site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘संक्रमितदर घटेकै हो तर, छाडा हुनु भएन’

जनकपुर । पछिल्लो एक महिनायता प्रदेश २ मा कोरोना संक्रमितको संख्या दैनिकजसो घट्दो अवस्थामा छ । चैत ३० गते पहिलोपटक प्रदेश २ को वीरगन्जमा एकै दिन तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको करिब तीन महिनासम्म डरलाग्दो किसिमले संक्रमितको संख्या निरन्तर बढिरह्यो ।

असार दोस्रो सातादेखि संक्रमणको दर घट्न थालेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको भनाइ छ । सप्तरीमा शनिबार चार र बारामा तीन गरी जम्मा सात नयाँ संक्रमित थपिए । गत साता नयाँ संक्रमित एकजना पनि भेटिएका थिएनन् ।

चैत ३० यता प्रदेश २ मा जम्मा चार हजार ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई सय ७४ महिला र तीन हजार सात सय ९४ पुरुष छन् । तीमध्ये आइतबारसम्म दुई हजार ६ सय ५९ जना अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन् । एक हजार चार सय नौजना अस्पतालमा उपचारार्थ छन् । उनीहरूमध्ये पनि दैनिक डिस्चार्ज हुनेको संख्या उल्लेख्य छ । 

कसरी घट्न थाल्यो नयाँ संक्रमणको दर ?
प्रादेशिक स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झा भन्छन्, “स्वाब संकलनमै कमी आएपछि नयाँ संक्रमण संख्यामा स्वभाविक रूपमै घटेको हो ।” पहिलेको तुलनामा संक्रमणको दर घटेकै भए पनि नयाँ संक्रमितको संख्यामा कमी देखिनुको कारण जाँच संख्या घट्नु रहेको उनको भनाइ छ ।

“सुरुको दुई–तीन महिनासम्म भारतबाट फर्किने नेपालीको संख्या निकै बढी थियो । जति क्वारेन्टिन थपे पनि उनीहरूलाई बासको व्यवस्था गर्न स्थानीय सरकारलाई हम्मे परिरहेको थियो । त्यसबेला स्वभाविक रूपले नयाँ संक्रमणदर बढेको थियो,” बाह्रखरीसँग झाले भने, “अहिले त्यसरी भारतबाट फर्किने संख्यामा धेरै कमी आएको छ । यसले शंकास्पद संक्रमितको संख्या घटेर सोहीअनुरूप स्वाब संकलन कम हुन थालेको र जाँचपछि संक्रमितको रिपोर्ट पनि घटेको हो ।” 

झाका अनुसार सरकारले पीसीआर जाँच गर्ने व्यक्तिको पहिचान गर्न मापदण्ड निर्धारण गरेको छ । उक्त मापदण्डअनुसार भारत वा अन्य मुलुकबाट आउने व्यक्तिको अनिवार्य रूपमा स्वाब जाँच गर्ने र संक्रमित पुष्टि भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूका साथै लक्षण देखिएका व्यक्तिहरूको स्वाब जाँच गर्ने हो । 

भारतबाट आउनेको संख्यामा कमी आएसम्म संक्रमितको संख्यामा पनि कमी आएको र सोही आधारमा संक्रमितको सम्पर्कमा आउने व्यक्तिको संख्या पनि घटेको झा बताउँछन् ।

प्रदेश २ मा जम्मा चारवटा पीसीआर जाँच गर्ने मेसिन जडान गरिएको छ । तीमध्ये वीरगन्जमा दुईवटा तथा जनकपुर र राजविराजमा एक–एकवटा छन् । ती सबै मेसिनले दैनिक कम्तीमा आठ सयजनाको स्वाब जाँच गर्न सक्ने क्षमता रहेको सामाजिक विकासमन्त्री नवलकिशोर साह बताउँछन् । पछिल्लो समय स्वाब संकलनमै कमी आएपछि पीसीआर मेसिनका अपरेटर (प्राविधिक) हरूले फुर्सद पाएको उनको भनाइ छ । मन्त्री साह भन्छन्, “जाँचमा समस्या र ढिलासुस्ती छैन । पीसीआर जाँच गर्नुपर्ने व्यक्तिको संख्यामा कमी आएको हो । प्रदेश सरकारले कोरोनाबाट जोगिन तथा संक्रमितको पहिचान गर्न आवश्यक सम्पूर्ण व्यवस्था दुरुस्त राखेको छ ।”

के छ क्वारेन्टिनको अवस्था ?
एक सय ३६ वटा स्थानीय तह रहेको प्रदेश २ मा तीन सय ७८ वटा क्वारेन्टिन सञ्चालनमा छन् । उक्त क्वारेन्टिनमा २४ हजार एक सय २९ जना राख्न सक्ने व्यवस्था गरिए पनि आइतबार जम्मा दुई हजार ९ सय ३५ जना मात्र क्वारेन्टिनमा रहेको प्रदेश प्रहरीले जनाएको छ । 

सुरुमा बाहिरबाट आउने सबैले अनिवार्य रूपमा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमै बस्नुपर्ने अवस्था रहेकामा पछिल्लो समय होमक्वारेन्टिनमा बस्न चाहनेलाई छुट दिइएको छ । आइतबारको अपडेटलाई आधार मान्ने हो भने १६ हजार तीन सय १५ जना होमक्वारेन्टिनमा छन् ।

दुई हजार दुई सय ३३ वटा आइसोलेसन शय्या तयारी अवस्थामा रहेकामा चार सय ५४ जना मात्रै आइसोलेसनमा बसेर उपचार गराइरहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत झाले जनाए । झाका अनुसार शनिबार जम्मा चार सय १६ जनाको स्वाब संकलन गरिएको छ । अहिलेसम्म जम्मा ५० हजार तीन सय ३६ जनाको स्वाब संकलन गरिएकामा दुई हजार एक सय २१ जनाको नतिजा आउन बाँकी छ । झाका अनुसार स्वाब संकलन गरेको तीनदेखि चार दिनमा नतिजा सार्वजनिक गर्ने गरिएको छ । 

संक्रमित घट्यो अब केही हुन्न भनेर ढुक्क हुन सकिन्छ ? भन्ने प्रश्नमा झा भन्छन्, “अहँ ! ढुक्क नहुनुस् ! अझ बढी सचेत हुनुपर्ने बेला आयो !” 

अहिलेसम्म संक्रमणको दर घट्नुमा तीन तहको सरकार र नागरिकको सचेतनाकै परिणाम हो । कोरोनाको उपचार गर्ने औषधिको पुष्टि भइसकेको छैन । कोरोनाबाट जोगिने, पूर्वतयारी र शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उपाय मात्रै छ । 

झाले थपे, “अब तत्काललाई कोरोनासँगै जिउनुपर्ने सोच तयार गर्नुको विकल्प छैन । बिनामास्क घरबाट ननिस्किने, समय–समयमा हात धोइरहने, स्यानिटाइजरको प्रयोग गर्ने, बिनाकाम घर बाहिर ननिस्किने र सामाजिक तथा भौतिक दूरी कायम राख्ने । यी विषयमा हामी सचेत हुन सक्यौं भने कोरोनालाई जित्न सक्छौं । अन्यथा भन्न सकिन्न ।”

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro