काठमाडौं । साहित्यको अन्य विधा कथा, कविता, उपन्यास, गजलका पुस्तकहरु बजारमा उल्लेख्य पाइन्छ । यसका पाठकहरु पनि सम्भवत: हरेक घरघरमा हुन्छन् । तर साहित्यकै विधामध्ये एक ‘नाटक’को पुस्तक र पाठक भने हामी निकै कम देख्छौं ।
साहित्यको एक महत्त्वपूर्ण र प्राचीन विधा भए पनि नाटक लेखन नेपालमा मात्रै नभई विश्वभरि अन्य विधाभन्दा निकै कम भएको नाटक लेखक/निर्देशकहरु बताउँछन् । यसरी नाटक कम मात्रामा लेखिनु पाठकको कमी दोस्रो नाटक साहित्यको अन्य विधाभन्दा विलकुनै फरक र जटिल हुनु, यसको लागि समय खर्चिलो हुनु र नाटक निर्देशकहरुले अनुसन्धान र सोधखोज नगर्नु मुख्य समस्या रहेको नाटक लेखक, निर्देशकहरु मान्छन् ।
निर्देशक तथा लेखक अषेश मल्ल यो नेपालको परिप्रेक्षमा मात्रै नभएर विश्वमै नाटक लेखन कम हुने गरेको बताउँछन् ।
“विश्वमै एउटा राम्रो नाटककार जन्मनका लागि सयौं वर्ष लाग्छ । तर त्यो समयावधिमा सयौं उपन्यासकार, कथाकार, कवि जन्मन्छन्,” मल्ल भन्छन्, “नाटक साहित्यकै एक विधा त हो तर यो अन्यभन्दा फरक छ । यसमा रंगमञ्चीय ज्ञान हुन जरुरी छ । तर यसको मतलब अरुले नाटक नै लेख्दैनन् वा लेख्नुहुन्न भन्ने होइन तर रंगमञ्चीय ज्ञानबिनाका लेखकले लेखेका नाटकहरु त्यत्ति प्रभावशाली नहुन सक्छन् ।”
नाटकका साथै कथा, कवितामा पनि कलम चलाउने मल्ल नाटक लेखनअघि पूर्वयोजना चाहिने र समय खर्चिलो हुने बताउँछन् । हुन त उनले कथा, कविताभन्दा नाटक लेखनमै बढी कलम चलाएका छन् । उनले आफ्नै नाटक मात्र निर्देशन गर्दै आएका छन् । “नाटक कम लेखिनुको अर्को कारण भनेको यसका पाठक कम हुनु नै हो । नाटक पुस्तकका रुपमा छापिँदा धेरै कम पाठकले मात्रै पढ्छन् । तुलना गर्दा एक उपन्यासकारले लाखौं पाठक पाउँछन्, तर नाटककारले त्यसको १० प्रतिशत पनि पाउँदैनन् । यो मेरो आफ्नै अनुभव पनि हो,” उनी नाटक लेखन र निर्देशनको अनुभव सुनाउँछन् ।
साहित्यको अरु विधामा कलम चलाउनेहरुले नाटक लेखनमा खासै रुचि नदेखाए पनि नाटक लेखनमै सक्रिय लेखहरुले भने यसलाई निरन्तरता दिइरहेको लेखक/निर्देशक पुरु लम्साल बताउँछन् । नाटक लेखे पनि मञ्च नै नहुने भएका कारण लेखकहरुले नै कम लेख्न थालेको उनको बुझाइ छ ।
लम्साल आफैं पनि नाटक लेखनमा सक्रिय छन् । उनी आफैं नाटक लेखेर निर्देशन पनि गर्छन् । उनले अहिलेसम्म ४० भन्दा बढी नाटक लेखिसकेका छन् । केही नाटक मञ्चन पनि भइसकेका छन् ।
“नाटक भनेको प्रस्तुतिको पक्ष हो । यो श्रव्य र दृश्य विधा हो । त्यसैले नाटक लेखेर मात्रै पूर्ण हुँदैन । हामी डल्स हाउस (विदेशी नाटक) अनुवाद गरेर, नेपालीकरण गर्छौं तर त्यही डल्स हाउसको जस्तो कथा हाम्रो समाजमा पनि त छ । त्यो हेर्दैनौं र खोज्दैनौं अनि नेपाली नाटक छैन भन्छौं,” उनले भने ।
०४५/४६ सालतिर नेपाल टेलिभिजन आउन थालेसँगै नाटकमा सक्रिय दिग्गज कलाकारहरु नीर शाह, रमेश बुढाथोकी, अशोक शर्मा, सुनील पोखरेललगायत धेरै रंगमकर्मी थिएटर छाडेर टेलिभिजनतर्फ मोडिए । “त्यसपछि केही समयका लागि नाटकघरमा खडेरी लाग्यो । ०४६ सालअघि निर्देशकहरु आफैंले नाटक लेखेर मञ्चन गर्थे तर ती नाटकका विषय भने विशुद्ध सत्ताको विपक्षमा हुन्थ्यो । सजिलो भाषामा भन्नुपर्दा प्रजातन्त्रका निम्ति) । पछि प्रजातन्त्र आयो टेलिश्रृङ्खलाबाट चलचित्र बन्न थाले जसले गर्दा नाटक मञ्चन कम हुन थाले फलस्वरुप नाटक लेखनमा पनि कमी आयो,” नाटक निर्देशक घिमिरे युवराज बताउँछन् ।
उनका अनुसार नाटक लेखनको कमर्सियल पाटो कमजोर भएका कारण पनि लेखकहरु यसतर्फ कम आकर्षित भएका हुन् । उपन्यास, कथा, कविताजस्तो नाटकको किताब बिक्री हुँदैन त्यसैले साहित्यकारहरु पनि नाटक लेखन साहित्यको एक उत्कृष्ट विधा भईकन पनि नाटक लेखनमा रुचि राख्दैनन् ।
अर्को भनेको कति नाटक मञ्चनका लागि योग्य पनि नभएको घिमिरे बताउँछन् । “रंगमञ्चीय ज्ञानबिनाका लेखकहरुले लेखेका प्राय: नाटक मञ्चनका लागि योग्य हुँदैनन् । हुन त नाटक नै मञ्चनमा उतार्दा निर्देशकलाई सजिलो हुने हो । तर मैले अघि भनेजस्तै प्राय: नाटकहरु प्रस्तुतिमा उतार्नुभन्दा कथा, उपन्यासलाई प्रस्तुतिमा उतार्न सजिलो हुने भएका कारण नाटक निर्देशकहरु लेखिएका नाटकभन्दा उपन्यास र कथामा केन्द्रित हुन्छन् ।”
घिमिरेका अनुसार ३०/४० को दशकमा उल्लेख्य संख्यमा नाटक लेखकहरु सक्रिय भए पनि त्यसपछि नयाँ लेखकहरु आउँदा बजार कथा, उपन्यासले खाइसकेको थियो जसले गर्दा साहित्यकारहरु त्यसैतर्फ उन्मुख भए । उनी आफैंले पनि नेपाली नाटक मञ्चन गर्नुपर्छ भन्दै कुमार नगरकोटी, फूलमान बललाई नाटक लेख्न लगाएर आफ्नो निर्देशनमा मञ्चन गरेका छन् । साथै सत्यमोहन जोशी, अभि सुवेदीको नाटक पनि मञ्चन गरेका छन् ।
नयाँ साहित्यकारहरुले नाटक लेखनमा खासै कलम चलाउँदैनन् भनिरहँदा उनी केही नाटक लेखक तथा निर्देशक खगेन्द्र लामिछाने, राजन खतिवडालगायत अन्यहरुले नाटक लेख्दै र निर्देशन पनि गर्दै गरेको पनि बताउँछन् । तर, उनीहरुले नाटक लेख्दा विशुद्ध मञ्चनका लागि मात्रै लेख्ने तर प्रकाशनमा ल्याउने सोच नहुने घिमिरे मान्छन् ।
पछिल्लो पुस्ताका साहित्यकारहरु नाटक कम लेख्ने, लेखे पनि कम प्रकाशनमा आउने, लेखक र नाटक निर्देशकबीच ग्यापका कारण मञ्चसम्म नपुग्ने गरेको घिमिरे स्विकार्छन् ।
नाटक लेखक तथा त्रिविका रंगमञ्च शिक्षक अशोक थापा पनि मल्ल र लम्सालको कुरामा सहमति जनाउँदै नाटक साहित्यको अन्य विधाभन्दा फरक हुने भएकाले लेखनीमा कमी भएको बताउँछन् । यो साहित्यको अन्य विधाजस्तै कविता, कथा लेखनभन्दा समय लाग्ने, योजनाबद्ध र दृश्यको विधा भएकाले नाटक कम लेखिनु सामान्य भएको र यो विश्वभरि नै यस्तै हुने उनको बुझाइ छ ।
नेपाली नाटकहरु कति त प्रकाशकले नै बजारसम्म ल्याउन नखोज्ने भएकाले लेखकहरुसँगै थन्किने गरेको पाइन्छ । कति प्रकाशनमा आएकाहरुको पनि अन्य पुस्तकहरुजस्तो चर्चा नभएकाले पनि लेखनमा कमी आएको र नाटक निर्देशसम्म नपुग्ने गरेको थापा बताउँछन् ।