काठमाडौं । भनिन्छ, प्रेम र एक-अर्काको साथले जिन्दगीको हरेक गाह्रो-अप्ठ्यारो यात्रा पनि सजिलै पार गर्न सकिन्छ । हामी जीवनसाथी रोज्दा प्राय: एउटै पेसा भएको खोजी गछौं । आफ्नो पेसालाई, सजिलै बुझोस् र जीवनको यात्राका साथै पेसागत यात्रामा पनि एक-अर्कालाई सल्लाह सुझाव दिँदै ढाड्स बन्न सकून् भन्ने सोच सबैमा हुन्छ ।
यस्तै जीवन र पेसागत यात्रामा एउटै सोच, लक्ष्य र एक-अर्काको ढाडस बनेर अघि बढिरहेका छन् चित्रकलाका धेरै जोडीमध्ये यी जोडी पनि । आर्ट नै जीवन सोचेर, यसैलाई पेसा बनाएर अघि बढिरहेका छन् । यिनीहरु ती भाग्यमानी जोडीमध्ये हुन् जसले चित्रकलाको क्यानभास र जीवनको क्यानभासलाई सँगसँगै रंगाइरहेका छन् ।
सविता डंगोल र इशान परियार
चित्रकलालाई नै मुख्य पेसा र जीवन मानेर कलाकारितामा रमाइरहेका कलाकारद्वय सविता र इशानको भेट सन् २००७ मा ललितकला क्याम्पसमा भएको थियो ।
एउटै कक्षामा भएपछि दुई वर्षमा उनीहरूको मित्रताको डोरी कसिलो भइसकेको थियो । क्याम्पसमा हुने कार्यक्रमदेखि ल्यान्डस्केप, पोट्रेटलगायत चित्रहरू क्यानभासमा उतार्न उनीहरू कहिले वसन्तपुर त कहिले नजिकैको डाँडाकाँडा धाउने गर्थे ।
कहिले कला प्रदर्शनी त कहिले बिहान ५/६ बजे उठेर शिक्षकहरूले दिएअनुरुप दैनिक जीवन र चहलपहल क्यानभासमा उतार्न उनीहरू असन, इन्द्रचोक, वसन्तपुर गएर त्याँहाबाट बल्ल कलेजतिर जान्थे सँगै ।
दिनहरू बित्दै गएसँगै विस्तारै उनीहरूबीच निकटता पनि बढ्दै गयो । एक-अर्काका लागि मनमा कता-कता माया भने पलाउन थालिसकेको थियो । तर त्यो मनको मायालाई उनीहरूले आपसमा पोख्ने आँट भने गरेनन् ।
“एउटै विषय पढिरहेका थियौं । हामी कलेजले दिएको कामहरू पनि सँगै बसेर गर्ने गर्दा मनमा कहींकतै यो मान्छे ठीक छ है भन्ने त लागिसकेको थियो तर हामी पढाइमै यति फोकस थियौं कि प्रेमसम्बन्धमा बस्ने भन्ने सोचै आउँदैनथियो,” कलाकार सविता विगतमा डुबुल्की मार्दै सुनाउँछिन् ।
जति नै मनको कुरा मनमै राख्छु अहिलेको लागि सम्बन्धलाई मित्रतामा मात्रै कायम गरिराख्छु भन्दाभन्दै पनि इशानले सविताप्रतिको आफ्नो मनको भावना प्रकट गर्ने निधो गरेरै छोडे । र उनले एकदिन आफ्नो पेसा जस्तै कलात्मक रुपमै सवितालाई प्रेमप्रस्ताव राखे ।
“मैले सानो क्यानभासमा आई लभ यू लेखेर उसलाई दिएको थिएँ र त्यो दिँदा मैले सवितालाई घरमा लगेर यसमा एक्रेलिक नभई वाटर कलर गर है भनेको थिएँ,” किनभने सादा सेतो पेपरमा मैनले लेख्दा त्यो यतिकै हेर्दा हामीले देख्दैनौं । तर त्यसमा वाटर कलरले कोरेपछि मैनले लेखेको भन्दा अरू खाली भागमा पेन्टिङ बन्छ भने त्यो मैनले लेखेको कुराको आकृति कुदिन्छ ।
एउटै सोच, एउटै उद्देश्य भएको आफ्नो साथीले प्रेमप्रस्ताव राख्दा सविताले पनि खुसी हुँदै इशानको प्रस्तावलाई स्वीकार गरिन् ।
चित्रकलाको क्यानभाससँगै प्रेमसम्बन्धको क्यानभासलाई पनि रंगाउँदै संघर्षको यात्रामा अघि बढिरहेका उनीहरूले अन्तत १० वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय लिए ।
पेसा एउटै, उद्देश्य एउटै तर फरक जात उनीहरूको प्रेमसम्बन्धमा केही बाधक बनेर खडा भए । घरमा इशानको लगनशीलता, इमानदारीबारे अवगत तर जातको कुराले समाजले केही भन्ने हो कि भन्ने डर आमाबुबालाई थियो । तर सविताले परिवारलाई मनाउन सफल भइन् र अन्तत: सन् २०१६ मा उनीहरूले अन्तरजातीय प्रेम विवाह गरे ।
सविताका अनुसार एउटै पेसाको जीवनसाथी पाउँदा जीवनको व्यक्तिगत यात्रा मात्रै नभई व्यावसायिक यात्रा पनि सहज तरिकाले अघि बढाउन सकिने रहेछ ।
“आर्ट फिल्डमा आज हामी दुवैले जुन सफलता हासिल गरेका छौं त्यो हामी एउटै पेसाका भएर हो जस्तो मलाई लाग्छ । किनभने हामी काम गर्दा पनि एक-अर्कालाई सल्लाह सुझाव दिएर गर्छौं । यदि इशान अर्कै पेसाको भएको भए मलाई केही कुरामा कन्फ्युजन हुँदा उसलाई सोध्नै सकिन्न थियो होला,” सविता भन्छिन् ।
यसको उदाहरण उनीहरूको कामलाई लिन सकिन्छ । सविताले विवाहपश्चात् नै आफ्नो कामलाई अझै विशिष्ट रुप दिँदै नयाँ कन्सेप्ट ‘कपल सिरिज’लाई निरन्तरता दिन थालेकी छिन् भने इशानले आफ्नो हरेक पेन्टिङमा डुंगालाई समावेश गर्छन् ।
सविताले कपल सिरिजमा पनि काइँयोको बिम्ब प्रयोग गर्ने गर्छिन् । हरेक पेन्टिङमा केटा र केटीलाई काइँयोले जोडेको देख्न सकिन्छ ।
“डुंगालाई मैले बिम्बका रुपमा प्रयोग गरेको छु । पानीमा बग्ने डुंगाजस्तै हाम्रो वैवाहिक जीवनको डुंगा पनि ब्यालेन्समा लैजान सके सफलता मिल्छ भन्ने सन्देश दिन खोजेको छु,” इशानले आफ्नो कामबारे प्रस्ट पारे ।
उनीहरू आर्टमार्फत पनि आफ्नो माया दर्साउने गरिरहन्छन् । यो जोडीले गएको वर्षको माघमा आफ्नो वैवाहिक सम्बन्धको चौथो वसन्त पार गरेको खुसीमा चित्रकला प्रदर्शनी गरेका थिए ।
एरिना ताम्राकार र आशा डंगोल
एरिना र आशालाई वैवाहिक सम्बन्धमा बाँधेको श्रेय पनि ललितकला क्याम्पसलाई नै जान्छ । कलेज एउटै भए पनि एरिना, आशाभन्दा सिनियर थिइन् । कलेजमा कहिले काहीं कार्यक्रममा भेटघाट भए पनि त्यति नजिकको चिनाजानी भने थिएन ।
एउटै कक्षामा नभए पनि आशा र एरिनाको लक्ष्य भनेको कलाकार बन्नु र चाहे जे जस्तो गाह्रो-साह्रो समय आए पनि कलाकारितामै जीवन व्यतित गर्ने थियो र छ पनि ।
यी दुईको जस्तै लक्ष्य बोकेका अन्य ८ जना साथीहरू पनि थिए । सन् १९९४ मा उनीहरू मिलेर ‘काष्ठमण्डप आर्टिस्ट ग्रुप’ समूह निर्माण गरे । दिवंगत कलाकार प्रशान्त श्रेष्ठको अगुवाइमा गठन भएको त्यस समूहको सामूहिक लक्ष्य भनेको जिन्दगीभर आर्टलाई समर्थन गर्ने थियो ।
उनीहरूले कुपन्डोलमा एउटा स्टुडियो पनि खोले, बिहान उठेर बेलुकीसम्म स्टुडियोमै जाने आर्टबारे छलफल गर्ने पेन्टिङ गर्ने उनीहरूको दैनिकी बन्न थाले । साथसाथै उनीहरूले कला प्रदर्शनी पनि सुरु गर्न थाले ।
उनीहरू आफ्ना हरेक कुरा यो समूहमा एक-अर्काबीच सेयर गर्थे । यस्तैमा एरिनाले पनि घरमा परिवारबाट लगातार रुपमा आएको विवाहको प्रेसरबारे साथीहरूलाई कहिलेकाहीं भनिरहेकी हुन्थिन् ।
“उमेर बढ्दै गएसँगै घरमा विवाहको धेरै कुरा आउन थल्यो । तर म भने विवाह गरे आर्टिस्टसँगै गर्छु नभए जिन्दगीभरि एक्लै बस्छु भन्ने निर्णयमा थिएँ । किनभने त्यो समयमा आर्ट क्षेत्र अहिलेको जस्तो फस्टाइसकेको थिएन भने अर्को भनेको कलाकारहरू पनि थोरै नै हुन्थे । संघर्ष धेरै थियो त्यही भएर अरू क्षेत्रकाले मलाई बुझ्न र पछिसम्म साथ दिँदैनन् जस्तो लाग्थ्यो,” एरिना अगाडि भन्छिन्, “फेरि मैले पूरा जीवन यही पेसामा दिने निर्णय लिइसकेको थिएँ ।”
एकदिन आशाले तिमीले त्यसतै सोचेको भए ल हामी विवाह गरौं न त भन्ने प्रस्ताव गर्यो । त्यसअघि उनीहरूबीच असल र निकट साथीको मात्रै सम्बन्ध थियो । नजिकको साथी भएको हिसाबले एक-अर्काको बानी, कामप्रतिको लगाव , उद्देश्य मिलेकै कारण आशाले एरिनासँग विवाह गर्दा आफूलाई बुझ्नेछिन् भन्ने सोचले विवाहको प्रस्ताव राखे र एरिनाले पनि उसको प्रस्तावमा दुईपटक सोच्नुपर्ने नै थिएन सीधै हुन्छ भनिन् र दुवैले परिवारसामु कुरा पुर्याए ।
परिवारको स्वीकृतिमा उनीहरू सन् २००२ मा वैवाहिक सम्बन्धमा बाँधिए । खुसीको कुरा आशाले कामप्रति देखाएको लगनशीलताले विवाहको खर्च उसले आफैंले जुटाउन सफल भए । “त्यो बेलासम्म मेरो संघर्षका दिनहरू सकिएर बजारमा थोरै मात्रामा चिन्ने भइसकेको थिएँ । विवाहअघि दुईपटक आशाको पेन्टिङहरू अन्तर्राष्ट्रिय बजारमा बिक्री भइसकेका थिए भने थुप्रै प्रदर्शनी पनि भइसकेका थिए,” एरिनाले सुनाइन् ।
यस्तै एरिनाको पनि पेन्टिङले पनि थोरै मात्रामा मार्केट पाइसकेको थियो । विवाहअघि एरिना र आशा अरू प्रेमीप्रेमीका जस्तो फिल्म हेर्न जाने, कतै पार्कमा जाने काम त भएन तर दु:खसुख पोख्ने अनि एक-अर्कासँग समय बिताउने ठाउँ भनेको स्टुडियो नै थियो र छ पनि ।
अहिले पनि उनीहरू चाहे शनिबार होस् वा आइतबार कुपन्डोलमा रहेको आफ्नै आर्ट स्टुटियोमा क्यानभास रंगाउँदै भेटिन्छन् । “हामी कतै जाँदैनौं बिहान खाना खाएर स्टुडियो आउँछौं अनि बेलुका फर्कन्छौं । शनिबार, आइतबार केही पनि याद हुँदैन । हामीलाई स्टुडियो आएर पेन्टिङ गर्नजस्तो आनन्द अरू केहीमा पनि लाग्दैन,” एरिना दुवैको पेन्टिङप्रतिको लगाव सुनाउँछिन् ।
यसका साथै एरिनाले स्टुडियो मा आर्टको कक्षा पनि सञ्चालन गर्छिन् । उनीहरुले अग्नि ग्रुपका सुजन श्रेष्ठको अगुवाइमा काष्ठमाण्डप आर्टिस्ट साथीहरूको सहकार्यमा सन् २०१० देखि ‘ई-आर्टस नेपाल’ नामक अनलाइन आर्ट ग्यालरी पनि सञ्चालन गरिरहेका छन् ।
पहिले अन्तर्राष्ट्रिय बजार र कलेक्टरको पखाईमा बस्नुपर्ने अवस्था अहिले नभएको भन्दै आशा भन्छन्, “पछिल्लो समय नेपाली कर्पोरेट हाउसबाट नेपाली आर्टमा लगानी र चासो बढ्न थालेको छ । अग्नि ग्रुपको हरेक सोरुममा नेपाली कलाकारहरूको कला देख्न सक्छौं । त्यस्तै ज्योति ग्रुप, दलैला बुटिक होटल, म्युजियम अफ नेपाली आर्टलगायत थुप्रैले नेपाली कलाकारलाई प्राथमिकतामा राख्न थालेका छन् । जुन नेपाली आर्टिस्ट र आर्टको लागि एकदमै राम्रो खबर हो ।”
एरिना रंग र ब्रसमार्फत महिलाका विषयमा विशेषगरी ‘थर्ड आई’ अर्थात् तेस्रो नेत्रमा चित्र कोर्छिन् भने आशा समसामयिक विषयले आफ्नो क्यानभास रंगाउछन् ।
सौरगंगा दर्शनधारी र पृथ्वी श्रेष्ठ
सन् २०१३ मा वैवाहिक सम्बन्धमा बाँधिएका सौरगंगा र पृथ्वी पनि एक-अर्कालाई सल्लाह, सुभाव र साथ दिँदै जिन्दगी र क्यानभासलाई रंगिन रङले सजाइरहेका छन् । ललितकला क्याम्पसमा पढ्ने क्रममा चिनजान भएका उनीहरूलाई मित्रता कहिले प्रेमसम्बन्धमा परिणत भयो पत्तै भएन ।
यसबारे प्रस्ट्याउँदै पृथ्वी भन्छन्, “सौर र म कहिले प्रेमसम्बधमा बस्यौं यादै भएन । किनभने हामी अरूजस्तै त्यति धेरै एक्सप्रेसिभ नभएर होला । कलेजमा हुँदा कार्यक्रम, कला प्रदर्शनी यस्तै यस्तैमा सँगसँगै जाँदा हामी एक-अर्कासँग नजिकिएका हौं ।”
पृथ्वीका अनुसार उनीहरू दुवैलाई यो पेसामा संघर्ष हुन्छ र यो पेसाबाट विलासी जीवन बिताउन सक्दैनौं भन्ने अवगत थियो । दुवैको एउटै सोच भएकाले पनि जीवनसाथीका रुपमा एक-अर्कालाई छानेको उनले बताए ।
श्रीमान र श्रीमती एउटै पेसामा हुँदा कहिले-काहीं प्रतिस्पर्धी भावना हुँदैन भन्ने जिज्ञासामा पृथ्वी भन्छन्, “प्रतिस्पर्धाभन्दा पनि मलाई त सधैं सौर (सौरगंगा) कै राम्रो होस् जस्तो लाग्छ । दुवै एउटै क्षेत्रमा हुँदा अझै अवसरहरू धेरै लिन सकिन्छ । मलाई त झन् एक-अर्काका लागि सपोर्ट हुन्छ जस्तो महसुस छ ।”
उनीहरूको अहिले १५ महिनाकी सानी छोरी छिन् । मुख्य पेसा यसैलाई बनाएर अघि बढिरहेका यी जोडीले आफ्नी छोरी पनि आर्ट मै लागोस् भन्ने इच्छा राख्छन् ।
“यसमा राम्रो मार्केट छ । मात्र हामी कलाकारमा धैर्यता र कामप्रतिको लगाव र क्षमता हुनुपर्छ । हामी हाम्रो छोरीले पनि सिर्जनात्मक पेसा नै रोजोस् भन्ने चाहन्छौं । तर अन्तिम निर्णय त उसैको हुन्छ । चाहे त्यो चित्रकाला होस, म्युजिक, डान्स जे रोजेपनि रोजोस तर सिर्जनात्मक पेसा रोजोस्,” पृथ्वी भन्छन् ।
चित्रकलामा अन्य पेसाजस्तो हरेक महिनामा पारिश्रमिक नआउने भए पनि मानिसमा यसप्रतिको सम्मान भने बढ्दै गएको महसुस उसले गरेको छ । “यो पेसा रोजेर खानै नपाउनेभन्दा पनि साधारण जीवनयापन धान्नसक्ने पेसा हो यो । तर त्यसमा कलाकारको क्षमतामा पनि भर पर्ने हुन्छ,” उनले भने ।
पृथ्वी कन्टेम्प्रोररी आर्टिस्ट हुन् भने सौरगंगा कन्टेम्प्रोररी र प्रिन्ट मेकिङ आर्टिस्ट हुन् ।