काठमाडौं । विगतका वर्षहरुमा चाडबाड मनाउन घर जाने यात्रु बसपार्कमा खचाखच हुने गर्थे । टिकट पाउनै सकस झेल्नुपर्थ्यो । पहुँचवालाले सहजै टिकट पाउने भए पनि पहुँच नभएकाहरुले पनि लामै सकसपछि गन्तव्यका लागि टिकट पाउने गर्थे । अहिले अवस्था भने फेरिएको छ । पहिलेको तुलनामा अहिले बसपार्कमा यात्रु थोरै छन् ।
बसलाई सिट भर्न हम्मे हुने अवस्था रहेको व्यवसायीहरु बताउँछन् । बसमा यात्रु कम हुँदा व्यवसायीलाई लगानी उठाउन पनि गाह्रो भइरहेको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणका कारण ६ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनायता खुलेको हो । अहिले घर फर्किन बाँकी रहेका यात्रुहरु काठमाडौंका बसपार्कमा पुगेका छन् । यसअघि सुनसान देखिएका बसपार्क क्षेत्र अझै यात्रुको रौनक देख्न सकिँदैन । यद्यपि फाट्टफुट्ट यात्रुहरु भने देखिएकै छन् । अलिअलि देखिएका यात्रुमा चाँडै गन्तव्यमा पुग्ने हतारो भने देख्न सकिन्छ ।
विगतका वर्षमा दसैंको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोंगबुस्थित नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रु घण्टौं बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक त्यस्तो समस्या नरहेको यात्रुहरु बताउँछन् । हेरौं करिब खालीखाली देखिएको काठमाडौंको गोंगबु बसपार्कमा जम्मा भएका यात्रु र त्यहाँको चहलपहलका थप तस्बिर :