
काठमाडौं । कोभिड–१९ का कारण काठमाडौं उपत्यकामा अझै पनि विद्यालय भौतिकरुपमा खुल्न सकेका छैनन् । अधिकांश सरकारी तथा संस्थागत विद्यालयहरुले अनलाइनबाटै पढाइ सञ्चालन गरिरहेका छन् ।
निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थी अनलाइनमा अलि बढी सहभागी भए पनि प्राथमिक र शिशुकक्षाका विद्यार्थीको पढाइ भने खासै हुन सकेको छैन । प्रायः विद्यालयले प्राथमिक तहका विद्यार्थीलाई हप्ताको एक या दुई दिन केही घण्टा मात्र विद्यालयमा राखेर पढाउने गरेका छन् ।
तर, महामारीका बीच पनि केही विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गरिरहेका छन् । त्यस्तै विद्यालयको रुपमा रहेको छ, समता शिक्षा निकेतन स्कुल । नर्सरीदेखि स्नातकोत्तरसम्मको पढाइ हुने समता निरन्तर चलिरहेको छ ।
देशभरि ७७ जिल्लामा खुलेको समताले सय रुपैयाँमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेको छ । ‘ब्याम्बू स्कुल’को उपनाम पाएको समताका १६ वटा विद्यालय बाँसले बनेका छन् भने विद्यालय भवन झट्ट हेर्दा मिथिला संस्कृतिको विम्ब देखिन्छ । २० वर्षअगाडि उत्तम सञ्जेलले स्थापना गरेको समतामा विपन्न वर्गका बालबालिकाहरु पढ्ने गर्दछन् ।
बौद्धस्थित समता स्कुलले पुस १ गतेबाट निरन्तर विद्यालय सञ्चालन गरिरहेको छ । शिशुकक्षादेखि कक्षा–१२ सम्म पढाइ भइरहेको समताका प्रधानाध्यापक अजय अधिकारीले जानकारी दिए ।
बिहान ६ बजेदेखि साढे ९ सम्म कक्षा–११ र १२ का विद्यार्थीको कक्षा सञ्चालन भइरहेको छ । यस्तै, कक्षा–१० का विद्यार्थी दुई चरण गरी बिहान र बेलुका पढिरहेका छन् । बिहान चार पिरियड पढिरहेका विद्यार्थी भोलिपल्ट साँझ तीन पिरियड पढ्छन् ।
कक्षा–१ देखि ९ सम्म भने बिहान १० देखि दिउँसो ४ बजेसम्म पढाइ भइरहेको छ । सबै कक्षामा जोर–बिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई बोलाइएको छ । कक्षामा एउटा बेञ्चमा दुई–दुईजना विद्यार्थी राखेर पढाइँदै छ । विद्यार्थी कक्षामा प्रवेश गर्नुअघि गेटमा स्यानिटाइजरले हात धुन्छन् । मास्क अनिवार्य लगाउँछन् । मास्क नलगाई आएका विद्यार्थीलाई विद्यालयले नै मास्क दिने प्रबन्ध गरेको छ ।
“साना केटाकेटी मास्क लगाउन भुलिरहन्छन्,” प्रधानाध्यापक अधिकारीले भने, “त्यसैले सम्झाइरहनुपर्छ ।”
अधिकांश विद्यार्थी ज्यालादारी, मजदुरी गर्ने र निम्न आय भएका परिवारबाट आएका हुनाले विद्यालयले भौतिकरुपमै कक्षा खोल्न बाध्य भएको अधिकारीले बताउँछन् । उनले भने, “एउटै घरमा दुई÷तीनजना केटाकेटी हुँदा सबैले अनलाइनमा कक्षा लिन असम्भव छ । फेरि, सबैको घरमा राम्रो मोबाइल र ल्यापटप पनि छैन । एउटै समयमा प¥यो भने कसले लिने ?”
चैतमा सुरु भएको लकडाउन लम्बिँदै गएपछि मानिसहरु गाउँ जान थालेका थिए । समताका अधिकांश विद्यार्थी गाउँ गएका थिए भने अझै करिब २५ प्रतिशत विद्यार्थी नफर्केको उनले बताए ।
प्रत्यक्ष पढाइ नै प्रभावकारी
कक्षा–९ र १० लाई एकाउन्ट पढाउने शिक्षक अशु केसी विगत सात वर्षदेखि समतामा पढाइरहेका छन् । असोजमा अनलाइन पढाउन सुरु गरेता पनि विद्यार्थीको लागि भौतिकरुपमा कक्षा सञ्चालन उपयुक्त रहेको उनको बुझाइ छ । उनी भन्छन्, “क्याम्पस पढ्ने विद्यार्थीको लागि अनलाइन प्रभावकारी होला । तर, स्कुलका विद्यार्थीलाई विद्यालय आउँदा नै प्रभावकारी हुन्छ ।” केसी आफैँ पनि समताका विद्यार्थी हुन् ।”
अनलाइनमा पढाउँदा सबै विद्यार्थीसँग राम्रो इन्टरनेट कनेक्सन र कतिसँग डिभाइस नहुँदा पढाउन चुनौती भएको उनी सुनाउँछन् ।
कक्षा–९ मा अध्ययनरत् मञ्जु तामाङ शिशुकक्षादेखि नै समता पढेकी हुन् । सानोमा पढाइमा अब्बल नभए पनि अहिले उनी कक्षामा पहिलो भएकी छिन् । अनलाइनमा पढ्न उति गाह्रो नभएको बताउने तामाङ पढ्ने कुरा विद्यार्थीमै भरपर्ने बताउँछिन् ।
अहिले भौतिकरुपमा पढ्दा उनी सबै साथीलाई भेट्न पाउँदिनन् । तर, स्कुल लागेकाले भने उनी खुसी छिन् । उनी भन्छिन्, “अब सबै साथीलाई भेट्न मन त छ । तर, कोभिडले गर्दा सबै आउन मिल्दैन ।”
तर, राष्ट्रिय पाठ्यक्रम प्रारुपको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेपछि पेसी पटक–पटक सरिरहँदा दुःख पाएको प्रधानाध्यापक अधिकारी सुनाउँछन् । उनी भन्छन्, “भाइबहिनीलाई कुन किताब किन्ने भनेर सुझाव दिन सकेका छैनौँ । बजारमा एक त किताबको अभाव छ । फेरिएको पाठ्यपुस्तक किन भनौँ भने अदालतमा मुद्दा छ, पुरानै किन भनौँ भने फेरि नयाँ किन्नुप¥यो भने के गर्ने ? शिक्षकलाई पनि पाठ कति पढाउने भन्ने चुनौती थपिएको छ ।”
यस्तै, राष्ट्रिय परीक्षा बोर्डले एसईई जेठमा गर्ने लगभग तय गरिसकेकाले त्यति बेलासम्म सम्पूर्ण कोर्स सकाउन त सकिने तर रिभिजन गर्न भने नभ्याइने शिक्षकहरुलाई चिन्ता बढेको छ ।
समताले विद्यार्थीको हैसियत र पढाइस्तर हेरेर भर्ना लिने भन्दा पनि आउने सबै विद्यार्थीलाई स्वागत गरेको प्रधानाध्यापक अधिकारीले बताए । अहिले ४५ सय विद्यार्थी यहाँ पढिरहेका छन् । जग्गा लिजमा लिएकाले यसको म्याद सकिन लागेको र नयाँ ठाउँको व्यवस्था गर्न चुनौती थपेको उनले सुनाए ।
विद्यालय सञ्चालन गर्न चार दिनअघि अक्षयकोष खडा गरेको उनले बताए । समतामा पढेर विदेश पुगेका विद्यार्थीले सय डलर मात्र दिए र अन्य दयालु व्यक्तिले सकेको सहयोग गरे विद्यालय सञ्चालन गर्न सजिलो हुने उनको भनाइ छ ।