site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुने मानिस पनि छाडिदिएन पहिरोले (स्थलगत रिपोर्ट)
SkywellSkywell

सिन्धुपाल्चोक (बाह्रबिसे) । २०७२ सालको विस्मयकारी भूकम्पले सिन्धुपाल्चोक नागपुजेको रूप नै उलटफेर ल्याइदिएको थियो । गुजुमुज्ज परेको बस्ती । एउटै लहरमा उभिएका र एकै दामलका जस्ता देखिने घर–गोठ । बाह्रबिसे नगर क्षेत्रभरिकै उम्दा ठाउँ थियो, नागपुगे । तर, २०७२ वैशाख १२ र २९ गतेको विनाशकारी महाभूकम्पले इतिहासको गर्तमा विलीन गराइदियो । नागपुजेका परम्परागत पिता¬पुर्खाको पसिना नामेट भयो । तीन पुस्ताको कमाइ एकै झट्कामा स्वाहा भयो ।

तथापि, मानिसहरूलाई भूकम्पको धूलो टक्टक्याएर उठ्न र जीवनको लयमा फर्कन समय लागेन ।

भूकम्पपछिको दिन सम्झँदै तेम्बानोर्बु तामाङ भन्छन्, “भूकम्पबाट मानिसहरू आफ्नै बुतामा तङ्ग्रिँदै थिए, सरकार र सङ्घ–संस्थाले मद्दत गरेपछि छिट्टै नागपुजे उभियो । पहिलेको भन्दा भिन्न र राम्रो स्वरूपमा उभियो । गाउँको विकास पनि भयो ।”

KFC Island Ad
NIC Asia

तेम्बानोर्बु सम्झन्छन्, भूकम्पले छिमले पनि नागपुजेसँग अपुग्दो केही थिएन । ठुल्ठूला, चित्ताकर्षक फाँट । आयस्ता प्रशस्तै हुने बारी । भीरखर्कको छाती रसाएर बग्ने पयुँखोला ।

पयुँखोला नागपुजेको प्राण नै थियो । बस्तीको समीपबाट बाह्रैमास बग्ने पयुँ खोलाले सिङ्गै फाँटलाई सिञ्चित तुल्याएको थियो । घट्ट–मिल गर्न पनि टाढा जानुपर्दैनथ्यो । हिउँदवर्षा त्यही पयुँ खोलाको पानीले घट्ट–मिल घुमाउँथ्यो । नागपुजेबासीको दैनिकी सहज तुल्याउँथ्यो ।

Royal Enfield Island Ad

भदौ २७ गते नागपुजेले अर्को भयानक त्रासदी बेहोर्‍यो । भीरखर्कबाट खसेको पहिराले भोटेकोसीसम्मको बाटो तय गर्दा नागपुजे खण्डहर–बगरमा परिणत भयो ।

बाह्रबिसे ७ का हेमविक्रम थापा त्यसदिनको विपत्ति सम्झन्, अघिल्लोदिन साँझदेखि परेको अविरल पानी मध्यरातसम्म थामिएको थिएन । बस्तीको पुछार भएर बग्ने भोटेकोसी उर्लिएर आएको थियो । भोटेकोसीको उच्चाटलाग्दो सुसाइ विपत्ति निम्त्याउन उद्दत प्रतीत हुन्थ्यो ।

“भोटेकोसी यसरी कराउँथ्यो हामीहरू त्राहित्राहि थियौं, कतै बाह्रबिसे बजारै निल्ने त होइन । सखुवा बजारलाई नै आफ्नो आहारा त बनाउने पो हो कि भनेर हामी थर्कमान् थियौं,” उनी त्यसदिनको त्रासदी सम्झँदै भन्छन् ।

 

राति साढे एक भएको हुँदो हो, हेमविक्रम यकिन गरेर भन्न सक्दैनन् । पानी झन्झन् दर्कन थाल्यो । ग्वार्र..पहिरो चलेको आवाज आयो ।

“मध्यरात छ । भोटेकोसी झन् ठूलो स्वरले चिच्याउँदै छ । कतै बत्ती बलेको छैन । कहाँ के भयो कसरी ठम्याउनु ? भगवान जप्नुबाहेक के उपाय थियो र ?,” उनी भन्छन् । ग्वार्र.. आवाज आएको केही क्षणमै डाँडै बज्यो । पर्वत खसेजस्तो आवाज आयो । हेमविक्रमले पहिरो नै भएको यकिन त गरे । तर, मध्यरात भएकाले पहिराले कहाँ, के निल्यो ? ठम्याउन सकेनन् ।

“ठूलो पहिरो चलेको, पर्वत नै खसेजस्तो अवाज आएपछि पारितिर हेरेर बसेँ । मानिसहरू रोएको, चिच्याएको आवाज नआएपछि पहिरोले बस्ती छलेछ भनेर ढुक्क भएँ,” उनी सुनाउँछन् ।

एकैछिनमा गाउँमै भौगदौड मच्चिन थाल्यो । कङ्कलाशब्द सुनिन थाल्यो । सामूहिक रुवाइको उराठलाग्दो ध्वनीले सबैको निद्रा खल्बलियो । जर्‍याकजुरुक उठे ।

“किन रोए होलान् भनेर छक्क पर्दैथेँ । मेरो घर बगाएर भोटेकोसीमा झार्‍यो, परिवार पनि लग्यो भनेर एकजना रुँदै आउनुभयो,” उनी भावुक हुँदै सुनाउँछन्, “त्यसपछि मात्रै पहिरोले आफ्नै गाउँ पो छिमलेछ भन्ने थाहा पाएँ ।”

हेमविक्रमले मानवीय क्षति त बेहोरेनन् । तर, ३० मुरी धान फल्ने खेतको नामोनिशान छैन । पहिरोमा वेपत्ता भएका लालबहादुर श्रेष्ठ, जसको परिवारमा उनीसहित तीनजना हराइरहेका छन् । पहिरोको भँगालो नै उनको घरबाट सोझिएकाले भेटिने सम्भावना पनि न्यूनः प्राय छ । उनको घरभन्दा ठीक माथि हेमविक्रमको ठूलो एउटा गह्रा र ५–७ वटा फगटा थिए । ३० मुरी आयस्ता हुन्थ्यो । तर, पहिराले नामेट तुल्याइदियो ।

“खेत हुँदा आयस्ता हुन्छ, त्यसैले बाँचौंला भन्ने हुन्थ्यो । खेत नभएपछि कसरी बाँच्ने होला भनेर अत्यास लाग्दो रहेछ,” उनी निरुपाय हुँदै सुनाउँछन् ।

भदौ २७ यता उनी दिनरात पहिरोमा टोलाएर बस्छन् । पहिरोमा हराइरहेका १५ जनामध्ये कसैको शव भेटिन्छ कि भन्न आश पनि लाग्छ । बढ्ता चिन्ता लालबहादुरकै लागेको छ । “परिवारै वियोग हुँदा रुने मानिस पनि बाँचेनन्, मूली बगाएपछि बालबच्चाले दुःख पाउलान् पहिरोले दया गरेको हो कि, सबैलाई सोहोर्‍यो,” उनी अवाक् हुन्छन् ।

भीरखर्कबाट सुरु भएको पहिराले नेवार टोलतिर पनि शाखा फिँजारेको थियो । बढ्ता क्षतिचाहिँ नागपुजेमै गर्‍यो । भीरखर्क, नेवारटोलमा गरेर ११ जना बेपत्ता थिए । बिहीबारसम्म सबैजनाको शव फेला परिसकेको हेमविक्रम बताउँछन् । नागपुजेका अधिकांशको अवस्था अज्ञात छ । बिहीबार दिनभर स्काभेटरले पहिरो पन्छाए पनि बेपत्तामध्ये कसैको नामोनिशान भेटिएन । नेपाली सेना, प्रहरी र सशस्त्र बलको दिनभरको मिहिनेत खेर गयो । व्यर्थ भयो ।

“एकजनाको शव झण्डै ३० किलोमिटर तल बलेफी छेउमा भेटियो । अर्कोको लास बसेरीमा फेला पर्‍यो । रङ्गशाला बनाउन मिल्ने समथर खेत–बस्ती पहिराले भीरखर्क बिर्साउनेगरी भीरमा परिणत गरिदिएको छ, कसको घर कहाँनेर थ्यो भनेर ठम्याउन मुस्किल छ, कसरी फेला पर्लान् र खै ?” हेमविक्रम निराश हुन्छन् ।
नन्दमाया श्रेष्ठले बिहीबार दिनभर स्काभेटर पछ्याइन् । स्काभेटरले जताजता पहिरो पन्छाउँछ उनका आँखा त्यतैत्यतै दौडिइरहे ।

पहिराले सासु भक्तिमाया श्रेष्ठ, देवर करण श्रेष्ठ र देवरानी मनकुमारी श्रेष्ठ बेपत्ता बनाएपछि उनीहरूको खोजपड्तालमा लागेकी छन् । उनीहरू फेला पर्ने छाँट छैन । तर, उनले आश मारिसकेकी छैनन् । पहिराले सास बुत्याए पनि लास त्यतै छाडिदियो कि भन्ने लागिरहन्छ ।

“शव भेटिएका परिवारहरूले काजकिरिया गर्न पाए । सद्गत पनि भयो,” उनी रुँदै व्यथा सुनाउँछिन्, “शव नभेटिएकाको किरिया गर्न पनि पाएको छैन ।”

सुसराको शव बलेफीनजिक भेटिएको थियो । सासु, देवर र देवरानीलाई पहिराले भोटेकोसीमै पुर्‍यायो भन्नेमा उनी यकिन छैनन् । पीपलको रूख छेउमा अड्काएको पनि हुनसक्छ भनेर केहीबेर त्यहाँ पनि खोतल्न लगाइन् उनले ।

 

सबैभन्दा ठूलो पिरलो देवरानीकै छ । उनी गर्भिणी थिइन् । चिकित्सकले बिहीबार (असोज १ गते) कै मिति तोकेका थिए । विडम्बना पहिराले उनलाई पनि छाडेन । ती शिशु, जसले धर्तीको अनुहार देख्नै पाएको थिएनन्, गर्भभित्रै रहँदा पहिरो बेहोर्नु उनको नियति बन्यो ।
“त्यो बच्चाको लेखान्त नै त्यही रहेछ, जन्मनु अगावै मृत्यु बेहोर्नुपर्‍यो,” उनी डाँको छाडेर रुन्छिन् ।

नन्दमाया पहिरोजाँदा नागपुजेमा थिइनन् । २०७२ सालको भूकम्पले घर उखेलेपछि उनी काठमाडौं बस्न थालेकी छन् । साढे १ बजे पहिरोले सासुससुरा बगाएपछि छरछिमेककाले उनलाई खबर गरे । राति नै हान्निएर नागपुजे आउन मन थियो । तर, कोरोना सङ्क्रमणको कहर र लकडाउनले हातखुट्टा बाँधिदियो ।

भोलिपल्ट हारगुहार गरेर साधन खोजेर आइन् । गाउँको हालत देखेर उनको भक्कानो छुट्यो । नचिताएको भवितव्य बेहोर्दा अहिले पनि उनको होस ठेगानमा छैन ।

“भीरखर्क त पहिराको जोखिममै थियो । तर एक किलोमिटर तल नागपुजेमा पहिरो जाला भनेर कसैले चिताएको थिएन । नेवार, बाहुन, क्षत्रि, विश्वकर्मा, नेपाली, तामाङ जाति सबै मिलेर बसेका, स्वर्गको एकटुक्रा थियो यो गाउँ, पहिराले यहीँ आँखा लगायो,” उनको आँसु थामिँदैन ।

दिलबहादुर नेवारको घर भीरखर्कको ठीकमुनि थियो । घरछेउबाट खोल्सो बग्थ्यो । ६४ वर्ष उमेर झेल्दा पनि उनले यस्तो त्रासदी बेहोरेका थिएनन् । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले पनि उनको मथिङ्गल यसरी मच्चाएको थिएन । 

पहिराले उनलाई आहत तुल्याएको छ । पहिराको भँगालो आफ्नै घरबाट सोझिँदा खहरेमा परिणत हुनपुग्यो ।

 

“छिमेकी, सँधियार कोही पनि बाँकी राखेन । सँगै रुखो–पीठो खाएका, दुःख–सुख बेहोरेका छिमेकी बेपत्ता छन् । न जीवितै आए नि त भनेर खुसी हुन पाइएको छ, न शव भेटियो भनेर रुन पाइएको छ । गाउँको यस्तो हालत छ,” उनी दुःखेसो पोख्छन् ।

बिहान साढे १ बजेतिर खसेको पहिरो र दिलबहादुरबीच प्रतिस्पर्धा नै चल्यो । “बालबच्चा च्यापेको छु । पछिपछि पहिरो आउँदैछ, अघिअघि म भाग्दैछु । कहाँ पुगेर छोप्ने हो भन्ने लागेको थियो । धन्न छलिएछु,” उनी त्यसदिनको त्रासदी शब्दमा वर्णन गर्छन् ।

अहिले गाउँ नै विस्थापित भएर टेन्टमा समेटिएको छ । फूल खेल्न थालेको कोदाबारी फाँडेर टेन्ट टाँगिएको छ । नगरपालिकाले खडा गरेको सामूहिक मेसमा भातभान्छा चलेको छ ।

“दुईचार दिन त यसरी चल्ला पनि । भूकम्पपछि दुःख गरेर उभ्याएको घर पहिराले भोटेकोसीमा मिलाइहाल्यो । खेतबारी पनि भोटेकोसीमै पुग्यो । अब के खाएर जिन्दगी गुजार्ने होला । म त बुढो पनि भएँ, बालबच्चाहरू जसको सिङ्गै जीवन बाँकी छ, उनीहरू के खाएर बाँच्लान् ? सम्झीसम्झी मन कहालिन्छ,” उनी भन्छन् ।

 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro