site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नवराज सुवेदी नजरबन्दमै हुन् ? भन्छन्–राजसंस्था त आउँछ आउँछ !

काठमाडौं । चैत १५ गते विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा काठमाडौंको तीनकुनेमा भएको अराजक प्रदर्शनपछि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी घरबाट निस्किएका छैनन् ।

उनी भन्छन्– सरकारले घरमै नजरबन्दमा राखेको छ । बाहिर निस्कन दिँदैन । 

प्रहरीको दाबी छ– हामीले नजरबन्दमा राखेका छैनौँ । 

तर सुवेदीको निवासबाहिर भने केही प्रहरी अधिकारी तैनाथ छन् । सुवेदीको निवासमा प्रवेश गर्दा भने उनीहरुले परिचय माग्ने गरेका छन् । तर काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारी भन्छन्– नवराज सुवेदीलाई हामीले नजरबन्दमा राखेका छैनौँ । भेट गर्न कसैसँग अवरोध छैन । उहाँले के आधारमा भन्नुभयो थाहा छैन ।” 

आइतबार बाह्रखरीकर्मी निवासमा पुग्दा सुवेदी एक्लै बसेका थिए । तर उनलाई भेट्न लगत्तै समितिका सहसंयोजकसमेत रहेका जगमान गुरुङ, पूर्वमन्त्री हरिबहादुर बस्नेतलगायत पुगेका थिए ।

बाह्रखरीसँग केहीबेर कुराकानी गर्दै सुवेदीले तीनकुने घटनामा मूलधारका मिडियाले आफूहरुको समर्थन नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले तीनकुने घटनाको वास्तविकता बाहिर नआएको भन्दै त्यसका लागि नै न्यायिक आयोग माग गरिएको हुँदा त्यसमा पनि ‘झोले न्यायाधीश’ राखिए आफूहरुलाई मान्य नहुने बताए ।

“त्यति ठूलो घटना घट्यो । तर एक शब्द पत्रकारले बोलेनन् । यस्तो पनि चौथो अंग हुन्छ ? मूलधारका मिडिया कहाँ थिए ?,” आक्रोश व्यक्त गर्दै भने, “मोबाइल नभएको भए हामी अहिले हत्यारा भइसक्ने रहेछ ।”

उनले पत्रकार सुरेश रजकलाई पनि राज्यले मारेको आरोप लगाउँदै भने, “एकजना पत्रकार मारिए । कसले मार्‍यो ? प्रहरी माथि छ भनेर गएका हुन्,  पत्रकारबाट सबै कुरा खुल्ने भयो भनेर कसले मार्‍यो त्यो चाहिँ भन्दिनँ ।”
उनले त्यसका लागि पनि न्यायिक आयोग चाहिएको बताए ।

“न्यायिक आयोग चाहिन्छ भनेर त्यसै भनेका होइनौं, त्यो पनि झोले न्यायाधीश होइन । समाजले चाहेको न्यायाधीश चाहिन्छ भन्नेमा छौँ,” उनले भने ।

उनले आफू १५ गते राति १२ बजेदेखि नरजबन्दमा रहेको बताउँदै कसैलाई पनि भेटघाट गर्न नदिइएको दाबी गरे ।

“मलाई त्यो दिनमा अश्रुग्यास लागेको थियो । म अचेतजस्तो भएको थिएँ । मलाई बोकेर मञ्चबाट तल झारे । घर आएपछि मलाई सास फेर्न पनि गाह्रो थियो,” उनले भने, “त्यसपछि कतिबेर सुतेँ सुतेँ । राति प्रहरी आएर फोटो खिचेर गएछ । त्यसपछि बाहिर निस्किन दिइएको छैन ।” 

राजसंस्था फर्किने सम्भावना छ ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “राजसंस्था नफर्किए देश रहँदैन । तपाईं नेपाली हो भनेर खोज्ने हो भने राजसंस्था त फर्किन्छ फर्किन्छ ।”

उनले भूराजनीतिक अवस्थाका कारण पनि देश अप्ठेरोमा परेको र नरहन सक्ने दाबी गरे ।

“भू राजनीति बुझ्नुभएको छ ? तपाईंले पक्कै बुझ्नुभएको होला नि ! भूराजनीतिक अवस्था हेर्दा यो देश बच्छ ?,” उनको आक्रोश थियो ।
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro