पोखरा । आइतबारमात्रै डा. गोविन्द केसीले आफ्नो १९ औँ अनसन २८ औँ दिनमा तोडे । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि विभिन्न मागसहित उनको आमरण अनसन सरकारसँगको ८ बुँदे सहमतिसँगै तोडिएको थियो । निश्चित समयावधी राखेर सरकारले माग पूरा गर्ने गरि सहमति गरेको छ ।
अनसन बस्नुबारे उनको एउटा माग थियो, “सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अगाडि बढाइयोस् । एमबीबीएसका कार्यक्रम अगाडि बढाइयोस् ।” पोखरामा संघ मातहतको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । यहाँ अहिले स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ । डा. केसी र सरकारी वार्ता टोलीबीच २०८० फागुन १० भित्र एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गर्दै भौतिक एवं शैक्षिक पूर्वाधार विकास गरिने सहमति पनि भएको छ ।
यो त भयो संघको कुरा । उनले संघ सरकारसँग मेडिकल कलेज खोल्ने र एमबीबीएसका कार्यक्रम अगाडि बढाउन माग राखेका थिए ।
८ अर्बमा गण्डकी विश्वविद्यालय : प्रदेश बाहिर सम्बन्धन दिन नपाइने
नयाँ प्रादेशिक संरचनाको सुरुमा नै गण्डकीले आफैँ विश्वविद्यालय सञ्चालन गर्ने नीति तथा कार्यक्रम लिएको थियो, जुन तेस्रोपटकको आर्थिक वर्षमा पनि निरन्तरता छ । यस्तै, विश्वविद्यालय सञ्चालनको प्रक्रिया पनि अगाडि बढेको छ, एमबीबीएस सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखेर ।
संसद्को पहिलो बैठकको विशेष सम्बोधनदेखि नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि बारम्बार गण्डकी विश्वविद्यालय स्थापना गर्ने र यो सुनको अण्डा दिने चरी सावित हुने दाबी हालै अन्त्य भएको बजेट अधिवेशनसम्म पनि दोहोर्याउन भुलेनन् ।
के हुँदैछ त विश्वविद्यालयको प्रगति ?
देशभरका विश्वविद्यालयको संरचना हेर्दा देशका कार्यकारी प्रमुख अर्थात, प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुन्छन् । यो सम्बन्धित विश्वविद्यालयको ऐनमा पनि उल्लेख गरिएको हुन्छ । तर, गण्डकी विश्वविद्यालय ऐनमा भने यो व्यवस्था फेरिएको छ । यहाँ कुलपति मुख्यमन्त्री हुँदैनन्, कुलपति पनि नियुक्त हुन्छन् । गण्डकी विश्वविद्यालयको कुलपतिमा पूर्व संविधानसभा सदस्य डा. गणेशमान गुरुङ नियुक्त भएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुलपति नियुक्त हुुनुअगावै ऐनको मस्यौदा तयार गर्नेक्रममा भनेका थिए, “विश्वविद्यालयलाई राजनीतिक भागबण्डाबाट मुक्त गर्न हामीले कुलपति पनि नियुक्त गर्ने व्यवस्था गर्नेछौँ ।” ऐनमा पनि सोही प्रावधान राखियो र सोमबार प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सोही कुरा दोहोर्याए ।
विदेशी पनि विश्वविद्यालयको सर्वोच्च निकायको सदस्य हुन पाउने
अनि थपे, “गण्डकी विश्वविद्यालय निर्माणको लागि जग्गा प्राप्त गरेका छौँ, यो महत्वपूर्ण उपलब्धि हो ।”
मुख्यमन्त्री गुरुङले भनेझैँ, संघ सरकारसँग प्रदेश सरकारले वर्षौँदेखि माग्दै आएको र भोगाधिकार पाउने पहिलो संस्था पनि गण्डकी विश्वविद्यालय नै हो ।
गत हप्तामात्रै कुलपतिमा गोरखाका प्राडा नवराज देवकोटा पनि नियुक्त भएका छन् । सम्भवतः एकदुई दिनमै रजिष्ट्रार नियुक्तीको पनि रोष्टरमा नाम चढाउने बारेका सूचना निकाल्ने तयारी विश्वविद्यालयले गरिरहेको छ ।
गत असार २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न जग्गाको स्वामित्व आफ्नै मातहतमा रहने गरी प्रयोगको लागि मात्र अनुमति दिएको छ । विश्वविद्यालय सञ्चालन गर्ने भनेर पोखरा महानगरपालिका–३२ स्थित संघीय सरकारको नाममा रहेको ३५२ रोपनी २४ आना १ दाम र तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी मेमोरियल हस्पिटल नजिकै १७५ रोपनी जग्गा प्राप्त भएको छ ।
गण्डकीमा विश्वविद्यालय स्थापनाको बाटो खुल्यो
कुलपति नियुक्त भएदेखि नै जग्गा प्राप्तिका लागि संघमा धाएका गणेशमान गुरुङले पहिलो र महत्वपूर्ण कदम अगाडि बढेको जानकारी दिए । गण्डकी प्रदेश सरकारले यस वर्ष गण्डकी विश्वविद्यालयको लागि ४२ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन पनि यसै वर्ष सुरु गर्ने तयारी गरेको छ ।
संघबाट जग्गा प्राप्ति भएपछि विश्वविद्यालयको अध्यापन कार्य पनि यसैवर्ष सुरु गर्ने विषयमा बहस चलेको थियो । तर, संरचना भने थिएन र हालसम्म पनि छैन । संरचना नभएतापनि प्रदेशको गत महिनाको मन्त्रिपरिषद बैठकले नेपाल उड्डयन प्राधिकरणको मुस्ताङचोकमा रहेको भवनलाई मासिक २ लाख रुपैयाँ भाडा तिर्ने र त्यहाँ सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
नर्सिङ, स्पोर्टस लगायतका विषयको अध्यापनको लागि एकचरणको पाठ्यक्रममाथिको छलफल पनि सकिएको छ ।
गण्डकी विश्वविद्यालय विधेयक : न्यासिक परिषद्मा ‘पीआर-होल्डर’!
विशेष प्राथमिकता दिइएको एमबीबीएसको पाठ्यक्रम तयारीबारे बहस सुरु भएको छ । मंगलबारमात्रै पाठ्यक्रमको बारेमा पोखराका दर्जन बढि डाक्टरहरुसँग प्रारम्भिक चरणको छलफल गरिएको न्यासिक परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए ।
“पाठ्यक्रमलाई कुन मोडालिटीमा तयार गर्ने भन्ने बारेमा प्रारम्भिक छलफल भएको हो, न्यासिक परिषदको बैठकमा यो विषय एजेण्डा भने बनिसकेको छैन ।” उनले भने ।
सूचना तथा प्रविधिको कक्षा सञ्चालनका लागि पाठयक्रम तयार भईसकेको र मेडिकल साइन्सका लागि बीएससी नर्सिङदेखि फिजीयोथेरापी लगायत पाठयक्रम तयार गरिएको प्रा.डा गुरुङले बताए । तनहुँको बेलचौतारामा टिचिङ अस्पताल स्थापना गर्ने, पढाई सञ्चालन गर्ने र पोखरा महानगरमा केन्द्रीय कार्यालय राख्ने योजना मुताविक प्रकृया अघि बढाइएको उनले बताए ।
तर, बेलचौताराको जग्गाको भोगाधिकार पाएतापनि जग्गाको भूगोलमा भने केही प्राविधिक समस्या देखिएको छ । लम्बाईमा जग्गा धेरै तर चौडाई कम छ । यसको समाधानको बारेमा पनि छलफल चलिरहेको छ ।
कुलपति गुरुङ भन्छन्, “विश्वविद्यालयले शिक्षण अस्पताल पनि सुरु गर्यो भने करिब ८८ करोड हाम्रो आम्दानी हुन्छ । ५० करोड खर्च हुन्छ । बाँकी ३८ करोड नाफा हुन्छ । त्यही ३८ करोडले विश्वविद्यालय चलाउँछौं । क्यालिफोर्निया युनिभर्सिटीसँग हाम्रो समझदारी हुँदैछ । विश्वका नामी र ख्यातिप्राप्त विश्वविद्यालयसँगको सहकार्य गरी विश्वविद्यालय चलाउने हो ।”