site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोप्य भेलामा प्रचण्डको ब्रिफिङ– पार्टी फुट्ने खराब परिस्थिति आउन सक्छ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओलीइतर समूहले बुधबार गोप्य पत्रकार सम्मेलनको आयोजना गरेको छ । अनौपचारिक नाम दिएको पत्रकार भेटघाट (जमघट) मा ओलीइतर समूहका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटीका पम्फा भुसाल र रघुजी पन्त सहभागी थिए ।

राजधानीको थापागाउँमा रहेको एक कलेजमा आयोजना गरिएको जमघटमा ३८ मिनेट बोलेका प्रचण्डले सम्बोधनको उत्तरार्द्धमा पार्टी विभाजन हुन सक्ने भन्दै मानसिक रूपमा तयार रहनुपर्ने बताएका थिए ।

पार्टीभित्रको अन्तरविरोध चर्काउन भेला–अन्तर्क्रियाको आयोजना गरेको होइन भन्दै प्रचण्डले पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई रूपान्तरण गरेर पार्टी एकता सुदृढ तुल्याउन खोजेको जिकिर गरेका थिए । अहिलेको बहसलाई केवल पद बाँडफाँड, लेनदेनका रूपमा नबुझ्न र सैद्धान्तिक मतभेद नै भएको आग्रह गरेका थिए ।

“राम्रोभन्दा राम्रो परिस्थिति तयार गर्न हामी लाग्नुपर्छ । हामी कम्युनिस्टहरू खराबभन्दा खराब परिस्थितिका लागि पनि तयारचाहिँ हुनुपर्छ । सबैकुरा हाम्रो मात्रै हातमा हुँदैन,” प्रचण्डले सम्बोधनका क्रममा भने, “वर्गसंघर्ष, समाज विकास र प्रकृतिको नियमअनुसार पनि अहिले कोरोना आउला भनेर, संसारभरी यस्तो समस्या, संरचना पैदा गर्ला भन्ने कुरा ४ महिनाअघिसम्म हामीलाई केही थाहा थिएन, सोचिएको पनि थिएन ।”

उनले थप भने, “विश्व अर्थतन्त्र, राजनीतिक प्रणाली, सोच्ने तरिकामा पनि परिवर्तनको आवश्यकता बोध गरायो । अहिले पनि समस्या निम्त्याइरहेको छ, हामी त्यसको सामना गर्न तयार रहनुपर्छ । हामी कम्युनिस्ट, प्रगतिशीलहरूले राम्रोभन्दा राम्रो परिस्थिति बनाउन लाग्ने तर खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार भएर बस्नुपर्छ । किनभनेर खराब परिस्थितिका लागि मानसिक रूपमा तयार भइएन भने परिस्थिति आइहाले मानिस अताल्लिएर डिप्रेसनमा जाने खतरा पैदा हुन्छ ।”

‘प्रतिक्रियावादीले पार्टी फुटाउन खोजे, पदका लागि मरिहत्ते गरेका होइनौं’

एकता अक्षुण्ण राख्न चाहे पनि सबै आफ्नो हातमा नभएको उनको भनाइ थियो । “अर्को पक्ष हामीले भन्दाभन्दै पार्टी दर्ता गर्न जाने, नगरौं बाबा भन्दाभन्दै देशभरी जुलुस निकाल्न जाने, भन्दाभन्दै एकलौटी निर्णय गर्दै जाने, हिजै देखिहाल्नुभयो । एकातिर वार्ता-संवाद भइरहेको छ, अर्कोतिर नियुक्ति एकलौटी हुँदैजाँदा पार्टी एकतालाई मद्दत गर्छ त ?” उनको प्रश्न थियो ।

प्रचण्डले एकता बचाउन प्रधानमन्त्री ओली पक्षसँग वार्ता, संवाद छलफल जारी राखेको भए पनि खराब परिस्थितिका लागि पनि तयार रहन आग्रह गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro