निर्वाचन भएका ३४ जिल्लाका १ सय २५ तह जितेर एमाले पहिलो बन्यो । त्यस्तै कांग्रेस १ सय ४ तह जितेर दोस्रो स्थानमा खुम्चियो भने व्यवस्थापिका– संसद्मा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र स्थानीय तहमा पनि तेस्रै भयो । उसले ४६ स्थान ल्यायो ।
पहिलो चरणको निर्वाचनमा १० राजनीतिक शक्तिले उपस्थिति जनाए तर चर्चा भयो विवेकशील नेपाली दल र साझा पार्टीको मात्र । त्यसो त विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेकी रञ्जु दर्शनाले सबैलाई उछिनिन् ।
सामाजिक सञ्जाल, डिजिटल मिडिया, पत्रपत्रिका सबैतिर चर्चा बटुलेकी उनले २३ हजार ४ सय ३९ मत ल्याइन् । त्यस्तै काठमाडौं महानगरकै मेयर पदमा उठेका साझा पार्टीका किशोर थापाको पनि चर्चा नभएको होइन ।
नेपाल सरकारका पूर्व सचिवसमेत भइसकेका थापाले १८ हजार ४ सय ९६ मत ल्याए । त्यस्तै चर्चामा आउने अर्की उमेदवार थिइन्, साझा पार्टीकी शोभा शाक्य । ललितपुर महानगरपालिको उपमेयरको उमेदवार बनेकी उनले १४ हजार २ सय ४० मत ल्याइन् । र, दोस्रो बनिन् ।
चुनावमा चर्चा बटुले पनि यी दलले निर्वाचित भएका २ सय ८३ तह र १३ हजार ४ सय जनप्रतिनिधिमध्ये एक स्थान पनि आफ्नो बनाउन सकेनन् ।
पहिलो चरणमा कसले कति जित्यो ?
पहिलो चरणको निर्वाचनमा प्रमुख पदमा २ सय ८३ स्थानमै तीन पार्टीको बर्चस्व कायम रह्यो । ५३ प्रमुख, ७२ अध्यक्षसहित ६ हजार ५३ पद जितेर एमाले पहिलो भयो भने त्यस्तै कांग्रेस ३२ प्रमुख, ७२ अध्यक्षसहित ४५ हजार ४० पद जितेर कांग्रेस दोस्रो बन्यो । माओवादी केन्द्र १० प्रमुख, ३६ अध्यक्ष जितेर तेस्रो बन्यो । ३ उपप्रमुख, १ अध्यक्ष, २ उपाध्यक्षसहित १२१ १ सय २१ पद जितेको राप्रपा चौंथो त बन्यो तर स्थानीय तहमा उसको उपस्थिति सन्तोषप्रद रहन सकेन ।
भक्तपुरमा १ प्रमुख, १ उपप्रमुख जितेको नेमकिपाले कुल ९९ पद जित्यो ।
पहिलो चरणको निर्वाचनमा नयाँ शक्तिले पनि अपेक्षाकृत उपस्थिति जनाउन सकेन । एक अध्यक्ष जितेको नयाँ शक्तिले जम्मा ५९ पदमा चित्त बुझाउनुप¥यो । उसको भन्दा बढी त स्वतन्त्रले नै ८४ पदमा विजय हासिल गरे । राष्ट्रिय जनमोर्चा १ ठाउँमा अध्यक्ष, १ ठाउँमा उपाध्यक्षसहित ७५ पदमा विजयी हुँदा नेपाल लोकतान्त्रिक ६ पदमा सीमित भयो । राष्ट्रिय जनमुक्ति पार्टी २, नेपाल परिवार दलले १ पद जितेर खातामात्रै खोल्यो ।
दोस्रो चरणको परिणाम पनि उस्तै
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्याङ्कअनुसार दोस्रो चरणको निर्वाचनमा हालसम्म १२ हजार ७ सय ५८ जना प्रतिनिधि निर्वाचित भएका छन् । त्यसमा पनि ठूला दलकै प्रतिनिधित्व छ । काठमाडौं र ललितपुरमा चर्चा बटुलेका साझा र विवेकशील मोफसलमा उठ्न सकेनन् ।
इटहरीमा विवेकशील पार्टीबाट चुनाव लडेकी ताराकुमारी काफ्लेले जसोतसो दोहोरो अंक जोडिन् । साझापार्टीबाट उपमेयर उठेका प्रकाशचन्द्र परियार पनि मतगणनामा पुछारमा परे । विवेकशील पार्टीबाट झापाको विर्तामोड नगरपालिकाको मेयर पदमा उमेदवारी दिएका गोविन्दप्रसाद अधिकारी गणनामा निकै पछि परे ।
एमालेले ५१ प्रमुख, ८५ अध्यक्षसहित ५ हजार ७ सय ५४ पद जितेको छ । कांग्रेसले ३८ प्रमुख, ६५ अध्यक्षसहित ४ हजार ४ सय १७ पद जितेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ७ प्रमुख, २४ अध्यक्षसहित १ हजार ६ सय २३ पद जितेको छ ।
दोस्रो चरणको निर्वाचन १ प्रमुख २ अध्यक्षसहित १ सय ३३ स्थान जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चौंथो स्थानमा रहेको संघीय समाजवादी फोरमलाई उछिन्न सकेन । १ उपप्रमुख, ६ अध्यक्ष, ४ उपाध्यक्षसहित ३ सय १२ पद जितेर ऊ चौंथोमा भयो ।
त्यस्तै १ प्रमुख, १ उपप्रमुख, ५ अध्यक्ष, ४ उपाध्यक्षसहित २ सय ३९ पद जितेर नेपाल लोकतान्त्रिक पाँचौँ शक्ति भयो र उसले पनि राप्रपालाई पछि पार्यो ।
१२ वटा राजनीतिक पार्टीले जितको उपस्थिति जनाएको दोस्रो चरणमा राष्ट्रिय जनमोर्चाले २ अध्यक्ष, २ उपाध्यक्षसहित १ सय ११ पदमा विजय हासिल गर्यो । त्यस्तै बहुजन शक्ति पार्टीले ३७ पद जित्दा नयाँ शक्ति ऊ भन्दा पनि पछि पर्यो । अर्थात् २८ पदमा मात्रै विजय हासिल गर्यो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७, राष्ट्रिय जनमुक्ति पार्टी ५, मालेले ४ पद जित्दा स्वतन्त्रले २८ पदमा बाजी मार्यो । यद्यपि स्वतन्त्रबाट उमेदवारी दिने कतिपय निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता पनि थिए ।
जे होस्, हालसम्मको निर्वाचनको परिणामले कांग्रेस, एमाले र माओवादी केन्द्रले जनताको विश्वास जित्न सकेको र मधेसी बहुल भएका ठाउँमा संघीय समाजवादी फोरम र लोकतान्त्रिक पार्टीलाई मतदाताले रुचाएको देखिन्छ ।