काठमाडौं । ‘प्रमोट नेपाली आर्ट, प्रमोट नेपाली आार्टिस्ट बाइ नेपाली आर्ट’ भन्ने मुल नाराका साथ अनलाइन आर्ट ग्यालरी ‘नेपालीयन आर्ट’ सञ्चालनमा आएको छ ।
कोरोना भाइरस महामारीले पछिल्लो समय भर्चुअल प्लेटफर्मप्रतिको आकर्षण बढ्दै गइरहेको छ । यस्तैमा कला प्रदर्शनीको राम्रो विकल्पको रुपमा पनि यसलाई लिन थालेको छ । यो लकडाउनकै समयमा नेपाली कलाकार तथा ग्यालरी सञ्चालकहरुले पनि अनलाइन कला प्रदर्शनीलाई नै आत्मसात् गरिरहेका छन् ।
तारा गाँउ म्युजिमका निर्देशक रोशन मिश्रले अनलाइन ग्यालरी राम्रो विकल्प हुने कुरा केही वर्षअघि नै महसुस गरिरहेका थिए । त्यसैले उनी अरुभन्दा पृथक अनलाइन ग्यालरी सञ्चालनको सोचमा थिए ।
पाँच-छ महिना लामो लकडाउनले उनलाई काम गर्न राम्रो मौका मिल्यो । त्यसैले उनले यो पाँच महिनाको अध्ययन र गृहकार्यलाई शुक्रबार मुर्तरुप दिएका छन् । मिश्रले नेपालका सातवटै प्रदेशका कलाकारलाई आफ्नो कला प्रदर्शन तथा बिक्रिमा राख्नका लागि राम्रो अनलाइन प्लेटफर्म स्वरुप ‘नेपालीयन आर्ट’ अनलाइन ग्यालरी र आर्ट मार्केटप्लेस लन्च गरेका छन् ।
नेपालमा यसअघि पनि अनलाइन ग्यालरीहरु सञ्चालनमा आएको भए पनि आफूले पृथक ढंगल् ग्यालरी व्यवस्थापन गरेको उनले दाबी गरे । “यस अनलाइन ग्यालरीमा पेन्टिङ बिक्रि गर्दा अरुमा जस्तो ग्यालरी सञ्चालकलाई २०, २५ प्रतिशत दिनुपर्दैन,” मिश्र ग्यालरीबारे प्रस्ट्याउँछन्,“कलाकारहरु ग्यालरीको सदस्य बन्न सक्छन् र आफैंले आफ्नो अपटेड गर्नेदेखि ग्राहकसँग पनि आफैं डिल गर्न सक्छन् ।”
यसका साथै यो प्रदर्शनीका लागि मात्रै भन्दा पनि विशुद्ध बजारको रुपमा पनि ल्याएको उनले बताए । यसका कालकारदेखि अन्य फिजिकल ग्यालरी सञ्चालनक तथा कलेक्टरहरुले पनि कला बिक्रिमा राख्ने सक्ने उनले बताए ।
अनलाइन ग्यालरीको सदस्य बन्न कलाकारहरुले हरेक वर्ष ३ हजार सदस्य शुल्क तिर्नुपर्ने हुन्छ । वर्षमा २० वटा पेन्टिङ राख्न पाउनेछन् । यसबाहेक उनीहरुले आफ्नो पेन्टिङ बिक्री गरेवापत मिश्रलाई कुनै शुल्क तिर्नुपर्दैन ।
यो ग्यालरी सञ्चालन गरेर ग्राहक र अवलोकनकर्ताको संख्या बढाउनुका साथै नेपालको दूरदराजका कलाकारको सिर्जनालाई स्थान दिनु पनि रहेको मिश्रले बताए ।
“म काठमाडौंका कति ग्यालरी, म्युजियम गएको छु । तर मैले जुनमा जाँदा पनि प्राय: त्यहि ग्राहक मात्रै देख्छु । किनभने पोखरा तथा विदेशका ग्राहक काठमाडौंको कुनै ग्यालरीमा आएर अवलोकन गर्ने कुरा हुँदैन । तर अब यो ग्यालरीमार्फत उहाँहरुले घरघरमै बसेर काठमाडौंदेखि देशैभरिका कलाकारहरुको कला अवलोकन गर्ने अनि मन परे किन्न पनि सक्नुहुनेछ ।”
उनी कलाकारको पक्षमा पनि यहि भनाई लागु भएको महसुस गर्छन् । काठमाडौं बाहिर पनि कति उत्कृष्ट कलाकारहरु हुन्छन् तर आफ्नो कला प्रदर्शन गर्ने स्थान नपाइरहेको हुन सक्ने भएकाले यसको विकल्पमा नेपालियन आर्ट ग्यालरी र मार्केटप्लेस ल्याएको उनले बताए ।
‘नेपालीयन आर्ट’मा कला प्रदर्शन गर्न चाहने कलाकारका लागि उनले ३ वटा प्लेटफर्म खडा गरिदिएका छन् । एक्सक्लुसिभ, रेकोमेन्डेड र मार्केटप्लेस । पहिलो प्लेटफर्ममा प्रदर्शनीमा राखिएका पेन्टिङ ग्यालरीको भरमा विशेष स्थान पाउनेछ । तर प्लेटफर्ममा राखिएको पेन्टिङ बिक्रि बाट आएको रकमको १० प्रतिशत भने ग्यालरी सञ्चालकलाई जानेछ ।
त्यस्तै दोस्रो प्लेटफर्ममा एकदम उत्कृष्ट पेन्टिङ मात्रै राखिनेछन् भने मार्केटप्लेसमा कलाकार आफैंले आफ्नो २० वटा पेन्टिङ राख्ने अनि ग्राहकसँग पनि प्रत्यक्ष डिल गर्न सक्नेछन् ।
उनले यो लकडाउनको यो राम्रो परिणाम भएको बताए । केही अघिदेखि यसबारे योजना बनाउँदै गरे पनि मुर्तरुप दिन नसकिरहेकोमा यो लकडाउनको खाली समयमा अझै राम्रोसँग सोचेर यसलाई निर्माण अनि सञ्चालनका ल्याउन सकेकोमा मिश्र राम्रो उपलब्धी मान्छन् ।
आम मानिसमा अनलाइन ग्यालरीको अवधारण अझै वृहत रुपमा फैलिनसकेकाले बिक्रीमा केही समय लागे पनि विस्तारै चित्रकला प्रेमिहरु यसबारे परिचित हुँदै गएपछि फिजिकल आर्ट ग्यालरीभन्दा पनि यसको माग र चहलपहल बढी हुनेमा मिश्र विश्वस्त छन् ।