काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १२ आरोप लगाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीइतर समूहले बुधबार राजधानीमा गोप्य पत्रकार जमघटको आयोजना गरेको थियो । जमघटमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटीका रघुजी पन्त, पम्फा भुसाल उपस्थित थिए । अनौपचारिक भनिएको पत्रकार जमघटमा नेता नेपालले ओलीले समयमा बैठक नबसेको र बैठक बसे पनि गम्भीर छलफल र विमर्श हुन नदिएको आरोप लगाएका हुन् ।
“ओलीले कहिले पनि महत्त्वपूर्ण विषयमा छलफल हुन दिनुभएन । बैठक चलिरहेका बेला बैठकको बीचबाटै उठेर हिँडिदिने गर्नुभयो । त्यसो हुँदा पार्टी विधि, पद्धतिमा कहिल्यै चल्न सकेन,” उनले भने ।
नेता नेपालले ओलीले पार्टीको अध्यक्ष बन्न नसकेको र निरन्तर गुटगत गतिविधिलाई जारी राखेको निष्कर्ष निकालेका छन् । “पार्टीलाई विधिबाट विमुख बनाएर कागजमा सीमित राख्नुभयो,” नेपाल आफ्नो तर्कमा उभिए ।
ओलीले जनसंगठन, निकाय, विभागलाई पूर्णता दिन र एकताको कार्यभार पूरा गर्न नसकेको नेपालले आरोपित गरेका थिए । प्रधानमन्त्री ओलीले आफूखुसी, मनपरी ढङ्गले, अयोग्य र आफ्नो गुटका मानिसहरूलाई गोजीबाट फुत्त निकालेर नियुक्ति दिएको भन्दै नेपालले अर्को आरोप लगाएका थिए ।
भ्रष्ट, आसेपासेको संरक्षण हुने गरेको र आफ्नो गल्ती ढाकछोप गर्न, लुकाउन पार्टीका अरू सदस्यलाई, नेतालाई हिलो छ्याप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीप्रति नेता नेपालले आक्रोश पोखेका थिए । नेपालले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा प्रोत्साहन गरेको, भ्रष्ट र आसेपासेहरूको संरक्षण हुने गरेको, आफूसँग असहमत हुनेहरूलाई शत्रुतापूर्ण व्यवहार गरेको आरोपित गरेका थिए ।
नेता नेपालले ओलीले पार्टीलाई विसर्जनको अवस्थामा पुर्याएको आरोप थपेका थिए । सरकार सञ्चालन पार्टीको सल्लाहमा नहुने गरेको र सरकारको काम सञ्चालनमा समेत गम्भीर प्रश्न चिह्न खडा भएको, सरकारको कामले पार्टीप्रति नै निराशा छाएको नेपालको आरोप थियो ।
गोप्य भेलामा प्रचण्डको ब्रिफिङ– पार्टी फुट्ने खराब परिस्थिति आउन सक्छ
ओलीको नेतृत्वबाट पार्टीलाई नोक्सान मात्रै पुगेको, कुनै पनि सुधार वा आलोचना असहिष्णु हुने गरेको र पार्टीभित्र चरम व्यक्तिवाद, आत्मकेन्द्रित चिन्तन हुर्काएको नेपालको आरोप छ । ओली कूटनीतिक, परराष्ट्र मामलामा पनि अयोग्य, अक्षम भएको, देशलाई गम्भीर नोक्सान पुर्याएको नेपालको ठहर छ ।
“विषय यहाँ हो । तर, पदको हारालुछ हो, पदको लुछाचुँडी हो । पदका निम्ति माधव नेपाल बालुवाटार गएर प्रभु मलाई बनाइदिनुपर्योे भन्यो भनेर समाचार सम्प्रेषित गराइन्छ,” नेपालले भने । नेपालले अहिलेको अन्तरसंघर्ष पदको लडाइँ नभएकोमा प्रस्ट हुनुपर्ने धारणा राखेका थिए ।
“यो पद र सुविधाको लडाइँ होइन । यो पार्टीलाई क्रान्तिकारी, गतिशील बनाउने, पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्ने, पार्टीभित्र राम्रो संस्कार र संस्कृति हुर्काउने, कार्यकर्तालाई राम्रोसँग परिचालित गरेर, अनुशासित तुल्याएर पार्टीलाई सबै हिसाबले जनताका बीचमा स्थापित गराउने कुरासँग जोडिएको छ,” नेता नेपालको भनाइ थियो ।
‘प्रतिक्रियावादीले पार्टी फुटाउन खोजे, पदका लागि मरिहत्ते गरेका होइनौं’