दक्षिण एसियाका आणविक शक्तिहरू भारत र पाकिस्तानबीचको सम्बन्ध पुनः तनावग्रस्त भएको छ । भारतको कास्मिर राज्यमा पर्ने पहलगाममा गत मंगलवार (२२ अप्रिल) आतङ्ककारीहरूले एक जना नेपाली युवकसहित २६ जनाको ज्यान लिएका थिए ।
भारतले पाकिस्तान सरकारमाथि आतङ्ककारीलाई ‘पर्दा पछाडिबाट सञ्चालन ’ गरेको आरोप लगाउने गरेको छ । पहलगाम घटनापछि पनि भारत सरकारले आतङ्ककारीलाई सजाय दिनेमात्र होइन ‘पर्दा पछाडिकासञ्चालक’लाई समेत पाठ पढाउने मनःस्थितिमा पुगेको देखिन्छ ।
पहलगाममा भएको आतङ्ककारी आक्रमणबाट भारतका साथै नेपालमा पनि आक्रोश व्यक्त भएको छ । आतङ्ककारीका हातबाट नेपाली युवकसमेत मारिएकाले यस्तो आक्रोश देखिनु अस्वाभाविक होइन । नेपालस्थित पाकिस्तानी दूतावास सामु भएको विरोध प्रदर्शन पनि यही आक्रोशको उपज हो ।
पहलगाममा आतङ्ककारी हमला भएको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा थिए । भ्रमण बिचैमा छाडेर मोदी स्वदेश फर्के । विगतमा प्रत्यक्ष युद्ध हुँदासमेत कायम रहेको सन् १९६०को ‘सिन्धु जल सम्झौता’ यसपटक भारतले निलम्बन गरेकाले पनि स्थिति निकै गम्भीर भएको पुष्टि हुन्छ ।
भारत र पाकिस्तानजस्ता आणविक शक्ति राष्ट्रहरूबीच युद्ध हुने जोखिम देखिनु विश्वकै लागि दुर्भाग्य हो । त्यसमा पनि भारत युद्धमा संलग्न हुनेबित्तिकै प्रत्यक्ष परोक्षरूपमा प्रभावित हुने नेपालका लागि बढी नै चिन्ताको विषय हो ।
विडम्बना, अहिले अन्तर्राष्ट्रिय समुदाय पनि अत्यन्त विभाजित र कमजोर छ । संयुक्त राष्ट्र संघको आवाज कसैले सुन्दैन भने शीतयुद्धको समाप्तिपछि उदाएको एकल विश्व महाशक्ति अमेरिका पनि अहिले बढी नै आत्मकेन्द्री हुनपुगेको देखिन्छ ।
विगतमा भारतभूमिमा गरिएका आतङ्ककारी आक्रमणको भारतले सधैँ प्रतिवाद गर्दैआएको छ । यद्यपि, त्यस्तो कारबाही भने निश्चित क्षेत्रमा सीमित हुन्थ्यो । यसपटक भारतीय मनःस्थिति हेर्दा कतै जवाफी कारबाही व्यापक र भयानक हुने त होइन भन्ने सन्देह उत्पन्न भएको छ ।
सबैलाई थाहा छ युद्धबाट समाधान निकाल्न सकिँदैन । यस्तै, आतङ्ककारी जमातलाई प्रश्रय दिँदा अन्ततः त्यसको दुष्परिणाम आफूले पनि भोग्नुपर्छ भन्ने पनि अब त विश्व समुदायले नै अनुभूत गरिसकेको छ । विडम्बना, राजनीति गर्नेहरूले युद्ध र आतङ्कलाई अस्त्र बनाउन छाडेका छैनन् !
नियमित वार्षिक सम्मेलनसम्म पनि गर्न नसक्ने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०ले भारत पाकिस्तानबीच संवाद र सुलह गराउन सक्ला कि भनेर आशा गर्नु दुर्योधनले शल्यलाई सेनापति बनाएर महाभारतको युद्ध जित्ने आशा गर्नुजस्तै देखिन्छ । तैपनि, सार्कको बहालवाला अध्यक्षका नाताले नेपालले शान्ति र संवादको आग्रह भारत र पाकिस्तानसँग गर्नु उचित हुनेछ ।
नेपाल सरकारले पहलगाम आतङ्कको निन्दा गरिसकेको छ । सङ्कटको घडीमा नेपाली जनता त यसै पनि भारतीयसँगै उभिँदै आएका छन् । तर, सार्कका अरू सदस्यहरूसँग सम्पर्क गरेर भारत र पाकिस्तानलाई संवादबाट समाधान खोज्न राजी गराउने प्रयास गर्नु नेपालको दायित्व पनि हो ।