
काठमाडौं । नेपाली सेनामा पछिल्लो समय महिला सहभागिता बढ्दै गएको देखिन्छ । प्राविधिकतर्फ ०१७ सालमै महिलाको सहभागिता सुरु भएको थियो । तर, साधारणतर्फ ०६० बाटमात्र महिलाले प्रवेश पाएका हुन् । १६ वर्षे छोटो इतिहास भए पनि सेनामा महिला सहभागिता उल्लेखनीय रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । उनका अनुसार तल्लो तहदेखि माथिल्लो स्तरसम्म महिला सहभागिता बढेको छ ।
साधारण, विविध सेवा नियमावलीले निर्देशित गरेका र प्राविधिक गरी सबै फिल्डमा महिलाहरु छन् । अर्थात् बम डिस्पोज गर्नेदेखि डाक्टर, पाइलट, इन्जिनियर तथा लास बोक्ने काममा समेत महिलाको सहभागिता छ । कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ । नेपाली समाजमा महिलाले मलामी जानु हुँदैन भन्ने रुढीवादी परम्परा छ भने शव बोक्ने त धेरै परको कुरा भयो ।
तर, प्रवक्ता पौडेल नेपाली सेनाले समाजका यस्ता रुढीवादी परम्परालाई चुनौती दिएको बताउँछन् । शव व्यवस्थापनमा महिला सहभागिता महिला सशक्तिकरणको उल्लेखनीय पाटो भएको उनले बताए । सेनामा महिला सहभागिता पाँच प्रतिशतभन्दा बढी छ । प्रवक्ता पौडेल यसलाई कम आँक्न नमिल्ने तर्क राख्छन् । “वर्तमान नजरबाट हेर्दा सेनामा महिला सहभागितालाई कम आँक्न मिल्ला । तर, ०६० सालमा सेनामा महिला सहभागी गराउने भन्ने कुरा ठूूलो विषय थियो,” उनले भने ।
संस्थाको लक्ष्य पनि पाँच प्रतिशत नै हो । यसलाई तुलनात्मकरुपमा हेर्नुपर्ने उनको भनाइ छ । “प्रस्थान विन्दुबाट हेरियो भने समाजमा आएका परिवर्तन, संविधानमा आएका परिवर्तन र संविधानले सुरक्षित गरेका महिला अधिकारका कुरालाई हेर्ने हो भने हाम्रो ग्राफ नियमित छ,” उनी भन्छन् । ३९ वर्षीया मेजर जमुना विष्टले सेनामा जागिर खाएको १६ वर्ष भयो । आर्मीको पोसाकले लोभ्याएर नेपाली सेनामा भर्ना भएकी उनी अहिले आफ्नो पृतनाकोे जेन्डर फोकल पर्सन पनि हुन् ।
सेनामा लैंगिक समानताका विषयमा उठेका सवाल, लैंगिक विभेद र दुर्व्यवहारका घटनालाई सम्बोधन गर्न फोकल पर्सनलाई नै जिम्मेवारी दिइएको छ । देशभरि रहेका आठओटै पृतनामा फोकल पर्सन छन् । ती सबै पदमा महिला नै आसिन छन् ।
यदाकदा यौन दुर्व्यवहारका घटना आउने गरेको र यस्ता घटनाको रिपोर्ट हुनेबित्तिकै दुर्व्यवहार गर्ने तुरुन्त जागिरबाट निष्कासित हुने गरेको मेजर विष्ट बताउँछिन् । उनी भन्छिन्, “हुन त आर्मी भन्नेबित्तिकै एकदम बलियो ठान्छन् । बाहिर पोसाक नलगाई हिँड्दा कसले चिन्ने ? त्यसैले सामाजिक सुरक्षाको दृष्टिकोणले हेर्दा बाहिरभन्दा ब्यारेकमै सुरक्षित लाग्छ । यो कानुन आएदेखि महिलाहरुले यहाँ बढी सुरक्षित महसुस गरेको मैले पाएको छु ।”
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेपछि ‘प्रधानसेनापति कमान्ड मार्गनिर्देशन, २०७५’ ले लैंगिक समानतामा ध्यान दिन र महिलामैत्री पूर्वाधार र वातावरण तयार गर्न निर्देशन दिएकाले त्यसैको आधारमा काम अघि बढिरहेको छ । महिलामैत्री भौतिक पूर्वाधार हुनु र लैंगिक सवालको सम्बोधन गर्न छुट्टै संयन्त्र हुनु यसको उदाहरण रहेको प्रवक्ता पौडेलको भनाइ छ ।
नेपाली सेनामा सहायक रथीको दर्जासम्ममा महिला पुगेका छन् । प्रवक्ता पौडेल भन्छन्, “मान्छेको पेसामा समयाक्रममा वृत्तिविकास हुन्छ । जस्तो क्षमताको आधारमा र मेरिटको आधारमा ।”
अहिले चारजना महिला सैनिक स्टाफ कलेजमा पढिरहेका उनले जानकारी दिए । “माथिल्ला पदमा पुग्न चाहिने तालिमका ढोका सबैलाई खुलेका छन् । अहिले पनि साढे ३०० ले परीक्षा दिँदैछन् । जसमा महिला सहभागिता उल्लेख्य छ । आजको भोलि नै महिला प्रधानसेनापति किन भएन भन्ने कुरा असान्दर्भिक हुन्छ कि !” उनले थपे ।
साधारण सेवामा नेपाली सेना विश्वकै लागि उदाहरण बनेको मेजर विष्ट बताउँछिन् । प्राविधिकमा त महिला सहभागी छन् नै, मैदानमा पनि महिला खटिएको देख्दा सार्क मुलुकमात्र नभई विश्वका अन्य देश पनि छक्क पर्ने गरेको उनको अनुभव छ ।
विश्वका अरु देशका सेनामा पनि महिलाहरु ठूल्ठूलो दर्जामा पुगेका छन् । प्रवक्ता पौडेल भन्छन्, “नर्वे, स्कानडेभियन देश यो मामिलामा अलि अगाडि छन् । अमेरिकाको मरिन कोर्समा पनि महिला उल्लेख्य सहभागी छन् । तर, फ्रन्टलाइनमा महिला सहभागी गर्नेबारेमा त्यहाँ पनि ठूलो विवाद छ ।”
यहाँ जे जति भएको छ, त्यसलाई उपलब्धिमूलक नै मान्नुपर्ने उनको तर्क छ ।
शारीरिकरुपमा कमजोर होइन
शारीरिकरुपमा महिला कमजोर हुन्छन् भन्ने मानसिकता त्याग्नुपर्ने उनी बताउँछन् । “योचाहिँ संवेदनशील र विवादास्पद विषय पनि हो । यो विषयमा म प्रवेश गर्न त चाहन्न । तर, जुन सोच लिएर हामी अगाडि बढिरहेका छौँ, त्यो सोचलाई ब्रेक गर्न आवश्यक छ,” उनी भन्छन् । पौडेल लेफ्टिनेन्ट हुँदा एउटा इन्टेलिजेन्स कोर्स गर्न अमेरिकाको एरिजोना पुगेका थिए । त्यहाँ तालिममा नौजना महिलाहरु थिए । तीमध्ये चारजनाजतिले दौड, पुसअप हरेकमा जित्ने गरेको उनी सम्झन्छन् ।
प्राकृतिकरुपमा महिलाले गर्भधारण गर्नुपर्ने भएकाले स्वास्थ्य या हर्मोनमा केही परिवर्तन आउनु स्वाभाविक हो । तर, यो विषयलाई जेनरलाइज गर्न नमिल्ने उनी बताउँछन् । आफू कुनैबेला तालिम कमान्डर हुँदा पहिलोपल्ट सातजना महिला लेफ्टिनेन्ट तालिममा आउँदा उनीहरुलाई व्यवस्थापन गर्न निकै कठिन भएको पौडेल सुनाउँछन् । अहिले व्यवस्थापन चुस्त भइसकेको उनले बताए ।
प्रवक्ता पौडेलका अनुसार महिलालाई काममा लिन धेरै सजिलो छ । उनीहरु स्मार्ट छन् । विवेकशील छन् । कुशल सञ्चार सीप छ । योजना र व्यवस्थापनमा उनीहरु धेरै अगाडि छन् । महिला अफिसरमा कुनैपनि पुरुष अफिसरमा भन्दा सीप र क्षमता कम छैन ।
पहिले–पहिले पुरुषमात्र आर्मी बन्ने बुझिन्थ्यो । मेजर विष्ट भन्छिन्, “जब आमजनताले सिपाही भनेको महिला पनि रहेछन् भन्ने देखे, अलिकति दृष्टिकोणमा फरक पर्यो ।” सबैले पुरुष अफिसरलाई ‘सर’ भन्थे । महिला अफिसरलाई पनि सर नै भने । “तर, पछि ‘म्याम’ भन्न थाले । एक–दुई महिना सुन्दा अफ्ठेरो पनि लाग्यो । तर, हुनुपर्ने त म्याम नै थियो,” उनले सुनाइन् ।
स्टाफ कलेजमा करिब आठ वर्षअगाडि आरजु देउवा जेन्डरको विषयमा सेनालाई कक्षा दिन आएकी थिइन् । शौचालयमा चुकुल नभएको देखेपछि उनले महिलामैत्री संरचना नभएको गुनासो गरिन् । त्यसपछि प्रणाली परिवर्तनमा ध्यान दिएको पौडेलले बताए । अहिले पल्टनभित्रै कपडा धुन मिल्ने, पार्लर, सैलुन र मेकअप कक्ष पनि छ । स्यानिटरी प्याड लिने र प्रयोग गरेपछि व्यवस्थापन गर्न मिल्ने मेसिनदेखि भित्री वस्त्र सुकाउन मिल्ने ठाउँ पल्टनमा छ । ३२ वर्षको नोकरीमा सेनामा यति धेरै परिवर्तन पहिलोपल्ट देखेको पौडेलको अनुभव छ ।
नेपाली सेनाभित्र एकमात्र महिला कम्पनी (गुल्म) पनि छ । त्यसमा कम्पनी कमान्डर हुँदा प्याड प्रयोग गर्न झमेला बढी भएको मेजर विष्ट सुनाउँछिन् । अहिले उनीहरु मेन्सुरेसन कप प्रयोग गर्छन् । यो वातावरणमैत्री र प्रयोगका लागि सजिलो पनि भएको उनले बताइन् । यस्तै, कम्पनी कमान्डर हुँदा महिला भएकै कारणले विशेषाधिकार दिने नगरेको विष्टको दाबी छ । तर, सानो बच्चा छ या बिरामी छ भने मानवताको आधारमा केही छुट दिने गरेको उनी बताउँछिन् । समाजको कारणले आफूहरुले विशेषाधिकार खोजेको उनले बताइन् ।
तर, विशेषाधिकारको विषयमा बुझाइ फरक–फरक हुनसक्ने प्रवक्ता पौडेलको भनाइ छ ।
नेपालका १४१ महिला सैनिक अहिले संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा कार्यरत छन् । पुरुष सैनिक ११ वर्ष सेवा अवधि नपुगी शान्ति सेनामा जान पाउँदैनन् । ११ वर्ष सेवा पुग्ने महिला सैनिकको संख्या कम छ । महिलाले छिट्टै नै शान्ति सेनामा जाने अवसर पाएका छन् । २०६७ मा सेनामा भर्ना भएका महिला शान्ति सेनामा गइसके । तर, २०६२ मा भर्ना भएका पुरुष बल्ल जाँदैछन् ।
नेपाली सेनामा ९२ हजार दरबन्दी छ । महिलामा सेनाप्रति क्रेज बढ्दो छ । सेनामा ४५ प्रतिशत आरक्षण छ । त्यसमा २० प्रतिशत महिलाका लागि छुट्ट्याइएको छ ।