site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकारलाई ट्रोल किन बनाइन्छ ?
SkywellSkywell

काठमाडौं । विषयवस्तुको जानकारी नभई जथाभावी बोल्दा ट्रोलको सिकार हुनु परिरहेको स्वयं कलाकारहरू बताउँछन् । विषयवस्तुको ज्ञान पर्याप्त नभई बोल्नु, सञ्चारमाध्यम पनि जिम्मेवार नहुनु र नियतवश कुनै व्यक्ति, विशेष र ब्रान्डविरुद्ध लाग्ने प्रवृत्तिले कलाकार ट्रोलका भागिदार हुनु परिरहेको उनीहरूको बुझाइ छ । ट्रेन्डिङकै लागि नकारात्मकलाई प्राथमिकता दिइनु अर्को मुख्य कारण भएको कलाकार दीपकराज गिरी, हरिवंश आचार्य र मनोज गजुरेल बताउँछन् ।

हास्य कलाकार मनोज गजुरेल जनताबाट आउने सुझाव र आलोचनालाई पचाउनुपर्ने बताउँछन् । जनताबाट आएका स्वच्छ आलोचनालाई सुझावका रूपमा लिएर सामान्य मान्नुपर्ने बताउँछन् ।

आफूले नजानेको विषयमा बोल्न नहुने भन्दै उनी कलाकार भएकैले म सबै जान्दछु भन्ने भ्रम त्याग्नुपर्ने बताउँछन् । “आफ्नो धरातल बिर्सिनु हुँदैन । म कहाँ छु र कुन अवस्थामा छु, जनताले कसरी मलाई यो ठाउँमा पु¥यायो भनेर भुल्नु हुँदैन,” मनोज भन्छन्, “धरातल बर्सिएन भने पनि यदि चिप्लिगए आफ्नै धरातलमा पुगिने हो त्यहाँभन्दा तल गइँदैन ।” 

KFC Island Ad
NIC Asia

सामाजिक सञ्जालका प्रयोगकर्ताले पनि समाचार, युट्युबका हेडलाइन तथा सम्पादन गरेर तयार पारिएका विषयलाई आधार बनाएर मूल्यांकन नगरिदिने हो भने धेरै हदसम्म समस्या कम हुने मनोज बताउँछन् । 

सस्तो लोकप्रियताका लागि जहाँपायो त्यहीँ बोल्न नहुने र बोल्नै परे त्यसअघि विषयवस्तुबारे अध्ययन गर्नुपर्ने उनको सुझाव छ । “गालीकै तहमा उत्रिएका ट्रोल समाधानउन्मुख छैनन् । तर ठट्टा, व्यग्ङ्ग्य र आलोचना तहका ट्रोलले भने हामीलाई सुध्रिने मौका दिन्छ,” उनी भन्छन् । 
० ० ०
हास्य कलाकार हरिवंश आचार्य कलाकार, समाज र सञ्चारमाध्यममा पूर्ण चेतना नआउँदासम्म कलाकारहरू ट्रोल बन्ने क्रम नरोकिने बताउँछन् । “यो त चेतनाको कुरा हो । जबसम्म समाजमा पूर्ण रूपमा चेतनाको विकास हुँदैन तबसम्म यो रोकिँदैन । नेपालमा मात्रै होइन संसारभर यस्तो हुन्छ,” उनी भन्छन्, “नियतै खराब हुँदा पनि यस्तो हुन्छ । कसलाई कोसँग के मन परिरहेको हुँदैन उसले सामाजिक सञ्जालमार्फत ट्रोल बनाइरहेको हुन्छ ।” 

Royal Enfield Island Ad

सञ्चारमाध्यममा कोही कसैका विरुद्ध लेख्न प्रमाण चाहिने तर सामाजिक सञ्जालमा त्यो नचाहिने भएकाले नियन्त्रण गर्न कठिन हुने उनको भनाइ छ । “सामाजिक सञ्जालमा राम्रो÷नराम्रो दुवै उद्देश्य भएका व्यक्ति घुस्ने भएकाले यसलाई रोक्न कठिन हुन्छ । त्यसैले यसमा आफैं सचेत हुनुपर्छ,” हरिवंश भन्छन् । 

सबै व्यक्तिलाई सबै कुरा थाहा नहुने भन्दै सोध्ने व्यक्तिले पनि सम्बन्धित विषयमा मात्रै प्रश्न गर्नुपर्ने हरिवंश बताउँछन् । “आफूले नजानेको विषयमा बोल्नु राम्रो होइन । जानेको छैन भने मलाई आउँदैन भन्न सक्नुपर्छ,” उनी भन्छन्, “मलाई साइन्स र गणितको कुरा कसैले सोध्यो तर आउँदैन भने मैले आउँदैन भन्नु सक्नुपर्छ ।”
० ० ०
कलाकार दीपकराज गिरी नकारात्मकता बिकिरहेकाले कलाकारहरू ट्रोलको सिकार भइरहेको बताउँछन् । नकारात्मकता खोजीखोजी बिक्री गरिएको उनको गुनासो छ । “नकारात्मकता यहाँ तोलामा बिक्री भइरहेको छ । तर सकारात्मकता थोकमा पनि बिक्री भइरहेको छ,” दीपकराज भन्छन्, “यहाँ अहिलेको ट्रेन्डिङ हेर्नुस् त्यो हाम्रो समाजको मानसिकताको प्रतिविम्ब हो । एसिड आक्रमणले पीडितका पक्षमा बोल्ने कति छन् तर एउटा कलाकारले सामान्य रूपमा भाँती पुर्याएन भने ९० प्रतिशत बोल्छ ।” 

कलाकार तथा सार्वजनिक व्यक्तिबिरुद्ध ट्रोल आउनु सामान्य भएको तर एउटै व्यक्तिविरुद्ध दर्जनौं ट्रोल लगातार आउनु निहित उद्देश्य भएको उनी बताउँछन् । 

जिम्मेवार पत्रकार र सञ्चारमाध्यमलाई मात्रै अन्तर्वार्ता दिनुपर्नेमा कलाकारले त्यसो गर्न नसक्नु कमजोरी भएको उनी बताउँछन् । “हामी मिडियामा गएर आफ्नै कमजोर बौद्धिकता प्रदर्शन गरिरहेका छौं । यो हाम्रो कमजोरी हो । बोल्नुअगाडि विषयवस्तुको अध्ययन गर्नुपर्छ,” दीपकराज भन्छन्, “तर अन्तर्वार्ता दिइसकेपछि केही कमजोरी भयो भने त्यसलाई हटाउनु जिम्मेवार मिडियाको पनि दायित्व हो । तर यहाँ कमजोरी लुकाइदिने होइन खोज्ने काम गरिन्छ । मोनिटाइज नभएको युट्युब च्यानल महानायकको विवादले मोनिटाइज भयो भनेर खुसी हुने साथीहरू देखेको छु । यो खुसी हुने विषय हो ?” 

कुनै व्यक्ति र ब्रान्डविरुद्ध खराब नियत राखेर गरिने ट्रोलहरू लामो समय रहने गरेको भन्दै दीपकराज भन्छन्, “प्रधानमन्त्रीले अयोध्या नेपालमा छभन्दा दुईदिन बबन्डर भएर तेस्रो दिन बन्द हुने तर अरू विषय हप्तौंसम्म ट्रोल हुन्छ भने त्यो नियतवश गरिएको हो भन्ने बुझ्न कठिन हुँदैन ।”

पछिल्लो समय नेपालमा कलाकारहरू ट्रोलको सिकार हुने गरेका छन् । नेपाल–भारत सीमा अतिक्रमणबारे बोल्दा नायिका वर्षा राउत ट्रोलको भागिदार भइन् । अर्की नायिका पूजा शर्माले नेपालका जिल्लाको संख्याबारे नजान्दा ट्रोलको सिकार भइन् । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले महानायकको जिम्मेवारी र महनायक विशेषण दिइएकोबारे कुरा उठाउँदा उनी पनि ट्रोलको सिकार भइन् भने गायक दुर्गेश थापाले नारायण गोपालको भनेर भक्तराज आचार्यको र यम बरालको भनेर रामकृष्ण ढकालको गीत गाउँदा उनलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले ट्रोल बनाएर आलोचना गरिरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro