काठमाडौं । हिन्दु नेपालीको प्रमुख पर्वमध्येको एक हो तिहार । तिहारले दिदीभाइबीचको सौहार्दपूर्ण सम्बन्ध र आत्मीयता तथा यसको महत्त्वलाई झल्काउँछ । यही विशेषताका कारण नेपालमा तिहार धुमधाम साथ मनाइन्छ । टाढाटाढा रहेका दाजुभाइ दिदीबहिनीको घर पुग्छन् ।
दसैँ अर्को महत्त्वपूर्ण पर्व हो हिन्दु धर्मावलम्बीहरूको । अग्रजको हातबाट टीका ग्रहण गरेर आशीर्वाद लिने यो पर्व हिन्दुहरूले विशेष रूपमा मनाउँछन् । यही वर्षका लागि भनेर सात समुद्रपार रहेका छोराछोरी घर फर्किन्छन् । हुनेखानेले मात्रै होइन हुँदा खानेले पनि दुःखजिलो गरेरै भए पनि यो पर्व मनाउँछन् ।
तर, समाजको ऐना भनिने चलचित्रले दसैँ र तिहारजस्ता पर्व र यसले सिर्जना गर्ने तीतामिठा परिस्थितिलाई उजागर गरेका छन् ? जवाफ खोज्नै पर्दैन । छैन ।
निर्देशक मनोज पण्डित कला संस्कृति चलचित्र बनाउन पूर्ण विषय नभएको तर यसले सिर्जना गर्ने परिस्थितिहरू भने उपयुक्त विषय भएको बताउँछन् ।
“कला, संस्कृति सिनेमा बनाउने सामग्री होइन । सिनेमा बनाउने सामग्री भनेको यसभित्र रहेको कुरूपता हो । हाम्रा सांस्कृति तत्त्वहरूले सिर्जना हुने कुरूपताहरू चाहिँ चलचित्र बनाउने सुन्दर विषय हुन्,” मनोज भन्छन्, “दसैँ–तिहार आफैंमा सुन्दर चिज हुन् । तर यी आफैं भने सिनेमा विषय होइनन् । यी संस्कृतिका कारण उत्पन्न भएका समस्याग्रस्त पाटाहरू, यसले निम्त्याउने कठिन परिस्थितिहरू कथाका रूपमा अगाडि आउनुपर्छ ।”
हामीले अहिलेसम्म संस्कृतिभित्रका समस्याहरूको खोजी नै गर्न नसकेको मनोज बताउँछन् । कला संस्कृतिलाई अहिलेसम्म रमाइलोका रूपमा मात्रै लिएको भन्दै उनी रमाइलोभित्र रहेका कुरूपताहरू र यसका कारण उत्पन्न हुने कठिन परिस्थितिहरूको खोजी हुनुपर्छ ।
“ऋण खोजेर दसैँ मनाउनुपर्ने सामाजिक बाध्यता छ । तर मान्छेसँग पैसा छैन । सामान्य परिवारमा छोराछोरीको नयाँ लुगा लगाउने सपना, खसीको मासु खाने रहर पूरा गर्दा मूलीले के कस्तो समस्या भोग्नुपर्छ ?” उनी भन्छन्, “यो विषय सिनेमाका लागि गज्जबको कथा बन्न सक्छ । तर दसैँमा खसी काटेका र मान्छे अघाउँजी खाएका दृश्य भने सिनेमाका लागि उपयुक्त विषय होइनन् ।
नेपालमा वार्षिक सयभन्दा धेरै चलचित्र निर्माण हुँदा अधिकांशले माया, प्रेम र द्वन्द्वलाई नै समेट्ने गरेका छन् । करिब तीन हजार चलचित्र निर्माण भएर प्रदर्शन भइसक्दा हिन्दुहरूको मुख्य चाड दसैँ, तिहार, तिज, छठलाई नै चलचित्रले आजसम्म समेटेका छैनन् ।
पर्वका विषय ‘इमोसनल’ हिसाबले पनि उठाउन सकिने मेकरहरू बताउँछन् । नेपाली चलचित्र उद्योगमा अनुसन्धान नगर्ने प्रवृत्ति रहनु नै दसैँ–तिहारजस्तो महत्त्वपूर्ण विषयमा चलचित्र नबन्नुको मुख्य कारण हो ।
निर्देशक नरेशकुमार केसी नेपाली चलचित्र भनेर अन्तर्राष्ट्रिय बजारमा जानलाई तिहार–दसैँजस्ता पर्व नेपाली मेकरका लागि उपयुक्त विषय भएको बताउँछन् । विश्वमै कतै नरहेको विषयलाई चलचित्रमा उतार्न सके त्यसले सजिलै अन्तर्राष्ट्रिय जगतको ध्यान तान्न सक्ने उनको उनको दाबी छ ।
लभ स्टोरी, सामान्य एक्सन र कमेडीमै नेपाली चलचित्र अल्झिरहेकाले नयाँ विषय र प्रस्तुति भित्रिन नसकेको उनी बताउँछन् । “भारतमै दिवाली र होली र त्यसको सेरोफेरोमा रहेर कति मजाले स्टोरी भनिन्छ । हलिउडमा क्रिसमसलाई त्यस्तै मजाले चित्रण गरिन्छ,” उनी भन्छन्, “तर नेपालमा आजसम्म हामीले दसैँ–तिहारजस्ता चलचित्रको सेरोफेरोमा केन्द्रित रहेर चलचित्र बनाउन सकेका छैनौं । यसतर्फ हामी सबैले सोच्ने बेला आइसकेको छ । हाम्रा अफ्नै विषय, संस्कार र संस्कृति अरूका लागि राम्रो हुनसक्छ भन्नेमा ध्यान खिचिनु आवश्यक छ ।”
निर्देशक दीपेन्द्र के. खनाल दसैँ–तिहारको विषयमा जुनसुकै विधाको चलचित्र बनाउन सकिने बताउँछन् । दसैँको घटस्थापनादेखि टीकाको दिनसम्मको सेलिब्रेसनलाई लिएर राम्रो चलचित्र बनाउन सकिने भन्दै उनी तिहारमा दिदीभाइबीचको आत्मीयतामा गज्जबको चलचित्र बन्ने बताउँछन् ।
हिन्दुहरूको संस्कार र संस्कृति बनिसकेको दसैँ मनाउनै पर्ने सामाजिक बाध्यता छ । यही बाध्यताका कारण कतिका लागि दसैँ–तिहारजस्ता चाडपर्व दशा बनेर आउँछन् । दुई–चार दिनको रमाइलोले वर्षभरिका लागि ऋण बोकाएर जान्छ । विदेशमा बस्ने आफन्तको अनुपस्थितिमा खल्लो प्रतीत हुने दसैँ, तिहार चलचित्रका लागि मौलिक तथा गहन कथा हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रलाई चिनाउन मौलिक विषय हुने उनको बुझाइ छ ।
नेपाल र नेपालीको संस्कार र संस्कृतिसँगै पहिचान बनेको दसैँ, तिहार, तिज, छठजस्ता चाडपर्वलाई चलचित्रकर्मीले चलचित्रका लागि मुख्य विषय बनाउन सकेका छैनन् । पछिल्लो समय वैदेशिक रोजगारी, त्यहाँ रहेका नेपालीले भोग्नुपरेका समस्यामा थुप्रै चलचित्र बनिसकेका छन् । यी विषयले आमजनताको मन छुने भएपछि चलचित्र मात्रै होइन गीत पनि बनेका छन् । तर, तीनै नेपाली दसैँ, तिहारजस्ता पर्वमा घर फर्किन नपाउँदाको पीडा र छटपटीलाई प्रधान कथा बनाएर चलचित्र बनाउने प्रयास गरिएको छैन ।
इन्टरनेसनल फिल्म फेस्टिभललाई लक्षित गरेर चलचित्र बनाउने मेकरको संख्या धेरै भएको भए यस्ता विषयमा पनि चलचित्र बन्ने सम्भावना धेरै हुने चलचित्र निर्देशक केपी पाठक बताउँछन् । “हाम्रा संस्कार र संस्कृतिमा चलचित्र बनेका छैनन् । कुनै चलचित्रले समेटेको भए दसैँ–तिहार रिलिजको समय भए दर्शकको फेस्टिभल मुडलाई क्यास गर्न समावेश गरिएको छ,” उनी भन्छन्, “जन्मेदेखि मृत्युसम्मका हाम्रा संस्कार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जानयोग्य छन् । धेरै नेपाली चाडपर्व रितिरिवाज तथा संस्कार र संस्कृतिमा चलचित्र बन्न जरुरी छ ।” अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाउने र मन जित्ने संस्कार र संस्कृतिमा केन्द्रित चलचित्रले नै भएको यथार्थ नभुल्न फिल्म मेकरहरूलाई उनको सुझाव छ ।