जनकपुर । प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्या निरन्तर घट्न थालेको छ । हालसम्म प्रदश २ मा कुल संक्रमितको संख्या १६ हजार ७१ जना रहेकोमा आइतबार सक्रिय संक्रमितको संख्या एक हजार ८१ मा झरेको छ ।
भदौ २३ गते सक्रिय संक्रमितको संख्या पाँच हजार ३८१ थियो । असोज २३ गते उक्त संख्या घटेर दुई हजार २१० मा झर्यो । कात्तिक २३ गते सक्रिय संक्रमितको संख्या एक हजार ८१ मा झरेको छ ।
असोज २३ गते प्रदेशमा कुल संक्रमितको संख्या १४ हजार ५७ थियो । ती मध्ये दुई हजार २१० सक्रिय संक्रमित थिए । पछिल्लो एक महिनामा दुई हजार १४ जना नयाँ संक्रमित थपिएका छन् । यस अवधिमा तीन हजार ११० जना कोरोनामुक्त भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
एक महिनायता प्रदेशमा कोरोना लागेका ३३ जनाको मृत्यु भएको निर्देशनालयको भनाइ छ । असोज २३ गतेसम्म १४७ जनाको मृत्यु भएको यस प्रदेशमा कात्तिक २३ गतेसम्म मृतकको संख्या १८० पुगेको छ ।