
काठमाडौं । गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर राणा सोमबार एक विरोधसभामा सहभागी भए । उनी आफ्नो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको विरोधसभामा सहभागी भएका भने होइनन् ।
राप्रपाबाट फुटेर बनेको राप्रपा, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको विरोधसभामा उनी सहभागी भएका हुन् । तीनकुने घटनामा पक्राउ परेका राणा वैशाख ७ गते हाजिर जमानीमा रिहा भएका थिए ।
उनलाई स्वास्थ्य जाँच गर्नको लागि हाजिर जमानीमा छोडिएको थियो ।
तपाईँ विरोधसभामा सहभागी हुनुभएछ नि ? भनी बाह्रखरीले सोधेको प्रश्नमा राणाले भने, “म त हाजिर जमानीमा छु, आन्दोलनमा हिँड्ने अनुमति छैन । स्वास्थ्य स्थिति सुधार भएको छ, अहिले ठिक छु ।”
राजतन्त्र र हिन्दु राष्ट्र फर्काउने उद्देश्यले गठित संयुक्त जनआन्दोलन समितिले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान गएको थियो भने कयौं निजी तथा सरकारी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो ।
सोही घटनामा प्रदर्शनकारीलाई उत्तेजित पार्ने काम गरेको भन्दै चैत १५ गते राति नै प्रहरीले राणालाई पक्राउ गरेको थियो ।
उनी क्यान्सरका बिरामी थिए । उनको स्वास्थ्यमा समस्या भएको र उपचारको लागि भारतको मुम्बई जानुपर्ने भएपछि राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा छोडिएको थियो ।
त्यसपछि राणा उपचारको लागि मुम्बई पुगेका थिए । मुम्बईमा स्वास्थ्य जाँच भएपछि उनको सचिवालयले सामाजिक सञ्जालमा लेखेको थियो, “स्वास्थ्यको लागि फलोअपमा जानुभएका पार्टी महामन्त्री तथा आन्दोलन परिचालन समिति संयोजक डा. धवल शमशेर राणाको स्वास्थ्यमा केही नदेखिएको डाक्टरले ‘अल क्लियर’ भनेको कर्खरै जानकारी आएकोले अत्यन्तै खुसी लागेको छ ।”
स्वास्थ्य जाँच सकिएपछि राणा मुम्बईबाट काठमाडौं फर्किएका थिए र उनी सोमबार राप्रपा, नेपालले आयोजना गरेको विरोधसभामा सहभागी भए ।
“स्वास्थ्यको ख्याल गरेर जुनसुकै बेला बोलाएको बखत उपस्थित हुनेगरी उहाँ (राणा)लाई छोडिएको हो,” जिल्ला परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बाह्रखरीसँग भने, “अनुसन्धानकै क्रममा रहेकोले सरकारी वकिलसँग सल्लाह गरेर अब अगाडिको अनुसन्धानको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्णय लिन्छौं ।”
अर्का एक प्रहरीका अनुसार सरकारी वकिलसँगको छलफलपछि राणालाई फेरि बोलाउन सक्नेछ ।
राणासँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै प्रहरी हिरासतमा छन् । राणालाई स्वास्थ्यका कारण हाजिरी जमानीमा छोडिएको थियो । उनीमाथि लागेको आरोपबारे भने प्रहरीले अनुसन्धान जारी नै राखेको छ ।