
काठमाडौँ । पाटन दरबारस्थित दुईवटा पोखरीमा पानी भर्ने काम सम्पन्न भएको छ । सुन्दरीचोकस्थित टुसाहिटी र भण्डारखाल बगैंचास्थित कमलपोखरीमा पानी हाल्ने काम पूरा भएको हो ।
पोखरीकै पानी रिसाइकल गरेर ढुंगेधारामा पानी आउने बनाएकाले दरबार स्क्वायर सुन्दर देखिएको छ । मल्लकालमा बनेको कमलपोखरीलाई करिब १२ वर्षअघि जीर्णोद्धार गरिएको हो । चाहे काठमाडौं होस् या भक्तपुर, अधिकांश दरबारभित्रको पोखरी सुकेको अवस्थामा पोखरीमा पानी भर्दा रौनक बढेको पाटन संग्रहालय विकास समितिकी कार्यकारी निर्देशक सरस्वती सिंहले बताइन् ।
पुनर्निर्माणअघि पोखरी चौरमा परिणत भई घाँसेमैदान बनेको थियो । राजा सिद्धिनरसिंह मल्लले कमलपोखरी बनाएका हुन् । कमलपोखरीमा अवस्थित दुईवटा अभिलेखमा राजा, रानी, राजपरिवारका सदस्यबाहेक अरुले स्नान गर्न पाइँदैन भनेर उल्लेख छ । यस्तै, आपत् परे राजपुरोहितले मात्र कमलपोखरीमा स्नान गर्न पाउने अभिलेखमा उल्लेख छ । राजाबाहेक अरु कसैले पोखरीभित्र जुत्ता लगाएर जान पाइँदैन भनेर पनि अभिलेखमा छ । कमलपोखरको पानी तलेजुको पूजा र विभिन्न जात्रापर्व सञ्चालनका लागि प्रयोग हुँदै आएको छ ।
सुन्दरीचोकको टुसाहिटीवरिपरि विभिन्न देवी-देवताका मूर्तिहरु देख्न सकिन्छ । धेरै पर्यटकलाई त्यसलाई ‘रोयल बाथ’ राजपरिवार नुहाउने धाराका रुपमा चिन्छन् । तर त्यो अपव्याखा भएको निर्देशक सिंह बताउँछिन् । “हाम्रो सबैरै उठेर नित्य देवी-देवतालाई पूजाअर्चना गरी जल अर्पण गर्ने चलन छ । धार्मिक आस्था भएकाले अहिले पनि गर्छन्,” उनले थपिन् ।
सिद्धिनरसिंह राजाले पाटन क्षेत्रभित्र रहेका विभिन्न देवस्थलका देवी-देवता सुन्दरीचोकमा स्थापना गरे । सुन्दरीचोकमा अझै ढुंगाको पस्थर खाट देख्न सकिन्छ । उनी भन्छिन्, “जाडोमा चिसो ढुंगामा सुत्ने र गर्मीमा पञ्चाग्नि ताप्ने धार्मिक राजाका रुपमा चिनिन्छन् सिद्धिनरसिंह । यस्ता राजाले त्यो धारामा स्नान गर्लान् भन्ने शंकै छ । स्नान गर्दा हातमुख धोइन्छ, यसले छिटा पर्न सक्छ । त्यो त अपवित्र भइहाल्यो नि । मूर्ति स्थापना गरेको ठाउँमा स्नान कसरी होला ?”
कमलपोखरीबाट सुन्दरीचोक जाँदा बाटोमा एउटा इनार पर्छ । त्यसलाई पनि जीर्णोद्धार गरिएको छ । राजाले कमलपोखरीमा स्नान गरी सो इनारमा हातमुख धोई सुन्दरीचोकमा गएर पूजा गर्ने चलन भएको सिंहको बुझाइ छ ।
कमलपोखरीमा पानी सुकेका बेला मंगलबजारमा रहेको मंगहिटीको पानीलाई तलेजु र जात्रापर्वमा पूजाआजाका लागि प्रयोग गरिन्छ । पाटन दरबारको अधिकांश भूभाग मूलचोक तथा सुन्दरी चोक सबैको निर्माण र संरक्षण काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी) गर्दै आएको छ । विभिन्न देशको दाताबाट स्रोत ल्याएर उनीहरुले पुरातात्त्विक सम्पदाहरुको संरक्षण गर्ने गरेको सिंहले जानकारी दिइन् ।
कमलपोखरीलाई अहिलेको स्वरुपमा ल्याउन एक साता आठजना लगाएर हातैले सफा गरिएको थियो । पोखरीमा जमेको लेउ, झार र हिलो सबै पन्छाएर २० ट्यांकर पानी पाटन संग्रहालय विकास समितिले हालेको थियो । पोखरीकै पानी रिसाइकल भएर ढुंगेधाराबाट आउँछ । सुन्दरीचोकमा पनि त्यसरी नै पानी झर्ने व्यवस्था गरिएको छ । पानी लैजान परम्परागत शैली अपनाएको छ ।
मल्लकालीन समयमा कमलपोखरीमा माछा, कछुवालगायत जलचरको अवधारणा छ । तर यहाँ अहिले रंगीचंगी माछा मात्र देख्न सकिन्छ । रानीपोखरीको तुलनामा सानो भएकाले गर्दा सफा गर्न सजिलो भएको सिंहको भनाइ छ । पोखरी जीर्णोद्धारको आठ वर्षपछि सफा गरिएको हो । सिंह भन्छिन्, “पानीको स्तर घट्यो र लेउ पनि घटेपछि भने पोखरी सफा गर्नुपर्छ । सायद ८/१० वर्षमा सफा गर्दा हुन्छ होला ।”
यस्तै, वर्षायाममा पोखरीकै परिसरको पानी पोखरीमा झर्ने प्रावधान छ । बाहिरको पानी ल्याउने संयन्त्र बनेको छैन । तर काठमाडौंको रानीपोखरीमा जस्तो नभई पोखरीमा निकासको बाटो भने छ । तर कमलपोखरीको पानी आउने प्राकृतिक स्रोत कुन हो भन्ने यकिन छैन ।
विभिन्न प्रयोजनका लागि मल्लकालमा चोकहरुको निर्माण भएको थियो । धार्मिक र सांस्कृतिक कार्यक्रमका लागि मूलचोक बनेको थियो भने सुन्दरीचोकमा राजपरिवार बस्थे । २०औँ वर्षदेखि बन्द सुन्दरीचोक ०७३ देखि सर्वसाधारणलाई खुला गरिएको थियो । यसलाई संग्रहालयको रुपमा परिवर्तन गरिँदै छ । मंसिर ८ गतेबाट खुलेको म्युजियम नेपालीका लागि ३० रुपैयाँको टिकट लाग्छ । विदेशीलाई एकद्वार नीतिबाट एक हजार टिकट लाग्छ भने सार्क राष्ट्रका पर्यटकलाई २५० रुपैयाँ लाग्छ । म्युजियम भ्रमणका लागि शनिबार ३५० को हाराहारीमा आउने गरेका छन् भने अन्य दिनमा सय भन्दा बढी ।
म्युजियमभित्र पस्नुअगाडि गार्डले ज्वरो नाप्छन् । मास्क अनिवार्य लगाउनुपर्छ भने भिड गर्न पाइँदैन । आगन्तुकले मूलचोक हुँदै कमलपोखरी र सुन्दरी चोक घुम्न पाउँछन् । कमलपोखरी शान्त भएका बेला पाटनका तीनवटै दरबारको छायाँ देख्न पाइन्छ भने घमाइलो दिनमा लाङटाङ र गणेश हिमाल देख्ने सौभाग्य पनि पाउँछन् ।