काठमाडौं । रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र सर्वसाधारणबीच झडप भएको छ । रथयात्रा रोक्ने क्रममा झडप हुँदा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।
कोरोना संक्रमण फैलिने भन्दै भिडमा रथ तान्न नहुने भन्दै प्रहरी प्रशासनले अवरोध गरेपछि रथ तान्न उपस्थितसँग झडप भएको हो । यस्तै भिड तितरबितर गराउन प्रहरीले पानीको फोहोरासमेत फ्याँकेको थियो । पानीको फोहोरा फ्याँक्ने गाडीमा सर्वसाधारणले ढुंगामुढा समेत गरेका थिए ।
यस्तै प्रहरीले चलाएको एउटा मोटरसाइकल पनि रथयात्रामा सहभागी भएका युवाहरुले तोडफोडसँगै आगो लगाइदिएका थिए । ललितपुरको पुल्चोकमा रथ यात्रा गर्ने भनेर सर्वसाधारण उपस्थित भएसँगै ठूलो मात्रामा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो ।
कोरोना संक्रमणका कारण विभिन्न चाडबाड रोकिए पनि सर्वसाधारणले आज रातो मछिन्द्रनाथको रथ तान्न सुरु गरेसँगै झडपको अवस्था सिर्जना भएको थियो ।
कोरोना संक्रमण नफैलियोस् भनेर भदौ २४ गतेसम्मका लागि उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा निषेधाज्ञा जारी गरिएको छ । सर्वसाधारणको भिड नहोस् र संक्रमण नफेलियोस् भनेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले बुधबार मात्रै भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय हिजो मध्यराति सकिएको हो । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।
हेरौं रातो मछिन्द्रनाथको रथयात्राका क्रममा देखिएका थप तस्बिर :