काठमाडौं । कोरोना महामारीले सबै व्यापार व्यवसाय ठप्प छन् । महामारीबाट चित्रकलाको बजार पनि अछुतो हुने कुरै भएन । ५ महिनाभन्दा लामो समय भइसक्यो पेन्टिङहरू कलाकारको कोठा, स्टुडियो र ग्यालरीमै सीमित भएको ।
महामारीलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा ल्याउन विभिन्न मुलुक यसको खोप बनाउन जुटेका छन् । महामारी केही महिनामा नियन्त्रणमा आइहाले पनि मानिसहरूको आर्थिक स्थित तङ्ग्रिन केही समय लाग्ने देखिन्छ । अझ चित्रकला (पेन्टिङ) त विलासी कुरामा पर्ने कलाकारहरू बताउँछन् । यस्तो अवस्थामा मानिसहरू आफ्नो अत्यावश्यक कुरा आपूर्ति गर्न छाडेर पेन्टिङमा खर्च गर्छन् त भन्ने प्रश्न उठिरहेको छ ।
तर चित्रकारहरू भने केही समय पेन्टिङको बजारले गति लिन नसके पनि कोरोना भाइरस नियन्त्रणमा आएसँगै मन्द गतिमै भए पनि यसको बजारमा चहलपहल सुरु हुनेमा आशावादी छन् । पेन्टिङ विलासी जीवनमा पर्ने भएकाले यसका ग्राहक पनि मध्यम वर्गीयभन्दा पनि उच्च वर्गका परिवार रहेको कलाकारहरू बताउँछन् ।
जसका कारण ती वर्गका व्यक्तिहरूलाई यो केही महिनाको महामारीले त्यति ठूलो आर्थिक असर नगर्ने भएकाले चित्रकलाको बजारमा पनि उति धेरै असर नपुग्ने उनीहरूको बुझाइ छ ।
अर्को पक्ष भनेको चित्रकलाको बजार आर्थिक पाटोले भन्दा पनि चित्रकलाप्रतिको प्रेम, झुकाव र महत्त्वमा भर पर्ने बताउँछन् । चित्रकलालाई साँच्चै बुझ्ने र प्रेम गर्नेहरूले जसरी भए पनि यसलाई प्राथमिकतामा राख्ने चित्रकारहरू बताउँछन् । साथै हाम्रो चित्रकलाको बजार नेपालमा भन्दा पनि विदेशमा धेरै भएकाले त्यति असर नगर्नेमा पनि उनीहरू आशावादी छन् ।
“अहिले पेन्टिङको बजार पूरै ठप्पै छ,” ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य भन्छन्, “भर्चुअल प्रदर्शनीले लकडाउनमा सिर्जना गरिरहेका कलाकारको काम हेर्न त पाइयो होला तर त्यसले पेन्टिङ बिक्रीमा केही राहत मिलेजस्तो मलाई लाग्दैन ।”
महामारीका कारण ठप्प ठूला उद्योगहरू ‘रिकभर’ हुन समय लाग्ने देखिन्छ । भाइरस पूरै नियन्त्रणमा आए पनि केही वर्ष बजार विस्तार हुन समय लाग्नेछन् । तर त्यसपछि भने चित्रकलाको बजार अझै परिस्कृत भएर आउनेमा कर्माचार्य आशावादी सुनिछन् ।
“चित्रकला किन्ने–नकिन्ने भन्ने चेतनामा भर पर्ने कुरा हो । पछिल्लो समय यसको बुुझाइ र चेतनामा विस्तारै वृद्धि भइरहेको छ । त्यसैले आशा गरौं चेतना वृद्धि भएसँगै यसको बजार पनि वृद्धि हुनेछ ।” साथै पेन्टिङलाई आर्ट थेरापीका रूपमा पनि लिइने भएकाले महामारीबाट निम्त्याएको मानसिक तनाव कम गर्न पनि यसलाई प्राथमिकतामा राख्ने उनको विश्वास छ ।
कर्माचार्यका अनुसार विदेशी बजारसँगै पछिल्लो समय यसको बजार नेपालमा पनि फैलिन थालेको छ । नयाँ–नयाँ संरचना बन्दै गएसँगै पेन्टिङको बजार पनि बढ्न थालेको हो । यद्यपि अझै चाहिने जति नेपालमा यसले बजार लिन नसकेको पनि उनी सुनाउँछन् । यसका लागि कलाकारहरूबाट पनि पहल हुनुपर्ने कर्माचार्य बताउँछन् ।
पफर्मेन्स आर्टमा बढी केन्द्रित रहने कलाकार रवीन्द्र श्रेष्ठ महामारी सुरु भएसँगै चित्रकलामा फर्किएका छन् । साथै उनी 'ब्ल्याक लाइफ म्याटर' भन्ने विषयमा (फिङ्गर प्रिन्ट)ं को सिरिज बनाउने तयारीमा छन् ।
उनका अनुसार नेपाली चित्रकलाको साँघुरो बजारलाई महामारीले झनै ठप्प बनाइदिएको छ । तर अब कलाकारहरू बजार छैन भनेर बस्नुभन्दा पनि आफैंले नेपाली बजार कसरी फराकिलो बनाउने भन्नेतर्फ पनि अग्रसर हुनुपर्नेमा उनी जोड दिन्छन् । महामारीमा कतिपय कलाकारहरू निराश भएर अब यो पेसाको विकल्प खोज्ने योजनामा भएको उनले देखेका छन् ।
“ठमेलको ग्यालरी, विद्यालयमा पढाउने कलाकारहरूलाई ५ महिनासम्म पनि कहीं–कतैबाट आम्दानी नहुँदा गाह्रो त पक्कै भएको छ । मैले चिन्ने कतिपय कलाकारहरू पनि निराश भएर यो पेसा छाड्ने कि भन्ने पनि सोचिरहेका छन्,” उनी थप्छन्, “उनीहरूले आर्ट छाड्न खोजे पनि आर्टले भने उनीहरूलाई कहिल्यै छाड्दैन ।” महामारीले सबै आर्थिक धरोहरलाई नै हल्लाएका कारण त्यहीअनुरूप कलाकारहरूले कलाको बजार बनाउन सक्नुपर्ने श्रेष्ठ बताउँछन् ।
विदेशी कलाप्रेमीहरू अब केही समय नआउने देखिएकाले अब यसको बजार आफ्नै वरिपरि खोज्नुपर्ने श्रेष्ठ सुझाउँछन् । छर–छिमेकी, साथीभाइ र नेपालभित्रै यसको बजार विस्तार गर्दै लैजान सके कलाकार लामो समय यसको मारमा पर्नु नपर्ने उनको बुझाइ छ ।
उनी कलाको बजार ठप्प हुन नदिन विकल्पबारे यसरी सुनाउँछन्, “मूल्य अरू बेलाभन्दा कम राख्ने, बरु यसका लागि ठूलो क्यानभासमा सम्भव नभए सानो–सानो गुणस्तरीय पेपरमा बनाएर आफ्नै चिनेका आफन्त साथीभाइ तथा छरछिमेकलाई आफ्नो आर्ट बेच्न सकिन्छ ।”
उनका अनुसार विदेशी कलाप्रेमीहरूको रोजाइमा नेपालीपन झल्किने, संस्कृति, कलाकौशल, वेशभूषा र सुुन्दर प्रकृति भएका चित्रकलाहरू पर्छन् । त्यसैले अब कलाकारहरूले यस्ता चित्रकलामा बढी फोकस गरे बजार शून्य नहुने पनि उनले बताए ।
चित्रकार मुकेश मल्ल कलाप्रेमीहरूलाई महामारीले कला किन्नमा नरोक्ने बताउँछन् । “तपाईंलाई कुनै लुगा मनपर्यो भने बरु खानेकुरा थोरै खाएर हुन्छ कि जसरी भए पनि त्यो किन्नुहुन्छ । चित्रकलाप्रेमीहरू पनि त्यस्तै हो । पेन्टिङसँगको अट्याचमेन्ट यस्तो हुन्छ कि तपाईं जसरी भए पनि पैसा म्यानेज गरेर किन्नुहुन्छ र आफ्नो कोठामा लगेर सजाउनुहुन्छ,” यो महामारीले लामो समय बजार ठप्प नहुने उनको विश्वास छ ।
उनी १९८० को दशकमा यस क्षेत्रमा लागेका हुन् । त्यसबेलाको बजारभन्दा अहिले धेरै राम्रो रहेको उनको अनुभव छ । उनी विगत सुनाउँछन्, “मैले सुरु गर्दा निकै कम मात्रामा पेन्टिङहरू बिक्री हुन्थे । तर पनि हामी बेच्नका लागि भन्दा पनि सिर्जना गर्ने मोहका कारण पेन्टिङहरू गर्थ्यौ ।”
तर अहिलेका कलाकारहरूमा सिर्जना गर्नेभन्दा पनि आज बनाएर भोलि नै बेचिहाल्छु भन्ने सोच हाबी भएको मल्लको बुझाइ छ । उनका अनुसार चित्रकला भनेको सम्पत्तिजस्तै हो । कलाकारहरूले चित्रकला आजका लागि भन्दा पनि भोलिका लागि भनेर सञ्चय गर्ने भएकाले यसको बजार अरूजस्तो दिनहुँ हुँदैन । कलाकार श्रेष्ठसँगको कुरामा सहमति जनाउँदै मल्ल पनि अब कलाकारहरू आफैंले पहल गरेर आन्तरिक बजार बढाउन लाग्नुपर्ने बताउँछन् ।
कम मूल्यमा आफ्नै चिनेजानेकालाई कला बेच्न सके फेरि यस्तो विपत् आइपर्दा पनि विदेशी ग्राहक कहिले आउलान् भनेर कुरेर बस्न नपर्ने मल्ल बताउँछन् ।
चित्रकार सरीता डंगोलको २००२ मा एकल कला प्रदर्शनीमा आफ्ना पेन्टिङहरू बेचिन् । केही बिक्री भए, केही बाँकी रहे । बाँकी रहेका ती पेन्टिङहरू प्रदर्शनीको ३–४ वर्षपछि बल्ल–बल्ल बिक्री भए ।
उनका अनु्सार पेन्टिङ कलाकारको सम्पत्ति हो । कसैको कला बनाउँदा–बनाउँदै बिक्री हुन्छन् । कसैका वर्षौंपछि हुन्छन् । “धैर्य गर्नुपर्ने रहेछ,” उनले सुनाइन् । त्यसैले कोरोना महामारीले बजार ठप्प होला कि भन्ने डर अरू क्षेत्रमा जस्तो यसमा नपर्ने उनको बुझाइ छ । लकडाउनदेखि अहिलेसम्ममा उनको क्लासिक ग्यालरीले तीनवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भर्चुअल कला प्रदर्शनी गरिसकेको छ ।
हुन त अनलाइन कला प्रदर्शनीमा राखिएका पेन्टिङको बिक्री शून्य छ । तर कलाप्रेमीहरूले सोधखोज भने गरिरहेको उनले बताइन् । कति ग्राहकले स्थिति सामान्य भएपछि किन्ने वाचा पनि गरेका छन् ।
“विश्व नै ठप्प भएका कारण अन्तर्राष्ट्रिय सबै सेवा–सुविधा पनि बन्द छन् । जसले गर्दा कार्गो सेवा पनि बन्द छ । त्यसैले अहिले हामीले विदेशमा पेन्टिङ पठाउन सक्दैनौं,” उनले भनिन् ।
स्थिति सामान्य भएसँगै पेन्टिङको बिक्री हुनेमा उनी पनि विश्वस्त छिन् ।