काठमाडौं । सामाजिक सञ्जालमा आइतबार एउटा तस्बिरले खुब चर्चा पायो । तस्बिरको चर्चा सकारात्मक थियो । तस्बिरमा १४ जना देखिन्छन् । जसमध्ये ७ जनाबाहेक अरू स्पष्ट देखिँदैनन् । दुईजना मुस्लिम रहेको उनीहरूले लगाएको टोपीले स्पष्ट थाहा हुन्छ । तिनैमध्येका एकले अर्का व्यक्तिको कपाल काटिदिँदै छन् । अरू कपाल काटेको हेरिरहेको देखिन्छ । माटोको घैलामा एकजनाले कपाल भिजाउन पानी बोकेको स्पष्ट अनुमान लगाउन सकिन्छ । यसको अर्थ त्यो घाट हो भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।
कपाल काट्दै गरेका व्यक्ति बुबाको मृत्यु भएपछि घाटमा अन्तिम संस्कारका लागि कपाल काट्दै छन् । कपाल काट्ने व्यक्ति हिन्दु हुन् । र उनको कपाल काटिदिने व्यक्ति मुसलमान हुन् । अक्सर मुस्लिम समुदायका व्यक्ति हिन्दु धर्मावलम्बीको अन्तिम संस्कारमा र हिन्दु मुस्लिम समुदायको अन्तिम संस्कारमा विरलै सहभागी हुन्छन् । वीरगन्जमा आइतबार यस्तै दुर्लभ दृश्य देखियो । र त्यो दृश्य कैद गरेको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पायो । तस्बिरमाा देखिएका दुईबाहेक अरू पनि मुस्लिम नै हुन् ।
० ० ०
वीरगन्ज महानरपालिका १३ का लालबाबु साहलाई आठ दिनअघि सास फेर्न गाह्रो भयो । कोरोना पो हो कि उनलाई शंका लाग्यो । उनी पुगे वीरगन्ज हेल्थ केयर । परीक्षण गर्दा जे नहोस् भन्ने कमना थियो, त्यही भयो । अथवा कोरोना पोजेटिभ देखियो । चिकित्सकहरूले भने, ‘यहीँ बस्नुपर्छ ।’ लालबाबु साह अस्पताल भर्ना भए । उनी आफ्नो गाडीका मिस्त्री सेख जमिरुल हकलाई फोन गरेर भन्दै थिए, “मलाई त कोरोना पोजेटिभ भयो । गाडी (ट्रक) के कस्तो छ, राम्रोसँग रेखदेख गर्दै गर्नु है ।”
कोरोना परीक्षण भइरहेको थियो । शनिबार उनको कोरोना रिपोर्ट नेगेटिभ आयो । रिपोर्ट नेगेटिभ आए पनि उनलाई सास फेर्न गाह्रो भइरहेको थियो । अक्सिजनको सहारामा सास फेरिरहेका थिए । अस्पतालले भन्यो, “उहाँलाई कोरोना ठीक भइसकेको छ । अब अरू राम्रो अस्पतालमा लगेर उपचार गर्नू ।”
डाइबिटिज र मुटुका रोगी थिए लालबाबु । परिवारले अस्पतालबाट निकाल्न मानिरहेका थिएनन् । तर अस्पतालले भन्यो, “अरू कोरोनाका बिरामीको उपचार गराउनुपर्छ बेड खाली गरिदिनुस् ।”
परिवार अस्पतालबाट निकाल्न बाध्य भयो ।
परिवारले हेलिकप्टरका लागि काठमाडौं लैजान पहल गर्यो । तर आइतबार बिहान १० बजेभन्दा अगाडि हेलिकप्टर नजाने भयो । आफन्तले लालबाबुलाई पुर्याए बेर्दा अस्पताल गण्डक । “गण्डकमा सुरुमा त अस्पतालले लिनै मानेन तर हामीले अनुनय गरेपछि बल्ल भर्ना गर्यो,” सेख बाह्रखरीसँग भन्छन्, “अस्पतालले उहाँको कान्छो छोरालाई मात्रै बिरामीसँग जान दियो । हामीलाई औषधि किन्न पठाइदियो । छोरा र सालो अस्पताल बसे । म औषिधि दिएर फर्किएँ ।”
बिहान ७ बजे सेखको मोबाइलमा घण्टी बज्यो । निद्रामै आएको फोनले उलाई झस्कायो । नझस्काओस् पनि कसरी ? फोनमा भतिज भन्दै थिए, “काका, बुबा रहनुभएन ।”
लालबाबुका जेठो छोरा रानीपोखरी होटेलमा आइसोलेसनमा छन्, उनलाई पनि कोरोना पोजेटिभ देखिएको छ । काठमाडौंमा मेडिकलका विद्यार्थी कान्छो छोरा एक महिनाअगाडि घर फर्किएका थिए । उनी भने बुबासँगै थिए । सेखलाई फोन गर्ने उनै थिए ।
सेखले सोचे घर लग्यो भने माहोल झन् बिग्रिन सक्छ, त्यसैले एम्बुलेन्स बोलाएर लालबाबुको शव राधेमयी घाट पुर्याउनुपर्छ ।
“छिमेकी र चिनजानको नाताले शवलाई राम्रोसँग व्यवस्थानपन गर्नुपर्छ भन्ने लाग्यो र थप जोखिम नहोस् तथा समाजमा राम्रो सन्देश जाओस् भन्ने सोचेर एम्बुलेन्स बोलाएँ । शव त घाट पुर्याइयो,” शेख भन्छन्, “तर घाट पुग्दासम्म त्यहाँ उहाँको छोरोबाहेक लालबाबुको ज्वाइँ, ज्वाइँ’साबको छोरा र सालोबाहेक कोही थिएन उहाँको समुदाय (हिन्दु) को । हामी सबै मुस्लिम मात्रै थियौं ।”
शव त सेखले जसोतसो घाट पुर्याए । तर अन्तिम संस्कार कसरी गर्ने उनीहरूलाई थाहा थिएन । के गर्ने कसो गर्ने थाहा भएन । “उहाँको सालो त र ज्वाइँ त हुनुहुन्थ्यो तर उहाँहरूलाई पनि अन्तिम संस्कारबारे केही थाहा थिएन । त्यसपछि मैले वडाध्यक्ष तुफान सर (अन्सारी) लाई फोन गरेर बेलाएँ,” सेख भन्छन्, “उहाँ ५ मिनेटमा आइपुग्नुभयो । र उहाँले हिन्दु समुदायलाई बोलाएपछि १०–१२ जना आएपछि उहाँहरूले हामीलाई सघाउनुभयो ।”
वडा १३ का अध्यक्ष तुफान अन्सारी काम विशेषले त्यहीँ पुगेकाले बोलाउनेबित्तिकै घाट पुगे । मृतक हिन्दु थिए । तर घाटमा मलामी मुस्लिम समुदायका १०–१२ जना व्यक्ति मात्रै थिए । अन्सारीलाई सेखले भनेजस्तै लाग्यो आफ्नो हिन्दु परमपराअनुसार दाह–संस्कार त गर्नुपर्छ ।
“त्यहाँ म पुग्दा हाम्रो (मुस्लिम समुदायका १०–१२ जना मात्रै देखेँ । अरू कोही थिएन । एम्बुलेन्स चालक भाइले मैले कपाल छिल्दिँदा हुन्छ भने मलाई आउँछ भने । हुन्छ भनेपछि भाइले कपाल काटिदिनुभयो,” वडाध्यक्ष अन्सारी भन्छन्, “मैले मेरै वडा–सदस्य राजकुमार महतो कोइरीलाई फोन गरेर यहाँ अन्तिम संस्कारका लागि हिन्दु समुदायका मान्छे कोही भएन बोलाएर लिएर आउनुस् भनेर मैले खबर गरेपछि उहाँले १०–१२ जना मान्छे बोलाएर लिएर आउनुभयो ।”
त्यहीँ थिए हजाम अर्थात् पेसाले कपाल काट्ने व्यक्ति । सेखले कपाल काटिदिन आग्रह गरे । तर उनले नमानेपछि एम्बुलेन्स चालकले तपाईंको विधि विधानले हुन्छ भने मलाई कपाल काट्न आउँछ म काटिदिउँ भनेर काटिदिएको सेखले सुनाए ।
“त्यो बेलासम्म हाम्रै समुदायका साथीहरूले शव जलाउन दाउरा खोजेर बन्दोबस्ती गरिसकेका थिए । उहाँहरू नआउँदासम्म हिन्दु संस्कारअनुसार सोध्दै हामीले अन्तिम संस्कारको काम गरिरहेका थियौं,” वडाध्यक्ष अन्सारी भन्छन्, “मलाई यति थाहा छ, उहाँलाई कोरोना देखिएको थियो । त्यसपछि के भयो, मलाई थाहा छैन मृत्यु भयो भनेपछि म स्पटमा पुगेर मानवताका हिसाबले म र मेरो समुदायका साथीले सहयोग गर्यौं । कुन धर्म र जातिभन्दा पनि हामी पहिला मानव जाति हौं । अनि मात्रै धर्म र समुदायका व्यक्ति हौं ।”
लालबाबु गाउँका गिनेचुनेका व्यक्ति थिए । गाडी मालिक पनि भएकाले चिनजान पनि ठूलै थियो ।
“लालबाबु ट्रक मालिक गाउँमा उहाँको ठूलो चिनजान छ । जहाँ हामी दाउरा किन्न गयौं त्यहाँ उहाँका आफन्त, गाउँले र चिनजानका थुप्रै थिए । तर चिताको आगो फुक्न कोरोनाको डरले कोही आएन,” सेख नैतिकता गुम्दै गएका नेपाली समाजको कुरा गर्छन्, “हामी चिनजान र एउटै गाउँमा सँगै बसेको नाताले गएका हौं । तर हामी आफन्त होइनौं । मानवता र सहयोग नै ठूलो धर्म हो भनेर गएका हौं । हिन्दु र मुस्लिम त पछि आउने कुरा रहेछ ।”
“सर समाचारका लागि हो ?” सेखले दिनभरीको कहानी सुनाइसकेपछि अन्तिममा आग्रह गरे, “रोगले पराइलाई आफन्त र आफन्तलाई पराइ बनाउँदोरहेछ । आफ्नै जेठो छोरो पनि दागबत्ती दिन आउन पाएनन् । हामीले त छिमेकीको नाताले मानवीय धर्म निभाएको मात्रै हो, नराम्रो हुने कुरा केही नलेख्दिनुस् है ।”
कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको अन्तिम संस्कारका लागि कोरोना सर्ने त्रासले आफन्त नै सहभागी हुन डराउने गरेका छन् । केही समयअगाडि पोखरामा शव व्यवस्थापनका लागि स्थानीय र नेपाली सेनाबीच पटक–पटक झडप नै भएको थियो ।