काठमाडौं । व्यावसायिकतातर्फ भर्खरै बामे सरिरहेको नेपालको नाट्य क्षेत्र कोरोनाले पूरै थलापर्यो । नाटकघरहरुमा ९ महिना लागेको तालबन्दीले कति रंगकर्मीहरु विकल्प सोच्न बाध्य बने भने कति पलायन हुने बाटोतिर छन् ।
नाटकघर संस्थापक तथा निर्देशकहरु राज्यले महत्व नबुझ्दा नाटकघरको भविष्य अन्योल भएको तितो यथार्थ पोखिरहेका छन् । यस क्षेत्रमा दशकौँदेखि लागिरहेका व्यक्तिहरु मान्छन् कि यदि अशेष मल्ल, सुनील पोखरेललगायतका केही व्यक्तिहरुले यस क्षेत्रबाट हात झिक्ने हो भने रंगमञ्चको ढोका सधैंका लागि बन्द हुन सक्ने छ ।
तर नाट्यकर्मी/निर्देशक तथा साहित्यकार अषेश मल्ल भने यो कुरा स्वीकार्न तयार छैनन् । हरेक व्यक्तिमा निराशा र हतास सुनिरहँदा मल्ल भने सकारात्मक र नेपाली नाट्य क्षेत्रको भोलिको दिन अझै सुनौलो देखिरहेका छन् ।
“म यो कुरा स्वीकार्न तयार छैन । अषेश मल्लजस्तो नाट्य क्षेत्रमा भोक हुने व्यक्तिहरु जन्मिरहेका छन्,” मल्ल आशावादी सुनिन्छन्, “हिजो म थिएँ भने भोलि अरु कोही मेरो ठाउँमा आउने छन् । राम्रा निर्देशकहरु जन्मिरहेका छन् । त्यसैले नाट्य क्षेत्र कहिले पनि बन्द हुने अवस्थामा भने पुग्ने छैन ।”
उनी नाट्य क्षेत्रमा पैसा नभई प्यासन भएका निर्देशक र कलाकारहरु जन्मिरहेको र जन्मिन आवश्यक भएको महसुस गर्छन् ।
मल्लको नाट्य यात्रा पञ्चायतकालको विद्रोहको आवाजबाट सुरु भएको थियो । विगत चार दशकभन्दा बढी समयदेखि निरन्तर यसैलाई कर्म बनाएर अघि बढिरहेका उनी यो महामारीको युग अन्य क्षेत्रभन्दा पनि नाट्य क्षेत्रका लागि अझै चुनौतीपूर्ण रहेको बताउँछन् ।
“राज्यले एक शब्द पनि खर्चेको छैन हाम्रो अवस्था बुझ्नको लागि । आर्थिक सहयोगको त के आश गर्नु । खै, राज्यले नाटकघरको लागि बजेट छुट्ट्याएको छ र ? हामीले त आजसम्म पाएका छैनौँ,” उनी उल्टै प्रतिप्रश्न गर्छन् ।
उनले वि.सं. २०३२ सालतिर स्थापना गरेको सर्वनाम थिएटर सरकारी सहयोगभन्दा पनि विदेशी साथीहरुको साथ, सहयोग र मायाले अघि बढिरहेको स्वीकार्न कुनै हिचकिचाउँदैनन् ।
मल्ल नेपालमा पाइने लोककला विरलै पाइने भएकाले अबको नाटकघर तथा निर्देशकहरुले हाम्रो मौलिक र लोककलालाई देशी तथा विदेशी दर्शकसामु पस्किन सके नाटकघरको पहुँच र गुणस्तरमा वृद्धि हुने विश्वास गर्दछन् ।
मल्ल आफूलाई एक ‘बौलाहा’को संज्ञा दिँदै भन्छन्, “कलाको उत्थान र समाजमा सकारात्मक परिवर्तन र दर्शकलाई सुसूचित गर्न नाटकघर खोल्ने भनेको म जस्तो बौलाहाहरुले मात्रै हो ।” किनभने, उनलाई राम्रोसँग थाहा छ यो क्षेत्रबाट आर्थिक रिर्टन शून्य हो भनेर ।
तर, यति हुँदाहुँदै पनि त्यस्ता प्यासन बोकेका ‘बौलाहा’हरु भलै धेरै वर्षमा एकाध जन्मिएलान् । तर, अवश्य जन्मने छन् । त्यसैले उनी पुन दोहोर्याउँदै भन्छन्, “जसले प्यासन राख्छ, त्यसले कहिले नाटकघर मर्न दिँदैन ।”
यही माघ १ गतेदेखि काठमाडौं र मोफसलका गरी करिब आठवटा नाटकघरहरु संयुक्त रुपमा सञ्चालनमा आएका छन् । तर, अशेष मल्ल भने अहिले दर्शकका लागि नाटकघर खोलीहाल्ने मनस्थितिमा छैनन् । कोरोना संक्रमणको कहर कायमै रहेको हुनाले अहिले जोखिम मोलेर नाटक मञ्चन गर्न उनी चाहँदैनन् ।
तर, उनको सर्वनाम थिएटरमा आन्तरिक तयारी भने पछिल्लो महिनादेखि विस्तारै सुरु हुन थालेको छ । कोरोनाअघि सर्वनाम थिएटर ३० देशका रंगकर्मीहरुको सहकार्यमा एउटा बृहत् कार्यशाला र नाटक मञ्चन गर्ने तयारीमा थियो ।
यसका लागि फ्रान्स, जर्मनी, इटालीलगायत केही देशका रंगकर्मीहरु नेपालमा आएर तयार पनि थालिसकेका थिए । यद्यपि, लकडाउको घोषणासँगै उनीहरु आ–आफ्नो देश फर्किए ।
अब जब स्थिति सामान्य हुन्छ, उनीहरु फेरि नेपाल आउनेछन् र तयारी सुरु गर्ने छन् । यस कार्यशालामा सर्वनाम थिएटर मात्रै नभई अन्य थिएटरलाई पनि सहभागी गराउने सोच उनीहरुको छ । थला परिरहेको नेपालको नाट्य क्षेत्रलाई उठाउने यो राम्रो सुरुवात हुने देखिएकाले मल्ल यसका लागि उत्साहित छन् ।