युवा गतिशील सक्रिय जीवन हो । समाजमा युवाप्रतिको भरोसा उसले परिणामदायी काम गर्नसक्ने विश्वासले जगाएको हो । परिवारका पाका सदस्यले घरका युवालाई ‘अब तिमीहरुकै पालो हो’ भन्ने कारण यही विश्वास हो र पुस्तान्तरणको अनिवार्य सर्त पनि यही हो । समाजले युवाको सिर्जनशील वयप्रति भरोसा राख्छ । रचनात्मक बन्न पनि सक्ने र ध्वंशको वाहक पनि हुने तन्देरी उमेरलाई परिस्थितिले समेत प्रभावित गर्छ र डोर्याउँछ ।
विश्वभर युवा शक्तिको खोजी वा परिचालनको उद्देश्य देशलाई समुन्नत बनाउने अपेक्षाले प्रेरित छ तर अधिकांश देशको राजनीतिमा भने ज्येष्ठ सदस्यले नै नेतृत्व लिएका छन् । अपवादबाहेक राजनीतिमा युवक, युवतीको नेतृत्व पनि पाकाहरुकै लयमा हिँडिरहेको देखिन्छ । नेपालको राजनीतिक सन्दर्भमा भएकाले अन्य व्यवसाय(पेसा)मा युवाको स्थान र भूमिकाको यहाँ चर्चा गरिएको छैन ।
स्वाभाविक हो, राजनीतिमा एकैचोटि शीर्ष तहमा पुग्न सम्भव हुँदैन । निरन्तर लगावको क्रमिक प्राप्ति हो राजनीतिक नेतृत्व पनि । निरन्तर समर्पणले उपल्लो नेतृत्वमा पुग्दा अहिलेका युवा प्रायः प्रौढ अवस्थामै पुग्ने हुन् । आशक्तिको रोग चाहिँ ज्यादै जेठो भइसक्दा पनि पदीय आकर्षणमा लालायित रहनु हो । जेठो पनि अन्यथा मानिदैन उसमा सिर्जना, गतिशीलता र वर्तमानलाई सम्बोधन गर्नसक्ने क्षमता छ भने । विश्वमा यस्ता उदाहरण बग्रेल्ती छन् ।
नेपाली राजनीतिमा जेठो र आफ्नो सान्दर्भिकता अब सिद्ध गर्न नसकेकाहरुको हालीमुहाली छ । नेतृत्वमा युवाको उदियमान हिस्सा पनि प्रशस्त छ । यहाँका ठूला र साना राजनीतिक दलमा युवाको सहभागिता धेरथोर छ नै । नेपाली कांग्रेसमा युवा जमात ठूलो छ । केन्दी्रय समितिमा आधाको हाराहारीजस्तै युवा छन् । नेपाल कम्युनिस्ट पार्टीको पनि दृश्य यही हो । उपल्लो नेतृत्वमा पुग्ने बाटो त यही हो तर प्रश्न हालीमुहालीमाथि तिनको न्यायिक र निर्णायक उपस्थितिको मात्रै हो ।
यतिबेला पुनः युवा नेतृत्वको चर्चा निकै छ । जब दलभित्र संकट र विवाद चुलिन्छ वा यिनको महाधिवेशन तथा नेतृत्व चयन नजिक हुन्छ तब युवा नेताको याद निकै गरिन्छ । भनिन्छ, युवा सक्रियताको प्रतीक, विवेक विचारको वाहक र नैतिक चरित्रको हुन्छ, हुनुपर्छ । ऊ वाद, विवाद र संवादमा उत्रिन सक्छ । यो कसीमा नेपालका युवालाई घोट्नेहरुले सधैं उनीहरुप्रति अपेक्षाकै आग्रह गरिरहनु परेको छ ।
तन्देरी उमेर युवाको लागि स्वर्णीम अवसर हो । तर, यतिमात्रै पर्याप्त हुन्छ त युवाको प्रभाव बुझ्न ? राजनीति स्वयंमा पारदर्शी परिणाममा देखिन्छ । राजनीतिमा सम्बद्ध युवक, युवतीको निरन्तर गतिशीलता र राम्रो गर्ने मनसुबा छ भने त्यो बाहिर आइरहन्छ, देखिन्छ । केहीले त्यस्तो उदाहरण बन्ने कोसिस पनि गरेका छन् । तर, राजनीति नामको खुट्टा तान्ने प्रवृत्तिले तिनलाई प्रभावहीन देखाउने दुष्टता प्रशस्त गरेको छ ।
युवाको एकीकृत चिन्तनधार बन्न दिइँदैन, बन्न कोसिस गरे छिन्नभिन्न पारिन्छ । पद र अवसरको बल्छीले तानिन्छ । युवा पनि मानिस हो र मानिसमा आत्मकेन्द्रित हुने प्रवृत्ति ज्यादै हुन्छ । पिछडिएको नेपाली समाजमा यो प्रवृत्ति अरु बढी हुनेरहेछ । यही आत्मकेन्द्रित अभिव्यक्तिलाई उदात्तभावको लगाम कस्न नसक्दा भरोसा गरिने युवा जमात बरालिन्छ । टुट्फुट हुन्छ । नेपालमा अधिक यही देखिएको छ ।
यतिबेला राजनीतिमा लागेका र नेतृत्वमा पुग्ने प्रबल सम्भावना भएका युवाको बहुसंख्यक हिस्सालाई अविवेकको बन्दी बनाइएको छ । एकाधलाई छोडेर उनीहरुलाई खाऊ, कमाऊ सिकाइएको छ । पैसा, पद र स्रोत, सुविधाको लोभमा वशीभूत बनाइएको छ । सरकारी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सत्ता त भ्रष्ट अखाडा भएको टिप्पणीमाथि थप टिप्पणी गर्नुपर्ने बाँकी रहेन । भ्रष्टताको कमाइ युवा विवेको खरिदमा पनि लगानी गरिएको छ । प्रतिपक्षी सत्ताको आन्तरिक व्यवहार पनि यस्तै चरित्रको छ । सरकारी सत्ताले राज्यस्रोतमाथि लुटपाट गरेको छ, फरक यत्तिमात्रै हो, चरित्र समान उही ।
विचार र विवेकको राजनीति छैन । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालापछिको राजनीतिमा इमान र सादगीको सेवाभाव स्खलित छ । तेरोमेरो, असहिष्णु पक्षपातले राजनीतिलाई पक्षाघात गरेको छ । नेतृत्व तह देशका हरेक विषयमा असंवेदनशील छ । ओठे भनाइ र व्यवहारमा तादात्म्य छैन । विपरीत तर सही विवेक बोल्ने र तर्क दिनेलाई सिद्ध्याउने उपक्रम चलेको छ । समाज राजनीतिक प्रभावबाट मुक्त हुनसक्दैन तर ऊ चाहन्छ राजनीति प्रजातान्त्रिक होस् – विवेकी र सामाजिक बनोस् ।
समाज यही छट्पटाइले नेपालको राजनीतिमा सुध्रिएको युवा नेता आओस् भन्ने चाहन्छ तर तिनको चाहनाले नेताको दिमाग उघार्दैन र परिणामको हैसियत कमै राख्छ । यस्तो अँध्यारोमा दिमाग उघार्ने र उज्यालो भरोसा दिने सम्बद्ध युवा जमातले नै हो । अहिले के छ र कस्तो हुनुपर्छ ? त्यो युवाले बुझेका पनि छन् तर धेरै अन्त कतै लठ्ठिएका छन् । ‘अनहोनी’लाई ‘होनी’को थपडी दिइरहेका छन् ।
नेपाली कांग्रेस ‘अनिश्चित’ महाधिवेशनको संघारमा छ । तोकिएको मितिमा हुने भरोसा भत्काइँदै छ । तै पनि कुनै मितिमा होला भन्ने आशमा नेतृत्व लिनसक्ने छवि देखाएको युवातिर समाजले हेरेको छ । राजनीतिक उद्यमको उत्पादन भोग्न समाज अभिशप्त छ । त्यसैले राजनीति राम्रो होस् भन्ने समाजको अनुरोध स्वाभाविक हो । नेपाली कांग्रेसका युवा ‘नेता’सँग अवसर छ, चुनौती छन् र विकल्पहरु पनि छन् । त्यही पोखरीका यिनीहरुले त्यो बुझेकै कुरा हो । मात्र पोखरीलाई निरन्तरको वहाब र स्वच्छता दिने सवाल हो ।
कांग्रेसका बाह्रजना युवाले सभापति शेरबहादुर देउवाले गर्दै रहेका विभागहरुको गठनलाई असामयिक, अवैध र पद केन्द्रित कार्यको अर्थ आउने गरी संयुक्त वक्तव्य मार्फत चुनौती दिएका छन् । घोषित महाधिवेशनको तयारीका बेला सभापतिलाई विधानको रक्षक, पालक हुन र प्रजातान्त्रिक मर्मको अनुकूल हिँड्न सुझाएका छन् । यो सानो र उपेक्षा लायक चुनौती वा सुझाव होइन र बाह्रजना मात्रैको भनाइ पनि होइन । यसमा ठूलो समूहको भाव र आग्रह निहित छ । यो आवाज सभापतिको निर्णय प्रक्रियाको मूल्यांकन पनि हो । तर, उनीहरुको अनुरोधलाई सम्मान गर्ने आन्तरिक लोकतन्त्र र पार्टी सभापतिको भूमिकाको चाहिँ बखान गर्नै परेन । निर्णय भन्छौ त ? जोरी खोज्छौ त ? भनेजस्तो देखिएकै छ ।
युवाले यस्तै प्रकारको जमर्को यसअघि पनि गरेका थिए । त्यसबेला यही समूहका एक प्रभावशालीले आफूहरुको प्रयासलाई सघाउन फोन गरेको सम्झना छ । अहिले भावना के छ थाहा छैन, भरोसा र असल उनी आज दिइएको गुरु गम्भीर पदीय दायित्वमा छन्, स्वाभाविक हो । यसपछि त्यो समूह धेरै दिन टिकेन टुट्यो, निस्क्रिय बन्यो । उनका प्रतिको भरोसा किन यतिबेलै टुट्न सक्दैन भने त्यो भरोसा उनैले आर्जन गरेका हुन् । दायित्वको यात्रा र भरोसालाई सँगै लानसक्नेहरु पनि हुन्छन् । समाजको भरोसा सायद् यहींनेर अडिएको पनि हुन्छ । अहिले देखिएको समूह पुनः त्यस्तै निस्क्रिय वा निष्प्रभावी र क्षणिक वा भत्काइने खालको नहोस् भन्ने चाहिं छ ।
नेपाली राजनीति घृणाले भरिएको छ । त्यसको नकारात्मक चाङमा खोज्दा सकारात्मक अवशेष भेटिन इतिहासबाहेक वर्तमानमा मुस्किल पर्ने भएको छ । यस्तो बेला समाजले हेर्ने पुस्तान्तरित सम्भावित नेतृत्वप्रति नै हो । नेपाली कांग्रेसमा भनिने युवा नेता वा युवापंक्ति र मताधिकार भएका अग्रजहरुले पनि यही परिवेश र चुनौतीबीच विकल्प खोज्ने हो, रोज्ने हो वा दिने हो । भावी नेतृत्वले विचारको, गतिको र आन्तरिक लोकतन्त्रको चरित्र पुनः बसाओस्, अहिले खोज्ने र रोज्ने यही हो । अन्यथा कांग्रेस, कांग्रेस नै होस् भन्नेहरु पछुतो हात लाग्ने कुरामा ढुक्क भए हुन्छ ।
निश्चय पनि अबको कांग्रेस नेतृत्व दोस्रो पुस्ताको उपल्लो प्रौढमा सर्ने छ, सर्नुपर्छ । यसपटकलाई युवा नेतृत्वले महामन्त्रीदेखि विभिन्न पद र सदस्यहरुमा व्यापक उपस्थिति जनाउनुपर्छ । यो सहज र स्वाभाविक छ । सभापतिमा पुग्ने प्रौढले पनि त्यही युवा जमातलाई समेट्नुपर्छ, प्रेरित गर्ने र उदारता साथ, सहयोग दिनुलिनुपर्छ । यसको अर्थ अग्रजलाई उपेक्षा गर्ने भन्ने होइन । उनीहरुको स्थान, मान पनि सुनिश्चित गरिनुपर्छ । पार्टी संगठन सबै उमेर, योगदान र अनुभवको समष्टी सञ्चालन हो । सक्रियहरुको मात्रै होइन, शुभेच्छुकहरुको पनि सहभागी हुने स्थान, सम्मान र भरोसा संगठनले दिनुपर्छ,उनीहरुको सहयोग बटुल्नुपर्छ ।
नेपाली कांग्रेसको अग्रज पुस्तामा पछिल्लो तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालासम्मले इमान, चरित्र र विवेकको राजनीति बचाउनु भयो । उहाँले बनाउन चाहेको पार्टी विभागहरु अहिलेका सभापति, त्यतिबेला वरिष्ठ केन्द्रीय सदस्य शेरबहादुर देउवाको विरोधपछि स्थगन गरिएको घटना स्मरणले पनि धेरै कुरा बुझाउँछ । आन्तरिक लोकतन्त्रको मर्यादा र साथीको कुरा सुन्ने सभापति सुशील कोइराला नै कांग्रेस इतिहासमा अन्तिम नेतृत्व हो त ?
युवा नेता संकट वा महाधिवेशनको मौसममा खोजिने उदाहरण यतिबेला सरकारी नेकपामा पनि छरपस्ट छ । नेकपाभित्र प्राप्तिको द्वन्द्वमा रहेका दुवै पक्षले बहुमत युवा कार्यकर्तालाई आफूतिर तान्न साम, दाम, दण्ड, भेद अपनाएको सबैको जानकारीमा पुगेकोले थप चर्चा आवश्यक रहेन । युवाले विवेक र विचारमाथि लोभको शासन चल्न दिनु भएन ।
युवा नेतृत्वको खोजी मौसमीजस्तै छ । यसमा युवाले सम्भावना त देखाए तर त्यही अनुकूल निरन्तर निर्णायक रहने प्रयत्न गरेनन् । हिँडेको विचारलाई सान्दर्भिक र सामूहिक चिन्तन वा व्याख्या दिएनन् र सकेनन् । यही कारण समाजले उनीहरुको मौसमअनुसार खोजी गर्ने बानी बस्यो । संकटको मौसममा नेताले खोज्ने भए । भोक जाग्नु भोजन पाउन हो, युवा भोक जागिरहनु पर्यो, मौसमी फलमात्र हुनुभएन । अन्त्यमा जन्म दिन पनि हो, इमानका अन्तिम राजनेता सुशील कोइरालाको । उनै युवाको प्रेरणा बनून्, राजनीति सुध्रियोस्, नेपाली कांग्रेस बचोस् । कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि !