काठमाडौं । कला/चित्रकला भन्नेबित्तिकै हामी क्यानभासमा अहिलेको समयमा धेरै अटिने कन्टेम्पोररी, ल्यान्डस्केप, पोट्रेट यावत् भन्ने बुझ्छौं । कला प्रदर्शनीमा हेर्दा होस् या कुनै रेस्टुरेन्ट, कार्यालय वा घरको भित्तामा सजिने चित्रकलाहरु पनि हामी यस्तै देख्छौं ।
तर कला सुरुवातको जरा (लोककला) भने आधुनिकतासँगै स्मृतिमा अनि कहीं कतै कुनै समुदायको घरको भित्ता र चाडपर्वमा कहिलेकाहीं आक्कल-झुक्कल झुल्केको मात्रै देख्न थालिएका छन् ।
नेपाल एउटा प्राचीन सांस्कृतिक देश हो । यहाँ हरेक जातिको समुदायको, प्रदेशको आ-आफ्नै पहिचान बोकेका लोककला छन् । उल्लास, हर्ष, वेदना, प्रेम, श्रद्धा, आक्रोश हरेक भाव अभिव्यक्त गर्न छुट्टाछुटै लोककलाले हामीलाई समृद्ध बनाएको छ । विदेशी कलाप्रेमीहरु नेपाली कलामा त्यो संस्कृति, मौलिकता, रितिरिवाज खोज्ने गर्छन् ।
तर विडम्बना यति हुँदाहुँदै पनि व्यावसायिकतातर्फ लम्किरहेको नेपाली कला (चित्रकला) ले भने हाम्रो पहिचान बोकेको लोककलालाई कलाको अन्य विधा जसरी सँगसँगै डोर्याएर लैजान असमर्थ भएको छ । नेपाली कला र कलाकार (चित्रकार), अन्वेषकको छाता संगठन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले स्थापनाको सुरुदेखि नै लोककलालाई पनि विशेष स्थान दिएर अगाडि बढिरहेको बताइरहेको छ ।
सन् २०१० मा स्थापना भएको यस प्रतिष्ठानले लोककलाको संवर्द्धनका लागि भनेर लोककला विभाग नै बनाएको छ । तर पछिल्लो १० वर्षमा के ललितकलाको यस विभागले लोककलालाई व्यावसायिक रुपमा अगाडि ल्याउन सफल भएको छ त भन्ने प्रश्न उब्जेको छ ।
लोककला व्यावसायिक रुपमा अगाडि बढ्न नसक्नुमा यसबारे पर्याप्त शिक्षाको अभाव भएको ललितकलाका कुलपति/कलाकार केके कर्माचार्य बताउँछन् । “लोककला त कलाको सुरुवात हो, जग हो । तर यसको प्रचार र बुझाइमा कमी आउनुको प्रमुख कारण भनेको यसको स्कुलिङको अभाव छ । यसको चर्चा कम छ,” कर्माचार्य बताउँछन् ।
चित्रकलामा पश्चिमी मुलुकबाट आएका नयाँ नयाँ विधाहरु अपनाइयो तर हामीले आफूसँगै भएका अमूर्त कलाको भने महत्त्व बुझ्न नसकेको उनको दुखेसो छ ।
कर्माचार्य भन्छन्, “स्थानीय स्तरमा यस कलाबारे जनचेतानाकै अभाव छ । उहाँहरुलाई आफू के गरिरहेका छौं भन्ने ज्ञान छैन । त्यसैले हाम्रो पहिलो प्राथमिकता भनेको जनचेतनाको विकास गर्नु हो । यसका लागि हामीले विभिन्न समुदायमा भएर कार्यशाला गर्ने कला प्रदर्शनी गर्नेजस्ता कार्यक्रमको आयोजना गरिरहेका छौं ।”
यदि हामीले लोककला ग्रामीण केही ठाउँमा कुनै एक जातिको मात्रै नभई समग्र देशको पहिचानका रुपमा व्यावसायीकरण गर्ने हो भने हरेक जाति र समुदायका व्यक्तिहरु अगाडि बढेर यसको हस्तान्तरण आ-आफ्नो पुस्तामा गर्दै लग्नुपर्ने पनि कर्माचार्यको बुझाइ छ ।
कलाकारहरु नेवार, मिथिला, अवधिलगायत कैयौं लोककलामध्ये व्यावसायिक रुपमा अघि बढिरहेको लोककलामा मिथिला पहिलो स्थानमा आउने बताउँछन् । त्यसपछि नेवार र अवधि छ । यस्तै गुरुङ, मगर, तामाङ जातिको कला त अझै धेरै पछाडि रहेको उनीहरु बताउँछन् ।
ललितकलाका वर्तमान लोककला विभाग प्रमुख मिथिला यादव अन्य जाति र समुदायको लोककला प्रचारमा नआउनुको कारण कलाकारहरुको न्यून उपस्थिति रहेको मान्छिन् । चार वर्षको कार्यकालमा करिब दुई वर्ष बितिसकेको छ । यसबीच उनले सप्तरी, दाङ, जनकपुर, पोखरा, चितवन अनि काठमाडौंमा गएर त्यहाँको लोककलाको कार्यशालाको आयोजना गरिसकेकी छन् ।
साथै काठमाडौंमा सातवटै प्रदेशका लोककलाकारलाई पनि ल्याएर संयुक्त कार्यशालाको पनि आयोजना गरिसकेकी छिन् ।
तर कलाकारहरु कार्यशाला हुँदा मात्रै सरिक हुने, कति ठाउँमा त कार्यशाला उपस्थित गराउन पनि गाह्रो हुने उनी सुनाउँछिन् । “अहिले लोककला भनेकै मिथिला कलाजस्तो भएको छ । अन्य जातिका कलाकारहरु अगाडि नै बढ्नु हुन्न,” उनी थप्छिन्, “अन्य जातिको कला पनि चाडपर्व यस्तोमा मात्रै सीमित नहोस् यो देश-विदेशमा पुगोस् भनेर मैले यो दुई वर्षको अवधिमा थारु, तामाङ, नेवार, मगर, ब्राह्मणलगायत धेरै जातिका कलाकारबीच कार्यशालाको आयोजना गरेकी छु । तर उहाँहरु कार्यशाला हुँदासम्म आउनुहुन्छ त्यसपछि पहिलेकै दैनिकीमा फर्किनुहुन्छ ।”
कामलाई निरन्तरता दिनुपर्छ यसमा आकर्षित गर्नुपर्छ भनेर सप्तरीमा उनले वडाध्यक्षसँग सहकार्य गरी कार्यशालमा आउने कलाकारलाई भत्ताको व्यवस्थासमेत गरिदिएकी थिइन् । यति मात्रै नभई कार्यशालापछि पनि उनीहरुले आफ्नो दैनिकीमा कलालाई पनि समेटुन् भनेर आवश्यक कागज, रङ, कुचीलगायत सामानको व्यवस्था पनि गरिदिएकी थिइन् तर दुवैको उपलब्धि शून्य भयो ।
लोककला विभागको दोस्रो कार्यकाल सम्हालेका कलाकार एससी सुमन लोककलालाई व्यावसायिक रुपमा अगाडि ल्याउने हो भने महिला कलाकारलाई प्रोत्साहन, स्थान र अवसर दिनुपर्नेमा जोड दिन्छन् ।
आफ्नो यही भनाइलाई प्रस्ट्याउँदै सुमन भन्छन्, “लोककला बाँच्नुमा महिलाको भूमिका प्रमुख देख्छु । किनभने हामी देख्न सक्छौं हाम्रो हरेक जातिको लोककलाको सुरुवात र निरन्तरता दिने नै महिलाहरु हुन् चाहे त्यो मिथिलामा होस् नेवारी समुदायमा होस् गुरुङमा होस् या त थारुमा । त्यसैले यदि हामीले हाम्रा दिदी-बहिनीलाई लोककलाको महत्त्व बुझाएर यसमा सहभागिता गराउन सक्यौं भने यसको विस्तार र विकासमा निकै अघि पुग्छौं ।”
अन्य विधाजस्तै अगाडि ल्याउने हो भने अहिलेको आधुनिक कलाकारलाई लोककला सिकाउन लगाउने नभई सोही समुदायको प्रखर व्यक्तिहरुबाट अहिलेको कलाकारलाई सिकाउनुपर्ने उनको सुझाव छ ।
कुलपति र वर्तमान लोककला विभाग प्रमुखको कुरालाई नकार्दै कलाकार सुमन लोककलाका कलाकारहरु धेरै छन् तर लोककला विभागले उनीहरुलाई अवसर दिन नसकेको बताउँछन् । “अवसर दिएपछि वातावरण बन्दै जान्छ अनि त्यसले कलाकारको सहभागिता बढ्छ । १/२ दिनको कार्यशाला गरेर र आफ्नो सम्पर्कमा भएका केही कलाकारलाई मात्रै अवसर दिएर समग्र लोककलाको उत्थान नहुने उनको आरोप छ ।
यदि यस्तो गरिएन भने हाम्रो पहिचान बोकेको लोककला लोप हुने अवस्थामा पुग्ने उनको डर छ । तर कुलपति भने विभागले हरेक कलाकारलाई सधैं हात समातेर डोर्याउन नसकिने बताउँछन् । “मैले अघि पनि भनिसकें हामीले जनचेतना जगाउने हो, उसको महत्त्व बुझाउने हो । जुन आजको भोलि नै सम्भव हुने कुरा होइन ।” यसका साथै कलाकारहरुले अन्य विधालाई सँगै आ-आफ्नो समुदायको लोककलालाई पनि सँगसँगै लैजानुपर्ने पनि सुमनको जोड छ ।
उनी आफ्नै उदाहरण दिँदै भन्छन्, “मैले पनि चित्रकलाको सुरुवात ल्यान्डस्केप, पोट्रेट यस्तै यस्तैबाट गरेको थिएँ । तर मेरो हजुरआमाले गर्नुहुने मिथिला कला पनि मेरो मानसपटलमा बसिरहेको थियो । त्यसैले मैले चित्रकलामा लागेको केही समयमा नै आफ्नै जात र संस्कृतिलाई चिनारी बनाउनुपर्छ भन्दै मिथिला कलामा मात्रै फोकस भएँ ।”
उनले व्यावसायिक रुपमा मिथिला कला गर्न थालेको तीन दशक भइसकेको छ । यही कलाले उनलाई देशदेखि विदेशसम्म चिनायो । उनी यसमा गर्व गर्छन् । आफूजस्तै अरु कलाकारले पनि यो भिडमा आफ्नो अलग्गै पहिचान बनाउन र लोककला बचाउन आफ्नै समुदायको कलामा कुची चलाउन सके अझै राम्रो हुने बताउँछन् ।
विभागले एक-दुईपटकको कार्यशाला आयोजना गरेर त्यसपछि वास्ता गर्दैन भन्ने प्रश्नमा कर्माचार्य यसमा आर्थिक पाटोको पनि भूमिका हुने बताउँछन् । “हामीले उहाँहरुको काम प्रदर्शन गरेर प्रचार-प्रसारमा ल्याउने पनि गर्छौं । तर त्यसपछिको काम भने उहाँहरु स्वयंले नै गर्नुपर्छ । किनभने बजेट कति छ भन्ने कुराले पनि महत्त्व राख्छ । उहाँहरुको कामलाई निरन्तरता दिन सम्बन्धित ठाउँको स्थानीय सरकारको पनि सहकार्य चाहिन्छ ।”
बजेटको कुरा गर्नुपर्दा चित्रकला, मूर्तिकलाभन्दा लोककला र हस्तकलामा तुलनात्मक रुपमा बजेट थोरै हुने कर्माचार्य बताउँछन् । त्यो पनि यो कोरोना महामारीका कारण यस वर्षको बजेट अरुबेला भन्दा कम आएकाले यो वर्षको कार्यतालिका पनि केही खुम्चिने उनको बुझाइ छ । कलाकारहरु पनि अन्य विधाको तुलनामा लोककला धेरै पछाडि रहेको बताउँछन् ।