site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार ! जनतालाई बाँच्‍न देऊ

काठमाडौं । कलाकारहरुले जारी निषेधाज्ञा र लकडाउनको विकल्प खोज्‍न सरकारसँग आग्रह गरेका छन् । निषेधाज्ञा र लकडाउनका कारण जनताको दैनिकी कष्टकर बन्दै गएको भन्दै कलाकारहरु भोकले मर्ने अवस्था आएको बताएका छन् । 

अभिनेता अर्पण थापा विश्वका धेरै देशले लकडाउनको विकल्प खोजे पनि नेपालले भने ६ महिनादेखि लकडाउन र निषेधाज्ञा गर्दै आएको भन्दै अब विकल्प खोज्‍ने बेला आएको बताउँछन् । “नेपालमा मात्रै होइन संसारभरै कोभिड-१९ को प्रभाव छ । विश्वका धेरै देशले लकडाउनको विकल्प खोज्दै खुला गरिसके,” अर्पण भन्छन्, “हुने खानेहरुलाई असर नगर्ला तर आम सर्वसाधारणका लागि सरकारले मतलब गरेको छैन । जनता सबै एकै खालका छैनन् भन्‍ने हेक्का सरकारलाई हुनुपर्छ ।”

दिनभर काम गरेर साँझ खाने वर्गको अवस्था ६ महिनादेखिको लकडाउनका कारण के भइरहेको छ भन्‍ने सरकारले नसोचेको भन्दै अर्पण श्रम गरेर खानेहरु भोकभोकै मर्ने अवस्था आएको बताउँछन् । 

गायक सुगम पोखरेल सरकारको गैरजिम्मेवारपनका कारण रोगले भन्दा भोकले मर्ने अवस्था आएको बताउँछन् । सरकार खान पाइनँ भन्दै जनता सडकमा निस्किने अवस्था आएको भन्दै लकडनउनको विकल्प खोज्दै नागरिकको दैनिकी सहजीकरण गर्नेतर्फ सरकारको ध्यान खिचिनुपर्नेमा जोड दिन्छन् ।

“राज्यको तयारी केही छैन । घरभित्र थुनेर मात्रै समस्याको समाधान निस्किँदैन । जनता भोकले मर्ने अवस्था आइसक्यो । तर सरकार अझै बन्द नै गर्ने भन्दै छ,” सुगम भन्छन्, “सरकारी कर्मचारीको दुई महिनाको तलब काटेर सरकारले देखाओस् अनि थाहा हुन्छ जनतालाई कति गाह्रो भइरहेको रहेछ ।”

आफ्नो स्वास्थ्यको माया सबैलाई हुने भन्दै अब जीवनयापन सहज हुनेगरी सरकारले वातावरण सहज बनाउँदै जानुपर्ने उनको धारणा छ । 

“सरकारको ध्यान मन्त्रीमण्डल परिवर्तनमा छ । प्रतिपक्षीमा को सभापति बन्‍ने चक्कर छ । न सरकारलाई जनताको चिन्ता छ न प्रतिपक्षी जिम्मेवार छ,” सुगम भन्छन्, “व्यापार व्यावसाय गर्ने जनताले बैंकलाई किस्ता तिर्नुपर्छ । सरकारलाई कर तिर्नुपर्छ । जनतासँग रहेको सञ्चित रकम सकिसक्यो । अब ज्यान बचाउन पनि कठिन भइसक्यो । कुन दिन जनतामा रहेको असन्तुष्टि विष्फोट हुन्छ थाहा छैन । अब सामाजिक दूरी कायम गर्दै सचेत हुँदै पुरानै अवस्थामा फर्किनुको विकल्प छैन ।”

नायिका सुरक्षा पन्त जनातालाई घरमा थुन्‍नु नै समस्याको समाधाना नभएको बताउँछिन् । “बिनायोजना र तयारीको लकडाउन र निषेधाज्ञाले समाधान दिँदैन,” उनी भन्छिन्, “सरकारको यो कार्यशैली र रबैया हेर्दा बाहानाबाजी मात्रै हो जस्तो लाग्छ ।”

स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिएर अन्य क्षेत्रलाई सहज बनाउँदै लैजान सुझाउने सुरक्षा हाम्रो जस्तो गरिब देशमा अधिकांश नागरिक गरिबीको रेखामुनि रहेको तथ्य सरकारले बिर्सिएको बताउँछिन् । 

“हाम्रो देश युरोप र अमेरिका होइन । हामी अधिकांश जनतासँग ब्याकअप छैन । त्यसैले हाम्रोजस्तो देश सधैं चलायमान हुनुपर्छ,” उनी भन्छिन्, “तर नागरिकप्रति सरकार गैरजिम्मेवार भयो ।”

जनता भोकले सडकमा आउन लागेको तथ्यलाई मनन् गर्न सरकारले ढिलो गर्न नहुने गायक स्वरुपराज आचार्य बताउँछन् । रोगलेभन्दा भोकले मर्ने अवस्थामा जनताले विद्रोह गर्दै सडकमा आउने अवस्था बन्नेतर्फ राज्य सचेत हुनु आवश्यक रहेको उनी बताउँछन् । 

“सरकार दसैं-तिहारसम्म लकडाउन वा निषेधाज्ञा लम्ब्याउने तयारीमा छ । जनता भोकै रुँदै आउन थालेको सरकार देख्दैन ?” स्वरुपराज प्रश्‍न गर्छन्, “कतिपय देशमा संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरे पनि त्यहाँ खानका लागि राज्यले व्यवस्था गरेको छ । हाम्रो सरकारले खान त दिन सक्तैन होला तर भोकै बस्न नपरोस् भन्ने विकल्प त दिन सक्नुपर्‍यो नि ।”

दसैं-तिहारसम्म लकडाउन लम्ब्याउने हो भने त्यो समयसम्म जनता बाँच्‍ने प्याकेज सरकारले ल्याउनु पर्नेमा उनको जोड छ । 

गायिका सुनीता दुलाल सरकारले आफूले जनतालाई खान पनि नदिने र आफैं गरेर खान्छु भन्‍ने नागरिकलाई वातावरण पनि नबनाइदिँदा जनता भोकमारीले मर्ने अवस्था आइसकेको बताउँछिन् । 

“बन्द नै सबै कुराको विकल्प होइन । लकडाउनको अर्थ सरकारले बुझेन,” सुनीता भन्छिन्, “लकडाउन गरेका अधिकांश देशमा सरकारले जनतालाई खान पुग्ने पैसा दिएका छन् । तर हाम्रोमा सरकारले जनताको पीडा नै महसुस गर्नै सकेन ।” महिनौंसम्म जनता भोकले छटपटिदाँ पनि सरकारले नसुनेको उनको गुनासो छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro