काठमाडौं । दुई दिनदेखि राजधानीमा झमझम झरी परिरहेको छ । सर्वसाधारण अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन् ।
कोरोना संक्रमणले विश्व नै प्रभावित भएको अवस्थामा नेपाल पनि यसबाट अछुतो छैन । विभिन्न जिल्लाबाट राजधानी फर्किएकाहरु अहिले कोरोना संक्रमण छ कि छैन भनेर पीसीआर जाँचका लागि ठूलो सास्ती खेप्न बाध्य छन् । सर्वसाधारण पीसीआरकै लागि काठमाडौंको टेकुमा रहेको अस्पतालबाहिर घण्टौं लाइनमा बस्न बाध्य छन् । कतिपय सर्वसाधारण चाँडै पालो पाउने आशमा रातभर अस्पताल बाहिरै सुत्ने गरेका छन् ।
कोभिड १९ (पीसीआर) परीक्षणका लागि झरीको पर्वाह नगरी टेकु अस्पताल बाहिर सर्वसाधारणहरु लाइनमा बसेका छन् । कोभिड महामारी बढिरहेकाले काठमाडौं बाहिरबाट आएकाहरुलाई पीसीआर परीक्षण रिपोर्ट देखाए मात्र घरबेटीले प्रवेश दिने उर्दी जारी गरेसँगै सर्वसाधारण बाध्य भएर जाँचका लागि अस्पताल पुगेका छन् ।
टेकु अस्पतालमा दिनमा तीन सयजनाको मात्र पीसीआर परीक्षण हुने भएकाले पनि सर्वसाधारण लामो लाइन लाग्न बाध्य भएका हुन् । उनीहरु रातभर लाइन लागेपछि मात्र भोलिपल्ट पालो पाउने गरेको बताउँछन् । हेरौं पीसीआर जाँचकै लागि अस्पताल बाहिर दर्के झरीको पर्वाह नगरी लाइनमा उभिएका सर्वसाधारणका थप तस्बिर :