काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ ।’ कतिको जीवनमा यो आहान चरितार्थ भएको छ/छैन थाहा छैन । तर, राजनराज शिवाकोटी र मार्मिक लामा यतिबेला यो उखान आफ्नो जीवनमा चरितार्थ भएको महसुस गरिरहेका छन् ।
१२ वर्ष अगाडिको एक दिन चितवनबाट मार्मिक लामा राजनराजलाई खोज्दै काठमाडौं आइपुगे । कारण स्लो रक भोकलका उनलाई स्लो मेलोडी र रकमा फ्युजनसहितको गीत चाहिएको थियो । त्यो समय स्लो मेलोडी रकमा फ्युजन गरेर एक्सपेरिमेन्ट गरिरहेका थिए राजनराज । लोकन्थलीमा भेट भयो राजनराज र मार्मिकको । मार्मिकले गीत मागे । राजनराजले आफूसँग भएका चारवटा गीतको डेमो सुनाए । त्यसमध्ये मार्मिकको भोकल टेक्स्चरमा सुट भयो, ‘फूल बुट्टे सारी...।’
मार्मिकसँगको भेटपछि गीत कसरी लेखियो ? राजनराज एकछिन त्यतातिर लाग्छन् । नव यौवना युवायुवती आफ्नो उमेरमा पारिलो घाममा घरको कौसीमा बसेर के सोच्छन् होला ? उनले कल्पना गरे । आफूले पनि त्यही उमेर पार गरिसकेकाले केही हदसम्म उनलाई सजिलो पनि भयो सायद ।
“नव यौवना युवायुवती प्रेममा कस्तो फिल गर्छन् र उनीहरूलाई कस्तो अपेक्षा हुन्छ । परिकल्पना गरेँ र त्यही परिकल्पनालाई समेटेर लेखेको गीत हो,” नोस्टाल्जिक हुन्छन् राजनराज, “मैले ठ्याक्कै कसैलाई हेरेर वा देखेर लेखेका शब्द होइनन् यी । सायद देखेका सबै कुरा लेख्दैमा गीत पनि हुँदैन । मुख्यतः करिकल्पना नै गर्ने हो ।”
कान्छीको केस... पछि फिँजारिएछ भन्ने शब्द खोज्न उनलाई एक महिना लागेको सम्झना छ । बाँकी शब्द र मेलोडी तयार गरेर सक्न करिब तीन महिना लाग्यो राजनराजलाई । दोलखा घर गएकै बेला लेखेको गीत उनले । घरमाथिको चौरमा थुप्रैपटक घोत्लिएपछि पूर्णता पाएको हो, यो गीतले ।
रेकर्डिङपछिको मौन समय
मार्मिकले गीत रेकर्ड गराए । उनलाई पारिवारिक केही समस्याले थिच्यो । आफूले गाएको गीतको केही सीडी बोकेर चितवन फर्किए । उनी बेलाबेलामा राजनराजलाई भन्थे, ‘दाइ गीत राम्रोसँग लन्च गर्न पनि पाइएन । पारिवारिक समस्यामा परें । यस्तै भयो । अब यो क्षेत्रमा यस्तै यति नै होला ।’ राजनराज हौसला दिने प्रयास गर्थे, ‘समय आउँछ, चिन्ता लिनु हुन्न । धैर्य गर्नुपर्छ ।’
गीत कतिसम्म पुग्यो/पुगेन थाहा भएन । सुन्नेले मन पराए/पराएनन् पत्तो भएन । गीत रेकर्डिङ भयो, सकियो । राजनराजकै शब्दमा ‘अलपत्र’ परेजस्तै भयो ।
तीन वर्षअगाडि
करिब तीन वर्षअगाडि दमौलीका प्रतीक गुरुङले कभर गरेर आफ्नै युट्युब च्यानलमा अपलोड गरे । त्यो कभर पनि खासै चलेन । ओर्जिनल गीत पनि मार्मिकको फोटो राखेर कसैले युट्युबमा अपलोड गरिदियो ।
न कभरका लागि प्रतीकले मार्मिक र राजनराजसँग अनुमति मागे । न ओर्जिनल गीत मार्मिकको फोटो राखेर अपलोड गर्दा नै सोधियो । यसबारे बारे राजनराजलाई पनि थाहा थिएन । कारण उनले पनि दशकअगाडिको कुरा बिर्सिसके जस्तै थियो ।
तीन महिनाअगाडि
तीन महिनाअगाडि कसैले प्रतीकको कभरमा टिकटक बनायो । एकजना दुईजना गर्दै धेरैले टिकटक बनाए । हिट टिकटकमा फैलिन कति नै समय लाग्थ्यो र ? त्यसपछि दर्शक स्रोता प्रतीकले गाएको कभरमा ओइरिए । युट्युबको भ्युज मिलियनमाथि पुग्यो । त्यसपछि धेरैले युट्युबमा कतै लिरिकल त कतै कभर गाएर राख्न थाले । तर पनि राजनराज बेखबर नै थिए ।
यही दसैँपछिको एकदिन राजनराजलाई अमेरिकाबाट रोशन मैनालीले म्यासेज गरे, दाइ अहिले टिकटकमा भाइरल भएको गीत फूलबुट्टे सारी त तपाईंले गरेजस्तो लाग्छ होइन र ?
“त्यसपछि युट्युबमा सर्च गर्दा धेरैले कभर गाइसकेको । टिकटकमा हेर्दा धेरैले बनाइसकेको रहेछ,” राजनराज सुनाउँछन्, “मैले प्रतीकको नम्बर पत्ता लगाएर सोधें- बाबु यो गीत कसको हो ? उनले भने, दाइ यो गीत मैले तीन क्लास र पढ्दा सुनेर मन पराएको थिएँ । १२ क्लास पढ्दा कभर गरेको । मलाई यसको ओर्जिनल स्रस्टा को हो थाहा छैन ।”
जब राजनराजले मैले बनाएको गीत हो भने प्रतीक ‘सक्ड’ भए । त्यसपछि उसले आफ्नो कभरमा राजनराज र मार्मिकलाई क्रेडिट दिए ।
रि-रेकर्ड
अहिले दर्शक स्रोताको माग यो गीतमा रहेछ, यसलाई रि-रेकर्ड गराउनुपर्छ भन्ने राजनराजलाई लाग्यो । र, उनले खोजी गरे मार्मिकलाई । काठमाडौं बोलाए । रि-अरेन्जमेन्ट गराए । नयाँ प्रविधिअनुसार मार्मिकलाई नै गाउन लगाए । “अफिसियल रुपमा अगाडि बढ्नुपर्छ भनेर म आफैंले पहल गरेँ । म्युजिक भिडियो पनि बनायौं । र, बजारमा ल्यायौं,” राजनराज भन्छन्, “जतिबेला मार्मिकलाई बोलाएर यो गीत गाउन लगाउने काम गरिरहेको थिएँ । त्यही बेला यसको फिमेल भर्सन पनि ल्याउनुपर्छ भन्ने मलाई लागिरहेको थियो । मिलन नेवारको स्वरमा रेकर्ड गराएँ ।”
मिलन नेवारको स्वरमा गीत रेकर्ड भइसकेको थियो । भिडियो निर्माणका लागि केन्द्र मोसन पिक्चरबाट प्रस्ताव आयो । र, फिमेल भर्सनको पनि भिडियो निर्माण भयो । भिडियो राजनराजकै गृह जिल्ला दोलखाको कालिञ्चोक आसपासमा पुगेर खिचियो । मेल भर्सन देवीथान म्युजिकबाट बजारमा आयो भने फिमेल भर्सन केन्द्र मोसन पिक्चरबाट दर्शक स्रोतामाझ आयो ।
दिनकै नयाँनयाँ भिडियोसहितका गीतहरू सार्वजनिक भइरहेका छन् । तर पनि स्रोता/दर्शकको मन जित्ने गीतहरू सीमित छन् । तिनै सीमित गीतमध्ये यो पनि पर्यो । अधिकांशले लगानी गुमाइरहेका बेला यसले भने त्यो नियति भोग्नु परेन ।
अहिलेका लागि त्यहीबेला...
गीत रेकर्ड हुनुभन्दा करिब एक वर्षअगाडि लेखिएको थियो । १३ वर्षअगाडिको गीत अहिले स्रोता दर्शकले मन पराए ।
कारण ?
“दर्शक स्रोताको माग र रुचि तथा समयको तारतम्य मिल्नुपर्ने रहेछ,” कारण खोज्दै जवाफ दिन्छन् राजनराज, “गीत-संगीत भनेको समय हो । समय र सिर्जना दुवै म्याच भयो भने दर्शक स्रोतालाई मनपर्छ । १३ वर्षअगाडि लेखिए पनि यो गीत यतिबेलाका दर्शकका लागि लेखिएको रहेछ ।” योसँगै प्रविधिको प्रयोग र स्रष्टाको लगाव पनि चाहिने उनको ठम्याइ छ । यी सबै पक्षको सुन्दर संयोजनकै कारण आज १३ वर्षअगाडिको गीत फूल बुट्टे सारी...। संगीतप्रेमीहरूको जिब्रोमा झुन्डिएको उनको निष्कर्ष छ ।
राम्रो हुँदाहुँदै पनि गीत चलेन भने समय र दर्शकको माग र बुझाइसँग समयको तालमेल मिलेन भनेर बुझ्नुपर्ने राजनराज बताउँछन् । “खासमा नराम्रो भन्ने हुन्छ भन्ने मलाई लाग्दैन । सबैले मिहिनेत गरेको हुन्छ । शतप्रतिशत कसैको पनि हुँदैन । मात्रै कहिले काहीँ समयअगाडि पछाडि हुन्छ । सिर्जना र समय नै सबैभन्दा सान्दर्भिक कुरा रहेछ । सिर्जना र समय मिल्यो भने त्यसले राम्रो रुप धारण गर्नसक्छ,” उनी भन्छन्, “१५ वर्षअगाडि तयार पारेको वार्ता गराइदेऊ अहिले बनाएको भए चल्दैन थियो होला । समयम सान्दर्भिक थियो र त्यहीबेला चल्यो । फूल बुट्टे सारी... त्यो बेलाका लागि सान्दर्भिक थिएन, अहिलेका लागि सान्दर्भिक रहेछ । त्यसैले अहिले चल्यो ।”
र, चाइल्ड भर्सन
अघिल्लो साता ‘फूल बुट्टे सारी...’ को चाइल्ड भर्सन पनि सार्वजनिक भयो । आरिष्मा शिवाकोटीको स्वरमा आएको चाइल्ड भर्सनको गीतमा चाइल्ड भर्सनकै भिडियो पनि छ ।
सानासाना नानीहरूले पनि मन पराएर गाएको देखेपछि उनीहरूका लागि उमेर सुहाउँदो स्वरमा चाइल्ड भर्सन सार्वजनिक गरिएको राजनराज बताउँछन् ।
“यो व्यावसायिक प्रयोजनका लागि भनेर हामीले बनाएका हैनौं । साना-साना नानीहरूलाई उनीहरूकै उमेर समूहको स्वर र भिडियो हेर्दा रमाइलो होला भन्ने मात्रै उद्देश्य हो,” राजनराज भन्छन् । आरिष्मा राजनराजकी छोरी हुन् ।