काठमाडौं । रंगकर्मी सरस्वती अधिकारीका लागि रंगमञ्च एकमात्रै त्यस्तो ठाँउ हो, जहाँ उनी आफ्नो वास्तविक जीवनमा जिउन नपाएका पात्र जिउने मौका पाउँछिन् । हरेक पात्रलाई आफूअनुरुप ढाल्ने स्वतन्त्रता पनि उनका लागि रंगमञ्च नै हो । साथै उनी रंगमञ्च आफूलाई पाउने र बुझ्ने ठाँउ पनि मान्छिन् ।
उनले रंगमञ्चलाई आफ्नो कर्म बनाएको ४ वर्षमात्रै भएको थियो । दुर्भाग्य अन्य रंगकर्मीहरू जस्तै अधिकारीको पनि यो यात्रामा (ब्रेक) लागेको छ । रहरले नभई बाध्यताले लाग्यो ब्रेक । महामारीका कारण ६ महिना भइसकेको छ उनले अभिनयको कर्ममा फर्किन नपाएको ।
बन्द, कालो पर्दा लगाएको कोठामा अगाडि स्टेजमा भएको मधुरो प्रकाशको घेराभित्र पात्रअनुरुप आफ्नो शरीर सल्बलाउने, अनि सोही पात्रअनुसार संवादका वाक्य उच्चारण गर्न पाएकी छैनन् । लकडाउनको पहिलो चरणमा जसोतसो टिकटकमै भए पनि अभिनयको भोक पोख्न खोजिन् । तर अघि भनिए जस्तै बन्द कोठामा दर्शकको प्रत्यक्ष उपस्थितिमा भिन्नभिन्न पात्रमा प्रस्तुत हुने बानी परिसकेको उनी यसमा खुसी हुनै सकिनन् ।
पछिल्लो समय शैली थिएटरसँग जोडिएकी उनलाई थिएटरको न्यास्रो लागि नै रहयो । त्यही न्यास्रो मेटाउने उपायका रुपमा शैली थिएटरले ल्यायो ‘शैली संवाद’ । पहिलो चरणको लकडाउन सकेर दैनिकी मन्द गतिमा अघि बढ्न थालेको थियो ।
सरस्वती विभिन्न क्षेत्रका व्यक्तिसँग ‘शैली थिएटर’ मै गएर फेसबुक लाइभ लिएर दर्शकसँग जोडिन थालिन् । तर संक्रमणको दर बढेसँगै सरकारले निषेधाज्ञा जारी गर्यो । सरकारले निषेधाज्ञा जारी गरेसँगै अहिले ‘शैली संवाद’ ले भर्चुअल रुपमा निरन्तरता पाइरहेको छ जसको सञ्चालन सरस्वतीले नै गरिरहेकी छिन् ।
०००
कलाकार भएपछि विभिन्न जातमा प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसैले पनि होला कलाकारको जात हुँदैन । आजभोलि उनी यो भनाइ आफूमा ठ्याक्कै मेल खाएको महसुस गर्छिन् । किनभने यो ४ वर्षको समयावधिमा उनले विभिन्न जातको पात्रको भूमिकामा आफूलाई प्रस्तुत गर्ने मौका पाइसकेकी छिन् । उनले हरेक नाटकमा नयाँ अनि भिन्न पात्र निभाएकी छिन् । वास्तविक जिन्दगीमा उनले यो मौका कहिले पाउँदिनन् । तर रंगमञ्चले उनलाई यो मौका दिएको छ । त्यसैले पनि उनी यो पेसामै खुसी छिन् ।
“मैले एक रंगकर्मी भएकै कारण विभिन्न थर जिउने अनि बुझ्ने मौका पाएकी छु । जुन मलाई यो रंगमञ्चले दिएको सबैभन्दा ठूलो उपलब्धि हो ।” उनले सरिता साह निर्देशित नाटक ‘लू’ बाट रंगमञ्चमा पाइला टेकेकी हुन् । यसमा उनले मुस्लिम पात्र रजियाको भूमिका निभाएकी थिइन् । भने त्यसपछिको दोस्रो नाटक घोडचडीमा उनी चमार समुदायकी 'भगिनी' बनेकी थिइन । तेस्रो नाटक ‘काशीदेवी’ मा उनी झा समुदायलाई प्रस्तुत गरिरहेकी थिइन् ।
उनी क्यारेक्टर ब्रेकको खोजीमा थिइन् । ठ्याक्कै ‘ययाति’ मा उनलाई आफ्नै जातको महारानीको भूमिका निभाउने प्रस्ताव आयो । उनका लागि ‘क्यारेक्टर ब्रेक’ गर्ने यो राम्रो मौका थियो । तर त्यसको पात्र मौकाभन्दा पनि चुनौतीले भरिपूर्ण थियो ।
कारण मञ्चन हुन २ दिनमात्रै बाँकी थियो । एउटा नाटक मञ्चमा जानुअघि कम्तिमा डेढ देखि २ महिनाको तयारी हुन्छ । तर यसको लागि २ दिनको मात्रै समय ।
निर्देशक टंक चौलागाईले र स्वयं सरस्वतीले पनि यो चुनौती आत्मसात् गर्दै नाटकका लागि तयार भए । उनी बिहान उठ्नेबित्तिकै रिसर्हलका लागि जान्थिन् भने राति ९/१० बजेसम्म रिहर्सलमै हुन्थिन् । घरमा आएर पनि उनी समय मिलाएर आफूलाई तयार गरिररहने गर्थिन् । नाटक राम्रै भयो र उनको अभिनयको पनि तारिफ भयो । उनले आफूलाई प्रमाणित गरेर देखाउन सफल भइन् ।
त्यसपछि उनले ‘देवकासी’ मा ६० वर्षिय वृद्ध गुरुङ महिलाको भूमिका निभाएकी थिइन् । ‘लक्ष्मीपूजा’ र ‘भुसको आगो’मा विधवा नेवार्नी को भूमिका निभाएकी थिइन् ।
असन्तुष्ट पात्र
२ दिनको तयारीमा ‘ययाति’मा उनले प्रस्तुति दिइन् । पहिलो दिन उनलाई दिनरातको रिहर्सलले थकान अनि मानसिक लोड महसुस भइरहेको थियो । तर उनले त्यसलाई मञ्चमा छल्किन दिएनन् ।
२ दिनको समयमा उनले स्क्रिप्ट रिडिङदेखि पात्रलाई शरीरमा आत्मसात् गर्नेदेखि रिहर्सल सबै कुरा गर्नुपर्ने थियो । उनले त्यो पात्रमा गरेको काम सबैले रुचाए । तर उनी स्वयंलाई भने आजसम्म पनि चित्त बुझेको छैन । किनभने उनलाई विश्वास छ कि उनले त्यो पात्र अझै राम्रोसँग निभाउन सक्थिन् ।
मञ्चनपश्चात निर्देशक चौलागाई र सह-कलाकार घिमिरे युवराजले उनलाई भने, “सरस्वतीलाई हामीले आगोमा होम्याएकै हौं तर हामीलाई बचाइन् ।” तारिफपश्चात उनलाई आफूले गरेर देखाए भन्ने कुराले खुसी बनायो । यद्यपि यो पात्रमा गरेको अभिनय आज पनि चित्त बुझेको छैन ।
समय पाएको भए उनले यसलाई अझै राम्रो तरिकाले निभाउन सक्छु भन्ने विश्वास छ । उनी त्यस पात्रलाई सम्झिँदै भन्छिन्, “सबैले मेरो अभिनयको तारिफ गर्नुभयो । तर म आफैंलाई भने चित्त बुझेन । किनभने मलाई आफूमा विश्वास छ कि मैले त्यो पात्रलाई अझै राम्रो रुपमा निभाउन सक्थे ।”
चुनौतीपूर्ण पात्र
सरस्वतीका लागि अहिलेसम्मकै चुनौतीपूर्ण पात्र पुरु लम्सालको लेखन र निर्देशन रहेको नाटक ‘देवकासी’ हो । पहिलो उनले यसमा आफूभन्दा पनि धेरै उमेर गइसकेका ६० वर्षीय वृद्धको भूमिका निभाउनुपर्ने थियो । अर्को भनेको आफ्नोभन्दा फरक गुरुङ जात थियो । भने अर्को महत्त्वपूर्ण चुनौती भनेको उनले निभाएको पात्र ‘कासी’ नाटककी मुख्य पात्र थिइन् ।
त्यसमाथि यो नाटक र अर्को नाटक ‘भुसको आगो’ को रिडिङ सँगसँगै भइरहेको थियो । आज यो नाटकको रिहर्सलमा भने भोलि अर्कोमा जानुपर्थ्यो ।
फेरि देवकासीमा उनी गुरुङ महिला थिइन् भने ‘भुसको आगो’ मा नेवार्नी बनेकी थिइन् । तर एक कुशल कलाकारमा हुनुपर्ने गुण अधिकारीले यो नाटकको क्रममा प्रस्तुत गरिन् । उनले एक पात्रको प्रभाव अर्को पात्रमा पोखिन दिइनन् । भलै यसका लागि उनले आफैंले भने शारीरिक र मानसिक दुवै अप्ठ्यारोपनलाई आफैंभित्र दबाइन् ।
दुवै नाटकको रिहर्सल सँगसँगै गइरहेकाले देवकासीका लागि उनी गुरुङ समुदायमै गएर त्यसलाई प्रत्यक्ष अवलोकन गर्न पाइनन् । उनले निर्देशक र सहकर्मीहरूको सहयोगले आफूलाई यस पात्रका लागि तयार गरिन् । नाटक बंगलादेशमा मञ्चन भइसकेको छ भने नेपालमा हुन बाँकी छ ।
पात्रको तयारी
रंगकर्मी अधिकारी रिहर्सल जानुपूर्व नै आफूले निभाउन लागेको पात्रबारे अनुसन्धान गर्छिन् । त्यसका लागि उनी सम्बन्धित समुदाय र व्यक्तिसँग पनि केही समय घुलमिल हुन त्यही ठाउँ पुग्छिन् । उनी आफ्नो पहिलोनाटक लू पात्रको तयारीमा फर्किंदै सुनाउँछिन्, “मैले लू मा मुस्लिम महिलाको भूमिका निभाउन करिब एक साता दिनदिनै मस्जिद गएर नमाज पढ्नेदेखि नमाज पढ्दा बस्ने पोजिसन पनि सिकेको थिएँ ।”
महिलाहरूलाई शुक्रबार एकदिन मात्रै मस्जिद गएर नमाज पढ्न दिने नियम रहेछ । तर उनको विशेष अनुरोधमा उनलाई दिनदिनै जाने अवसर दिइयो । उनलाई आज पनि नमाज पढ्दाको सुरुमा भन्ने कुराहरू कन्ठ नै छ ।
उनी नाटक सुरु हुनुअघि मात्रै नभई बाटोमा जाँदा होस या कतै जाँदा होस् आफ्नो वरिपरि भएका रियल पात्रहरूलाई नजिकबाट अवलोकन गर्छिन् र त्यसलाई दिमागमा सेट गर्छिन । त्यसको लवज, हाउभाउदेखि पहिरनसम्म याद गर्छिन् र मनमनै सोच्छिन्, “यो पात्रलाई मैले पछि मेरो कुनै न कुनै नाटकमा प्रयोग गर्न सक्छु ।”
यदि सम्बिन्धत व्यक्ति वा परिवेशमा प्रत्यक्ष गएर पात्रलाई अवलोकन गर्न नपाएको खण्डमा उनको अन्तिम विकल्प भनेको युट्युब, किताब नै हो । उनले यति कम समयमा एकपछि अर्को कुनै-कुनै त सँगसँगै पात्रलाई तयार गरिरहेकी थिइन् । एक पात्रको ह्याङ केही समयसम्म कलाकारमै हुने गर्छ । त्यसैले कलकारहरूले केही समय ब्रेक लिँदै काम गर्ने गर्छन् । तर सरस्वतीले त्यो ब्रेक लिने मौका पाइनन् ।
न त उनले एक पात्रको ह्याङ अर्कोमा पर्न दिइन् । उनी भन्छिन्, “यस्तो समयमा दुई पात्र र नाटकबीच फरक छुट्याउन सक्ने र दुवैलाई राम्रोसँग अघि बढाउँदै लैजान सक्ने गुण कलाकारमा हुनुपर्छ । त्यो दुई पात्रमा भिडन्त हुन नदिन मैले आफैमा धेरै झेल्नुपर्यो ।”
उनी पात्र र उसको भावलाई आफ्नो शरीरभित्र भित्रिन दिन्छिन् । किनभने आफूले आफैंलाई झुक्काउनु भनेको दर्शकलाई पनि झुक्काउनु हो भन्ने कुरामा उनी विश्वास गर्छिन् । सरस्वतीका लागि कालो गाजल अनि रातो लिप्स्टिक एकदमै मनपर्ने श्रृङ्गार हुन् । उनी घरबाट निस्किँदा यी दुई चिजबिना निस्किँदैनन् ।
तर उनले एक विधवा पात्र राधाका लागि २ महिना यी दुई श्रृङ्गारबाट टाढै बसिन् । यतिसम्म कि उनले अनुहारमा कुनै क्रिम पनि लगाइनन् । किनभने हाम्रो समाजमा विधवाको अनुहारमा चमक हुनुहुन्न भन्ने सोच छ । त्यसैका लागि उनले पनि आफूलाई सिँगार्न छाडिन् ।
०००
अंग्रेजी साहित्यमा मास्टर्स गरेकी अधिकारी रहरले यस क्षेत्रमा प्रवेश गरेकी हुन् । स्कुलदेखि नै शिक्षक, शिक्षिकाले पढाएर गएपछि शिक्षकहरूले जस्तै क्यारिकेचर गरी साथीहरूसँग रमाइलो गरिरहेकी हुन्थिन् ।
तर कलाकार बन्छु भन्ने सोच नभए पनि उनलाई अभिनयको रहर भने थियो । एकदिन स्नात्तकोतर पढाउने एक शिक्षकले नाटक हेर्न जान सुझाए । सरले ‘थिएटर भिलेजमा ‘मकैको अर्कै खेती’ हेर्न जान सुझाए । साथीहरूसँग सरस्वती नाटक हेर्न पहिलोपटक नाटकघर पुगिन् ।
त्यो नाटकका पात्रहरुलाई सरस्वतीलाई यति धेरै छोयो कि उनले निर्णय लिइन् ‘‘म पनि अब नाटक खेल्छु ।’’ स्नातकसम्म केही बन्छुभन्दा पनि पढ्नुपर्छ अनि डिग्री लिनुपर्छ भन्ने सोच्ने उनले पहिलोपटक नाटकघर जानेबित्तिकै कर्म यसैलाई निर्धारण गरिन् । तर उनकी आमाको सपना यो होइन । आमा उनलाई स्कुल अनि कलेजको शिक्षिका भएको हेर्न चाहन्छिन् ।
पहिलोनाटक गर्दासम्म उनी आमाकै सपनालाई मूर्त रुप दिँदै थिइन । तर पछि नाटकमा आएपछि उनलाई समय मिलेन भनौं वा मन लागेन उनी यतै भुलिन् । तर नाटकमा समय सबै खर्चिनुपर्ने आम्दानी भने नआउने भएकाले आमाले उनलाई अहिले पनि आफ्नो र आमाको दुवैको सपनालाई सँगसँगै लग्न भनिरहने गर्छिन् ।
अहिले सरस्वतीलाई रंगमञ्चमा अघि बढ्न आमाको साथ छ । उनी पनि आमाको सपना त पूरा गर्ने तर अन्य विषयको नभई नाटककै शिक्षिका बन्ने योजनामा छिन् । नाटकले आफ्नो धरातल देखाएको छ । जीवनलाई अझै मज्जाले बाँच्न सिकाएको भन्ने सरस्वती आफूलाई धरातल देखाएको त्यो स्थानमा फर्किन आतुर भइसकेकी छिन् । उनी चाँडै यो परिस्थिति सामान्य भएर अझै फरक-फरक जातका पात्र जिउन पाउनेमा आशामा छिन् ।