site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीमान् साउदीमा बिरामी, घरबारी पहिरोले लग्यो, अपाङ्‍गता छोरी दाम्लोमा 
SkywellSkywell

सिन्धुपाल्चोक (बाह्रबिसे) । बिहीबार मध्याह्‍न नागपुजे पुग्दा चमेली विक नगरपालिकाले भर्खरै टाँगेको त्रिपालभित्र असिनपसिन थिइन् । अघिल्लो दिन साँझ मेसमा मुख जुठो गरेकी चमेलीको मध्याह्‍न घर्कंदासम्म खाने पालो आएको थिएन ।

भोकले दूधेनानी छट्पटिँदा उनी आहत हुन्थिन् । र, घरीघरी सामूहिक भान्छाघरतिर हेर्थिन् । खाना पाकिनसकेको सङ्केत मिलेपछि पुनः टेन्टभित्रै आँखा पुर्‍याउँथिन् ।

दुइवटा गुन्युँ । ठाउँठाउँमा भ्वाङ परेको पातलो पछ्यौरा । कुम उध्रिएका दुईवटा चोली । दुईवटा स्टिलका थाल । एउटा पुरानो अम्खोरा । बिट फाटेको एउटा कचौरा । बालबालिकाका दुईचार थान लुगाफाटो । सम्पत्तिको नाममा उनको सिरीखुरी यत्ति थिइन् ।

KFC Island Ad
NIC Asia

त्यही पनि चाहिएका बेला फेला नपर्ला भनेर हुनुपर्छ,घरकै स्वरूपमा ढालिएको टेन्टको दक्षिणी कुनोमा जतनले राखेकी रहिछन् ।

“के गर्नु हजुर विपत्ति बाजा बजाएर आउँदो रहेनछ । तीनमुरी कोदो फल्ने बारी र घर पहिराले खाइदिइहाल्यो । पालमुनि आएर थन्किनु परेको छ ।मनभित्र गाँठो परेको दुःख फुकाउन कहाँ जानू !,” कुराकानीको आरम्भमै भक्कानिन्छिन् उनी ।

Royal Enfield Island Ad

साविक बराम्ची गाउँ विकास समिति, अहिले जुगल गाउँपालिकामा जन्मिएकी चमेलीले सुखको अनुभूति गर्न पाएकी छैनन् । जीवनमा दुःखको पहाड नपन्छिएकाले सुखको अनुहार देख्नु पनि कसरी ? एउटा भँगालोबाट उम्कियो, अर्को दुःखले अँगालो हाल्छ । जिन्दगी भन्नु नै दुःखको परिभाषा हुन पुगेको छ ।

बिहे गरेपछि सुविस्ता होला भन्ने सोचेकी थिइन् । तर, झन् ठूलो दुःखको गर्तमा हेलिन पुगिन् ।

“औंलो डुबाउने खेत छैन । एक हल गोरु मेलो लाग्ने पनि बारी छैन । मेलापात गरेर बिहान–बेलुकाको छाक टार्दै आएको थिएँ । भैंचालाले सबै खाइदिइहाल्यो,” जीवनका दुस्तर दुःखहरू क्रमशः सुनाउँदै जान्छिन्, चमेली ।

 

 

चमेलीको जीवनमा भुइँचालो विपत्तिको भयानक विम्ब बन्न पुगेको छ । २०७२ वैशाखको भूकम्पको झट्का बेहोर्दा उनी गर्भिणी थिइन् । बच्चा जन्मिने मिति नजिक आइसकेकाले बस्न, उठ्न नसक्ने हालतमा थिइन् ।
मध्याह्नपख जिल्ला नै सखाप बनाउने गरी भुइँचालो आयो । जसोतसो भागेर ज्यान जोगाइन् । गर्भिणीले भूकम्प बेहोरेकाले छरछिमेकीले अनेकथरी कुरा सुनाए उनलाई कसैले गर्भ खेर जान्छ भने । कतिले बच्चा पैदा भए पनि सग्लो हुँदैन भनेर अत्याए ।

सपना खराब नदेखेकाले चमेली सग्लो बच्चा जन्मिनेमा ढुक्क थिइन् । दिनमै दर्जनौंपटक परकम्पन जान्थ्यो । जमिन थर्थराउँथ्यो । भूकम्पले खण्डहर तुल्याएका घरहरूबाट छारोधूलो उड्थ्यो ।

घरगोठ भत्किएकाले परिवारमै पालको ओत लागेको थियो । पालमै व्यथाले च्याप्यो । दिउँसोपख सिन्धुपाल्चोक आसपासै केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको थियो । बचेखुचेका घरहरू पनि माटामा मिलाएको थियो । पुनः भूकम्पको झट्काले पहाडै खस्ने हो कि, झ्याप्पै छोप्ने हो कि भन्ने भय बढ्यो । अस्पताल जाने आँट आएन उनलाई । 

“भूकम्पले मेलोबाटो दिएको छैन । फेरि झट्का आउला । डाँडै खसेर छोप्ला भनेर घरमै बच्चा जन्माउँ भनेर मैले ढिपी नै गरेँ । तर घरकाले दिएनन्,” उनी त्यसदिनको कहर सम्झिन्छिन् । तर, पटकपटक भूकम्पको झट्का बेहोरिसकेकाले छरछिमेकमा मानिसहरूले कुरा पर्न दिएनन् । राति नै एम्बुलेन्समा राखेर खाडीचौर लिएर गए । भूकम्पले क्षतिग्रस्त तुल्याएकाले बाटो सहज थिएन । ढिला हुने नै भयो ।

अस्पताल पुगेकै थिएन । बाटामै बच्चा पैदा भइहाल्यो ।

“जन्मँदा अपाङ्गता थिइनन् । हातपाउ सग्लो थियो । मध्यरात बाह्र बजे जन्मिएकी थिई । स्याहार्न सकिनँ । हातबाट उम्किएर खसी,” उनी भावुक हुँदै भन्छिन्, “तल फलाम रहेछ । त्यहाँ पो बज्रन पुगिछ । त्यसपछि यस्तो भयो...।” डाक्टरहरूले त्यतिबेला कहाँ असर प¥यो भनेर खुट्याएनन् । टाउकामा असर पर्‍यो कि भनेर ख्याल पनि भएन ।

“ठूलो अस्पतालमा उपचार गराउन जाउँ भनेर आफूसँग पैसा पनि थिएन । भूकम्पले गर्दा ऋण काढेर उपचार गर्न सक्ने अवस्था पनि भएन । जे त होला भनेर घरै ल्याइयो,” उनी त्यसदिनको घटना सम्झँदै भन्छिन् ।
हुर्कंदै जाँदा बालिकाको विकास अनौठो ढङ्गबाट हुँदै गयो । दुईछोरीहरू एक–डेढ वर्षमा बोल्न थालेका थिए । हाँसखेल गर्थे । रुन्थे । प्रतिक्रिया जनाउँथे ।

तर, उनको हाउभाउ बेग्लै हुँदै गयो । सुस्त मनस्थितिजस्तो र्‍याल–सिँगान बगाइरहने, बोल्दा पनि नबोल्ने, खेल्दा पनि नखेल्ने, भाँडाकुँडामात्रै फालिरहने गर्न थालिन् । “त्यसपछि मात्रै हामीले अपाङ्गता भइछे भन्ठान्यौं । त्यपछि कहाँ लगेर उपचार गर्ने, के गर्ने भन्ने अन्यौल भयो,” उनी निरुपाय हुँदै सुनाउँछिन् । भुइँचालाको झट्काबाट माथि उठ्न निकै मिहिनेत गर्नुपर्‍यो विक परिवारलाई । सरकारले उपलब्ध गराएको तीन लाखले जगसम्म हाल्न पुग्यो । बाँकी ऋण काढेर जेनतेन ओत लाग्ने घर बनाए । भरपर्दो संस्था फेला परे हारगुहार गरेर छोरी जिम्मा लगाउने सोच पनि बनाएका थिए ।

 

 

दुईछोरीको पढाइ नै बोझिलो बनिसकेको थियो । अतिरिक्त बोझ उठाउने क्षमता पनि उनीहरू थिएन । ऋणैऋणको चक्रव्यूहमा परेपछि पाँच–छ महिनाअघि मात्रै चमेलीका श्रीमान् रामबहादुर विक रोजगारीको सिलसिलामा साउदी हानिएका थिए । उनी गएको केही महिनामै सारा विश्वलाई कोरोनाले छोप्यो । उनी पनि ताडित बन्न पुगे ।

“विदेश जानुभएको पैसा आउला भन्ठानेको बिरामी भएको खबर पो आयो,” उनी भक्कानिँदै भन्छिन्, “बिरामी भएपछि विदेशको ठाउँ कसले स्याहार्नू । कसले तातोपानी तताएर दिनू ।” फोन गरेपिच्छे श्रीमान्‌को दयनीय आवाज सुन्दासुन्दा उनी आहत थिइन् । कयौंपटक उनले त्यहाँको निकाय, दूतावाससँग सम्पर्क गरेर, हारगुहार गरेर नेपाल आउन नसुझाएकी पनि होइनन् । श्रीमान आउँदा, नआउँदै घरमा पहिरो आयो । भूकम्पबाट बौरिएर बामे सर्दै गरेको परिवारलाई थला बसालिदियो ।

दर्के झरी परेकाले चमेली राति अबेरसम्म निदाउन सकेकी थिइनन् । यसो आँखा लाग्न लागेको थियो, सुतेको खाट हल्लन थाल्यो । चट्चट् आवाज आउन थाल्यो । भूकम्प भन्दा ठूलो हलचल पैदा भयो । छोरीहरू ब्युँझिइसकेका रहेछन् । हुर्किएका दुई छोरीलाई भाग भन्न भ्याइछन् । काखे नानी र अपाङ्गता भएकी छोरीलाई आफैंले च्यापिन् र आफू पनि भागिन् ।

उनले घर छाडेको केही बेरमै पहिरोले घर सोहोरिहाल्यो । “त्यसदिन दुई पाइलाले बाँचे हुँला । नत्र मलाई र दुई बच्चालाई भोटेकोसीमै पुर्‍याउँथ्यो,” उनी कहालिँदै भन्छिन् ।

रुने मानिस पनि छाडिदिएन पहिरोले (स्थलगत रिपोर्ट)

पहिरो थामिएपछि सासु, जेठो ससुरा र देवर–देवरानीको याद आयो । देवरानीको ९ महिने काखे शिशु पनि थियो । त्यो बाँचेन होला उनलाई पहिले नै लागेको थियो ।

पहिराले सबैलाई सोहोर्न भ्याएछ । छरछिमेकका सबै मिलेर खोज्दा पनि उनीहरूको टुङ्गो लागेन । “बिहानसम्म त जिउँदै भेटिन्छ कि भन्ने आश लागेको थियो । दिउँसो सबैको शव भेटियो । दैवले यसरी बज्र हान्यो,” उनी व्यथाको पयो फुकाउँछिन् ।

भूकम्पले घरबास मात्रै उखेलेथ्यो । खेतबारी हुनेहरूले खनीखोस्री गुजारा चलाउन सक्थे । पहिरो झनै निर्मम बनेको छ । घर, मानिस र खेतबारी समेतलाई आफ्नो आहार बनाएको छ । बगर तुल्याएको छ ।

बाह्रखरीसँग कुरा गरिरहँदा चमेलीका दुई छोरीहरू राहत लिन सखुवा बजार गएका रहेछन् । १२ र १४ वर्ष उमेर टेकेका उनीहरूको पेटमा पनि बुधबारदेखि नै अन्न परेको थिएन । भोकभोकै राहतको चामल बोकेर आधा घण्टाको उकालो कसरी छिचोले होलान् ?

 

 

तथापि, चमेलीलाई ती दुई सन्तानको पिरलो छैन । हात थापेरै भए पनि खान सक्ने भएका छन् ।  तर, अपाङ्गता छोरी बेली बिको ठूलो चिन्ता छ उनलाई । कुनै मनकारी संस्था आइपुगी पो हाल्छन् कि भनेर बाटो हेरिरहेकी छन् ।

पहिरोले गाउँ स्वाहा पारेको बेलामा गाउँमा त्यस्ता संस्थाहरू आउन सक्छन् भनेर छोरीहरूलाई पनि चनाखो बनाएकी छन् । बस्तीका मानिस झुरुप्प भेला भए पनि उनीहरू त्यहाँ पुगिहाल्छन् । मनकारी मानिसको खोजी गर्छन् ।

“गरिबको कोखमा जन्म लिएर यसले धेरै दुःख पाइ । हाम्रा कुरा बुझ्दिनँ । उसका कुरा पनि हामी बुझ्दैनौं । एकछिन छाड्नु हुँदैन, घरका भाँडावर्तन सबै हुर्‍याउँछे । बिहानदेखि साँझसम्म यसैगरी दाम्लाले, डोरीले बाँधेर राख्नुपर्छ,” उनी रुँदै भन्छिन्, “कसैले उद्धार गरिदिए पनि धर्मै हुन्थ्यो । हामीलाई ठूलो राहत हुन्थ्यो ।” सङ्कटको बेला यस्तो संस्था कहाँ पाउनु । तर, पनि उनका आँखा थाकेका छैनन् । मनले हरेश खाएको छैन ।

के थाहा मनकारी मानिसको पाइला पालभित्र परी पो हाल्छ कि !

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro