site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिल्म कहाँ चलाउने ?
SkywellSkywell

नरेश फुयाँल
० ० ०
एक अर्ब १५ करोडका चलचित्र थन्किएका छन् । कोरोनाका कारण सिनेमा हल बन्द छन् । हल कहिले खुल्छन् ? ठेगान छैन । एक अर्ब १५ करोडका चलचित्र कहिलेसम्म थन्किने हुन् थाहा छैन । तर निर्मातासमक्ष चलचित्र थन्क्याएर राख्नुको विकल्प छैन ।

भारतमा ठूला चलचित्र रिलिज गर्न डिजिटल प्लेटफर्म ओटीटी छ । हलिउडकै ठूलो भीएफएक्स फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भयो । तर नेपालमा भने कुनै त्यस्तो भरपर्दो डिजिटल प्लेटफर्म छैन जहाँ ठूला नेपाली चलचित्र सिनेमा हलको अभावमा रिलिज हुन सकोस् । 

कोरोनाको चपेटामा परेका चलचित्र निर्माताहरूले डिजिटल प्लेटफर्ममार्फत आफ्नो चलचित्र दर्शकमा पुर्‍याइरहेका बेला नेपालका निर्माताहरू भने कहिले सिनेमा हल खोल्लान्, दर्शक आउलान् र चलचित्र लगाउँला भनेर बस्नुपरेको छ । 

KFC Island Ad
NIC Asia

चलचित्र निर्माता संघका अनुसार २५ वटा चलचित्र निर्माण सम्पन्न भए पनि प्रदर्शनको प्लेटफर्म अभावमा छन् । यी २५ चलचित्रमा एक अर्ब १५ करोड लगानी रहेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् । सरकारले विशेष सहयोग नगरेको अवस्थामा चलचित्र रिलिज हुन सक्ने अवस्थामा नरहेको उनी बताउँछन् । लगानीको २० प्रतिशत र एक प्रतिशत इन्स्योरेन्स प्रिमियम रकम सरकारले नबेहोरेसम्म चलचित्र रिलिज गर्न नसकिने उनको भनाइ छ । 

कोरोनाले संसारभरका अधिकांश सिनेमा हल बन्द हुँदा डिजिटल प्लेटफर्मको मार्केट उचालियो । नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस, हटस्टार, ओटीटी, एलटी बालाजी, जीफाइभलगायत डिजिटल प्लेटफर्मको माग बढ्यो । यी डिजिटल प्लेटफर्मलाई दर्शकको मागअनुसार कन्टेन्ट (फिल्म, सिरिज) लन्च गर्न हम्मेहम्मे पर्‍यो । 

Royal Enfield Island Ad

तर नेपालमा भने डिजिटल प्लेटफर्म हुँदै नभएको त होइन तर भएका पनि प्रभावकारी छैनन् । एकातिर पाइरेसीको डर छ, त्योभन्दा पनि मुख्य पक्ष फिल्म किन्न सक्ने डिजिटल प्लेटफर्म नै छैनन् । हल रिलिज भइसकेका चलचित्रमा पनि लगानी गर्ने क्षमता नेपालका डिजिटल प्लेटफर्ममा छैन ।

बलिउडमा डिजिटल प्लेटफर्मको आक्रामक व्यापार
उता, हलिउड फिल्म ‘ट्रोल्स ब्लर्ड टुर’ ले डिजिटल बिक्रीबाटै सातामै १०० मिलियन डलर राजस्व उठाएको थियो भने ५ मिलियनभन्दा धेरै प्रति बिक्री भएको थियो । एनबीसी युुनिभर्सलले डिजिटल प्लेटफर्ममार्फत रिलिज गर्ने निर्णय गरेसँगै अमेरिकाको ठूलो सिनेमा चेनमध्ये एक ‘एएमसी हल’ (अमेरिकन मल्टी–सिनेमा) हरूले अबदेखि युनिभर्सलका चलचित्रहरू प्रदर्शन नगर्ने घोषणा गरेको थियो । 

एनबीसी युुनिभर्सलका सीईओ जेफ सेलले हलिउड मिडिया ‘वाल स्ट्रिट जर्नल’ सँगको अन्तर्वार्तामा ‘ट्रोल्स वर्ल्ड टुर’ हलमा रिलिज नगर्ने निर्णयबारे प्रस्ट्याउँदै भनेका थिए, “ट्रोल्स ब्लर्ड टुर’ ले हाम्रो अपेक्षा पूरा गरेको छ, यसले डिजिटल बिक्रीबाटै १०० मिलियन डलर राजस्व उठाइसकेको छ भने ५ मिलियन बढी प्रति बिक्री भइसकेको छ ।” उनले हलहरू फेरि खुल्नेबित्तिकै केही चलचित्र हलमा र केही डिजिटल रिलिज गर्ने योजना रहेको पनि बताए । 

तर एएमसी थिएटरका अध्यक्ष–सीईओ एडम एरोनले लामो विज्ञप्ति जारी गर्दै लेखे, “यो हाम्रा लागि निराशाजनक कुरा हो, तर जेफको एकतर्फी निर्णय र आशयले हामीलाई कुनै विकल्प छाडेन । तसर्थ तुरुन्त लागु हुने गरी एएमसीले अब अमेरिकन देश, युरोप र मध्यपूर्वका आफ्ना हलहरूमा कुनै पनि युनिभर्सल चलचित्रहरू रिलिज गरिने छैन ।”

अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसी हलहरूको यो निर्णय ‘एफ–९’ लगायत ठूला बजेटका युनिभर्सलका चलचित्रहरूका लागि विनाशकारी झट्का हो । 

‘एफ–९’ एक त्यस्तो चलचित्र हो, जसले विश्व बक्स अफिसबाटै १ बिलियन डलरभन्दा बढीको कमाइ गर्छ । 

महामारीका कारण रिलिज मिति धकेलिएर २०२१ मा तय भएको ‘फास्ट एन्ड फ्युरियस’ को नवौं सिरिज पनि युनिभर्सल स्टुडियोले हलमा रिलिज गर्ने तयारी गरिरहेको छ । यद्यपि एएमसीको यो निर्णयले ‘फास्ट एन्ड फ्युरियस’ को नवौं सिरिज हलमा रिलिज हुन्छ कि हुँदैन संशय छ । 

हलिउडमा एउटै चलचित्रले डिजिटल प्लेटफर्ममा मिलियनमाथिको कारोबार सातामै गर्छन् । 

भारतमै अमिताभ बच्चन, आयुष्मान खुरानाका चलचित्र डिजिटल प्लेटफर्ममै रिलिज भए । सुशान्तसिंह राजपुतकै अन्तिम फिल्म डिजिटल प्लेटफर्ममै रिलिज हुँदै छ भने अक्षयकुमार, अजय देवगनजस्ता स्टारका चलचित्रले पनि सिनेमा हलको विकल्प खोजे । 

“तर नेपालमा भने निर्माताले चाहेर पनि डिजिटल प्लेटफर्म पाएका छैनन् । अर्बका चलचित्र निर्माण सकेर बस्दा पनि रिलिज गर्न नपाउनुले यहाँ पनि डिजिटल प्लेटफर्मको स्पष्ट आवश्यकता देखाउँछ,” निर्देशक नरेशकुमार केसी भन्छन्, “यसको अर्थ नेपालमा इन्टरटेनमेन्ट क्षेत्र अझै उद्योगका रूपमा विकास भइसकेको छैन भन्ने हो ।” 

आइफ्लिक्स किन बन्द भयो ?
विश्व बजारमा डिजिटल प्लेटफर्म फस्टाइरहेका बेला नेपालमा भने भएका केही डिजिटल प्लेटफर्म भने लगभग अस्तिवविहीन अवस्थामा छन् । ‘आइफ्लिक्स’ बन्दै भइसक्यो । एनसेलको ‘आइफ्लिक्स’ केही समय अघि बन्द भएको हो । आक्रमक बजार विस्तार गर्दै मुनाफा कमाउने एनसेलले ‘आइफ्लिक्स’बाट मुनाफा कमाउन नसकेपछि तीनवर्षे सम्झौता नसकिँदै बन्द गरेको हो । 

नेपालमा सस्तो इन्टरनेट सेवा नरहेको, डिजिटल फ्रेन्ड्ली उपभोक्ता नभएकाले मुनाफा कमाउन नसकेपछि ‘आइफ्लिक्स’ बन्द भएको बताइएको छ । एनसेलले नयाँ सम्झौता नथपेपछि ‘आइफ्लिक्स’ एक चाइनिज कम्पनीले किनेको छ ।

“अन्त डिजिटल प्लेटफर्मतर्फ बजार आकर्षित भइरहेको छ । नेपालमा यसतर्फ खासै ध्यान नखिचिनु चलचित्र उद्योग नभएरै हो,” नरेश भन्छन्, “कोरोना र लकडाउनका कारण अन्त चलचित्र उद्योग स्लो मात्रै भयो तर हाम्रोमा शून्य भयो । यो चलचित्र उद्योगका रूपमा विकास नहुँदाको परिणाम हो ।” 

उनी हिरो–हिरोइनको अन्तर्वार्ता लिने युट्युब च्यानलहरू टिकटक स्टारहरूको अन्तर्वार्ता लिनुले नेपाली चलचित्र शून्यमा झरेको स्पष्ट पारेको बताउँछन् । 

डिजिटल प्लेटफर्म छैनन् भनेर चर्चा भइरहँदा केही समयअगाडि मात्रै नायिका ऋचा शर्मालगायत केहीको एक समूहले चलचित्र टीभी एप सार्वजनिक गरेको छ । 

प्रचण्डमान श्रेष्ठ, रवीन्द्रसिंह बानियाँलगायतको समूहले केही महिनामै अर्को डिजिटल प्लेटफर्म पनि ल्याउने तयारी गरिरहेको छ । यस्तै एउटा पुरानै एपलाई परिमार्जन गर्दै अर्का एक अभिनेताले पनि डिजिटल प्लेटफर्म चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । 

तर, स्वयम् एप ल्याउने तयारी गरिरहेका चलचित्रकर्मी नै गुणस्तरीय चलचित्र तथा अन्य कन्टेन्ट दिन नसके आउने डिजिटल प्लेटफर्म पनि दर्शकमाझ लोकप्रिय नहुने बताउँछन् । लगानी नै मुख्य चुनौती भएको निर्देशक प्रचण्डमान बताउँछन् । 

कर्पोरेट हाउसको अभाव

निर्देशक विशाल भण्डारी ठूलो कर्पोरेट हाउसले डिजिटल प्लेटफर्ममा लगानी नगरेसम्म नेपालमा फिल्मी एप स्थापित नहुने बताउँछन् । 

“चलचित्रको ठूलो बजार नभएकाले आजसम्म नेपालमा डिजिटल प्लेटफर्मको अपेक्षित विकास हुन सकेन । अन्तर्राष्ट्रिय स्तरबाट आएको आएको आएफ्लिक्स पनि बजारले धान्न नसकेपछि बन्द भयो,” निर्देशक विशाल भन्छन्, “हाम्रोमा अनटेस्टेड बजारमा लगानी गर्ने हिम्मत भएका लगानीकर्ता पनि छैनन् । त्यसैले बृहत् रूपमा आजसम्म डिजिटल प्लेटफर्म खुल्न सकेन ।” 

ठूलो मुनाफा हुने अवस्था नआउँदासम्म बलिउड र हलिउडमा जस्तो डिजिटल प्लेटफर्ममा लगानी गर्ने कर्पोरेट हाउस अग्रसर नहुने उनी बताउँछन् । चलचित्र निर्माणमा कर्पोरेट हाउसहरू आकर्षित भएको खण्डमा मात्रै यसमा बृहत् लगानी हुने अन्यथा अहिलेकै अवस्था रहने उनको भनाइ छ ।

डिजिटल प्लेटफर्म हलको विकल्प होइन

ठूलो मात्रामा डिजिटल प्लेटफर्म निर्माण भएको खण्डमा पनि हलको बिजनेसलाई ठूलो असर नगर्ने चलचित्रकर्मीहरू बताउँछन् । 

डिजिटल प्लेटफर्मको भारी मात्रामा विकास र प्रयोग हुने देशमा पनि हलहरूको बिजनेसमा खासै नकारात्मक प्रभाव नपरेको क्यूएफएक्स चेनका सञ्चालकमध्येका एक भाष्कर ढुंगाना बताउँछन् । 

“डिजिटल प्लेटफर्म र सिनेमा घर फरकफरक कुरा हुन् । सिनेमा घर र डिजिटल प्लेटफर्मबाट छुट्टाछुट्टै एक्सिपिरियन्स आउँछ,” उनले भने, “जुन–जुन देशमा डिजिटल प्लेटफर्म राम्रोसँग विकास र प्रयोग भएको छ, त्यसले सिनेमा हलमा दर्शक बढाएको पनि छ । र जहाँ सिनेमा घरले राम्रो बिजनेस गरेको छ त्यहाँ डिजिटल प्लेटफर्म पनि बढेको छ ।” 

डिजिटल प्लेटफर्म सिनेमा हलका प्रतिस्पर्धी हुन् कि होइनन् भनेर केही अध्ययन पनि भएका र त्यसको निष्कर्ष डिजिटल प्लेटफर्म प्रतिस्पर्धी नभएर सिनेमा हलको परिपूरक भएको भास्कर बताउँछन् । 

“डिजिटल प्लेटफर्मले सिनेमा हेर्न कल्चर विकास गर्छ । त्यसैले यो आयो भनेर हामीलाई समस्या छैन । कहिले केमा रिलिज हुन्छ भन्ने कुराले चाहिँ अर्थ राख्छ,” उनी भन्छन् । 

यसमा निर्देशक विशालको विचार पनि भाष्करको जस्तै छ । सिनेमा घरमा गएर फिल्मको ‘मज्जा’ लिने दर्शकले डिजिटल प्लेटफर्ममा हेर्दा सन्तुष्टि लिन नसक्ने उनी बताउँछन् । 

हलिउड र बलिउडमा डिजिटल प्लेटफर्मको विकास आक्रामक भए पनि सिनेमा हलको विकास, विस्तार र प्रयोग पनि त्यति नै बढिरहेको विशालको भनाइ छ । यद्यपि लकडाउनको समयमा डिजिटल प्लेटफर्मको प्रयोग बढ्दै गएको अवस्थामा अब सिनेमा घरले पनि आफूलाई परिमार्जित गर्दै लैजानुपर्ने चुनौती भने थपिएको उनी बताउँछन् ।

सजिलो छैन डिजिटल प्लेटफर्मको प्रयोग

पेमेन्ट गेट–वेका कारण नेपालमा तत्काल डिजिटल प्लेटफर्मको आक्रमक विस्तार सहज नभएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउँछन् । पेमेन्ट गेट–वे सहज नभएका कारण नेपालमा डिजिटल प्लेटफर्मलाई तत्काल ठूलो मात्रामा बजार विस्तार गर्न सहज नभएको उनको भनाइ छ ।  

डिजिटल प्लेटफर्मको अपेक्षित विस्तारका लागि पेमेन्ट गेट–वे सजिलो हुनुपर्ने अध्यक्ष दयारामको भनाइ छ । “हरेकका खल्तिमा सजिलो पेमेन्ट गेट–वे भएको बैकिङ कार्ड उपलब्ध हुनुपर्छ । अहिले कति नेपालीको बैंक खाता छ । कति नागरिकले बैंकिङ कार्ड प्रयोग गर्छन् यो तथ्यांकले ठूलो अर्थ राख्छ डिजिटल प्लेटफर्मका लागि,” अध्यक्ष दयाराम भन्छन्, “डिजिटल प्लेटफर्म त बनाऔंला तर यसमा जोडिने उपभोक्तासँग बैंकिङ कार्ड छ ? यस विषयमा पनि मैले गभर्नरसँग कुरा गरेको छु । उहाँ यसमा सकारात्मक हुनुहुन्छ । ” 

इन्टरनेशनल प्लेटफर्मसँग टाई–अप गर्नुपरे डलर पेमेन्ट गर्नुपर्छ । त्यसैले पेमेन्ट गेट–वे सहज बनाउनुपर्छ । यो नै अहिलेको चुनौति भएको उनी बताउँछन् ।

नेपालमा पेमेन्ट गेट–वे सहज नभएकै कारण नेटफ्लिक्स, अमेजन प्राइम भिडियो जस्ता लोकप्रिय प्लेटफर्मसँग टाइअप गर्न कठिन हुने उनको भनाइ छ । असहज पेमेन्ट गेट–वे कै कारण नेपाली प्रयोगकर्ताले विदेशमा रहेको आईडीबाट साथीभाइ तथा आफन्तमार्फत पैसा तिरिरहेकाले नेपालबाट सब्सक्राइभ नदेखिँदा उनीहरुले नेपाललाई आफ्नो बजारका रुपमा नलिँदा नेपाली कन्टेन्ट नलिने गरेको उनले बताए ।  

पेमेन्ट गेट–वे सहज बनाउनका लागि आफूले छलफल सुरू गरिसकेको उनको भनाइ छ । गर्भनर पनि सकारात्मक रहेको उनी बताउँछन् । आजसम्म युट्युब र सामाजिक सञ्जालमा  मात्रै नेपाली चलचित्र रमाउँदा कोरोनाको महामारीमा नेपाली चलचित्र शून्यमा झरेको भन्दै यस्तो अवस्थामा डिजिटल प्लेटफर्म विकल्पको रुपमा प्रयोग हुन सक्थ्यो भन्दै उनी भन्छन्, “अब नेपालमै एउटा आफ्नै बलियो डिजिटल प्लेटफर्मको आवश्यकता देखिएकाले यसबारेमा बोर्डले छलफल सुरु गरेको छ । आजको भोलि नहोला तर प्रक्रियाका लागि छलफल चलाएकाले पक्कै पनि यो सकारात्मक हो ।” 

डिजिटल प्लेटफर्म विकासका लागि बोर्डले सहजकर्ताको भूमिका मात्रै खेल्न सक्छ तर आफैं स्थापना गर्न सक्तैन । कारण बोर्ड सरकारी निकाय हो । बोर्डसँग ब्यापार तथा विजनेस गर्ने अधिकार छैन ।   

चलचित्र क्षेत्र ठप्प हुँदा ३० हजार बेरोजगार, डेढ लाख प्रभावित

धरमरमा १२ अर्बका सिनेमा घर


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro