
जनकपुर । सिन्धुली जिल्लाको खोंचबाट निस्केको कमला नदी तराईमा आएर धनुषा र सिरहा जिल्लालाई छुट्याउँदै जयनगर पुगेर भारतमा प्रवेश गर्छ । पूर्व सुनकोशी र पश्चिम नारायणी नदीको बीचमा पर्ने कमला नदीलाई स्थानीय समुदायले भगवतीको रुपमा पूजा अर्चना गर्छन् । हरेक वर्ष कात्तिक पुर्णिमाको दिन यो नदीमा ठुलो सांस्कृतिक मेला लाग्ने गर्छ । सिन्धुली, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही लगायत भारतको बिहारबाट हजारौंको संख्यामा आउने श्रद्धालुले कमला नदीको पूजापाठ गर्छन्, भाकल चढाउँछन् र वर्षभर परिवारको सुख तथा शान्तिको आशिर्वाद लिएर फर्किन्छन् ।
त्यहीँ कमला नदी किनारको बासिन्दालाई वर्षेनी साउन र भदौ महिनामा त्रास देखाउने गर्छ । एक दशक अगाडि कमलाको बाँधलाई बगाएर अनियन्त्रित भइ एक दर्जनभन्दा बढी गाउँलाई डुबाएपछि कमलाको नियन्त्रणमा नेपाल सरकार र भारत सरकारले संयुक्त रुपमा अग्रसरता देखाएका थिए । त्यसलगत्तै भारत सरकारको आर्थिक सहयोगमा करिब २२ अर्ब रुपैयाँ लगानी गरी दुवै किनारमा बाँध निर्माण गरिएको छ ।
दुईवर्ष अगाडि रघुनाथपुरको किरतपुरस्थित उक्त बाँध झन्डै भत्केको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा तत्काल उक्त खतरा टाल्न सफल भए पनि हरेक वर्ष बाढीको सतह बढेपछि बाँध भत्काएर गाउँ बगाउने हो कि ! भन्ने त्रास कायमै छ ।
एक साता अगाडि निरन्तर पाँचदिनसम्म वर्षा हुँदा कमलाको पश्चिमतिर ढोलबाजा र पटेर्वा तथा पुर्वको कल्याणपुरमा बाढीले बाँधलाई छोएको थियो । यो बीचमा वर्षा रोकिएसँगै बाढीको सतह घटेपनि आइतबार बिहानदेखि जारी अविरल वर्षाले बाढीको सतह पुनः बढेको छ । योसँगै कमलाको दुवै किनारका बासिन्दामा त्रास बढेको कमला नगरपालिका वडा नम्बर पाँचका सचिव विनोदकुमार पाल बताउँछन् ।
“कमला नदीको किनारमा धनुषा तर्फ पर्ने गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिका तथा सिरहा तर्फ पर्ने कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिकाको जनजीवन कमलाको बाढीले प्रभावित भएको छ,” पालले बाह्रखरीसँग भने ।
बाढीको प्रकोपबाट जनधनको रक्षाका लागि स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी उच्च सतर्कता अपनाइएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव बताउँछन् ।
भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा तीन सदस्यी मन्त्रीस्तरीय दैवी प्रकोप व्यवस्थापन समिति गठन गरेको प्रदेश सरकारले बाढीको जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गरिसकेको मन्त्री यादवले बताए ।
उनले बाढीले असर गरिहाले तत्काल उद्धारका लागि सुरक्षाकर्मीहरुलाई तालिम दिएर तैनाथी अवस्थामा राखिएको र विशेष अवस्थाका लागि दुई वटा हेलिकोप्टरसमेत तयारी अवस्थामा रहेको जानकारी दिए । यद्यपि कमला, बागमती र कोशी नदी आसपासका बासिन्दालाई बाढीको प्रभावलाई ध्यानमा राखेर सतर्कता अपनाउन उनले आग्रह गरे ।