
जनकपुर । भोलि (बुधबार) अयोध्यामा आयोजना हुने ‘श्री राम मन्दिर निर्माण कार्य प्रारम्भ समारोह’ मा सहभागी हुन जानकी मन्दिरका महन्त रामतपेश्वर दास ‘वैष्णव’ मंगलबार त्यहाँका लागि जनकपुरबाट हिँडेका छन् ।
सोमबारै कार्यक्रम आयोजकको तर्फबाट औपचारिक आमन्त्रण पत्र प्राप्त गरेपछि पहिलेदेखि नै तयारी गरिएको पूजा सामग्री लिएर त्यसतर्फ निस्केका महन्त दासलाई भारतीय नाकामा नेपाली सुरक्षाकर्मीले रोकेका थिए । विश्वव्यापी महाव्याधि नियन्त्रण गर्ने प्रयास स्वरुप नाका बन्द गरिएको बताउँदै सुरक्षाकर्मीले महन्त दासलाई भारत प्रवेश गर्न रोकेपछि उनी सीमानाकाबाट फर्किनुपरेको थियो ।
अयोध्यामा राम मन्दिर निर्माण कार्य प्रारम्भ गर्नु अघि भोली भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भूमिपूजन गर्ने कार्यक्रम तय भएको छ ।
उक्त कार्यक्रममा मिथिला (नेपाल) को प्रतिनिधिको रुपमा सहभागी हुन जानकी मन्दिरका महन्त दासलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पन रायले दुई अगस्तको दिन पत्र लेखेका रहेछन् । उक्त पत्र तीन अगस्त अर्थात् हिजो (सोमबार) जानकी मन्दिरमा आइपुगेको थियो । उक्त आमन्त्रण पत्र प्राप्त हुनासाथ पूर्व तयारी कार्यक्रम अनुसार महन्त दास त्यसतर्फ प्रस्थान गरेका थिए । तर, सीमानाकामा स्वदेशी सुरक्षाकर्मीले नै सीमापारी जान नदिएपछि यो विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।
“नेपाल र भारतबीच सरकारी स्तरमा आफ्नो छुट्टै सम्बन्ध छ । दुई देशबीचको उक्त सम्बन्ध र अयोध्या (भारत) तथा मिथिला (नेपाल) बीचको अलग्गै सम्बन्ध रहेको हामीले बुझ्नु आवश्यक छ” जानकी मन्दिरका महन्त दासका सहयोगी रामरोशन दासले बाह्रखरीसँग भने, “हामी (मिथिला र अयोध्या) बीच औपचारिक र अनौपचारिक रुपमा निरन्तर समन्वय र सहकार्य चलिरहन्छ । यस्तै सिलसिलामा भारतकै लागि ऐतिहासिक कार्यको रुपमा भोली अयोध्यामा राम मन्दिर निर्माण कार्य सुरु हुन गइरहेको छ, जसको पूर्वतयारी कार्यमा जानकी मन्दिर पनि पहिलेदेखि सक्रिय थियो, छ र सहभागी हुन महन्त जी त्यस तर्फ आज प्रस्थान पनि गर्नुभयो ।”
रामरोशनका अनुसार अयोध्यामा भूमिपुजन गर्न मिथिलाको माटो अपरिहार्य छ । जानकी (सीता) को जन्मभूमि र समाधिस्थल रहेको मिथिलाको माटो बिना राम मन्दिरको सिलान्यास सम्भव नरहेको बताउँदै उनले थपे, “उक्त भूमिपुजन कार्यका लागि जानकी मन्दिरको तर्फबाट चाँदीको पाँचवटा ईटा र यो धर्तीको माटो लगिएको छ ।”
राम मन्दिर निर्माणका लागि भूमि पुजन समारोहमा जानकी मन्दिरका महन्तलाई मिथिला र नेपालकै प्रतिनिधिको रुपमा समेत आमन्त्रण गर्ने पूर्व जानकारी रहेको र सोही अनुरुप पूर्व तयारी गरिएकोमा सोमबार मात्रै औपचारिक पत्र प्राप्त भएपछि लगत्तै त्यसतर्फ निस्किने कार्यक्रम तय भएको रामरोशनले बताए । तर, सुरक्षाकर्मीले रोकिदिएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर अनुमति पाएपछि आफ्ना सहयोगीहरुसहित पाँच जनाको टोली लिएर महन्त दास अयोध्या प्रस्थान गरेको उनले बताए ।
“पहिला अयोध्या जान कुनै औपचारिकता पुरा गर्नुपर्ने झन्झट त थिएन । सायद अहिले गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने भएको छ” रामरोशनले बाह्रखरीसँग भने, “जानकारी पाएपछि आजै (मंगलबार) सिडिओसाबले लिखित अनुमति दिनुभयो र उहाँ (महन्त) लाई अयोध्या जान सहज भएको छ ।”
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने जानकी मन्दिरका महन्तलाई अयोध्या (भारत) जानको लागि भनेर कुनै अनुमति पत्र नदिएको र त्यसको वारेमा कुनै जानकारी पनि नभएको बताउँछन् । उनी भन्छन्, “अयोध्या र उत्तर प्रदेश जानका लागि अनुमति होइन, जिल्लामा निषेधाज्ञा जारी गरिएको अवस्थामा सवारीसाधन प्रयोग गरेर सीमापारी जानुपर्ने उहाँ (महन्त) को आवश्यक्ता देखिएपछि सीमासम्म जान सवारी पास मात्र दिएको हुँ ।” अयोध्या वा भारत जानका लागि गृहबाट अनुमति पत्र आवश्यक रहेको भन्ने विषयमा त्यस्तो औपचारिकता नरहेको उल्लेख गर्दै उनले आफुले महन्त दासलाई सवारी पास उपलब्ध गराइदिएको बताए ।