विराटनगर । कोरोना नियन्त्रण गर्न लकडाउन र सीमानाका सिल गरिएको लामो समय बितिसकेको छ । बाहिरबाट आउनेलाई सरकारले अनिवार्य क्वारेन्टिनमा बस्नै पर्ने नियम लगाएको छ । सोही प्रावधानअनुरूप क्वारेन्टिन स्थलमा मानिसहरू राख्ने प्रबन्ध भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारले नै क्वारेन्टिन स्थल तोकेर सञ्चालन गरेका छन् ।
तर, लकडाउन भएको करिब चार महिना पुग्न लाग्दा क्वारेन्टिनस्थलमा बस्ने र सीमानाकाबाट नेपाल भित्रने मानिसको संख्यामा भने व्यापक कटौती भएको छ । अहिले कतिपय क्वारेन्टिन स्थलमा बस्ने मानिसको संख्या शून्यमा झरेको छ । केहीमा पछिल्लो पटक तेस्रो देशबाट उद्धार गरी सरकारले ल्याएका मानिसहरूको चाप देखिन्छ ।
मोरङ जिल्लामा सञ्चालित क्वारेन्टिनहरू भने विस्तारै खाली हुन थालेका छन् । जिल्ला प्रहरी कार्यालयले अद्यावधिक गरेको तथ्यांकअनुसार जिल्लाका क्वारेन्टिन स्थलमा मानिसको संख्या घट्दो क्रममा पुगेको छ ।
तथ्यांकअनुसार विराटनगर महानगरपालिकाले सञ्चालन गरेको विभिन्न क्वारेन्टिनमा बस्नेको संख्या १०९ छ । महानगरले सात स्थानमा क्वारेन्टिन सञ्चालन गरिरहेको छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, “क्वारेन्टिनमा भारतबाट फर्किएका नेपालीहरूकै संख्या अधिक थियो तर अहिले सीमानाबाट मानिस नेपाल फर्कने क्रम पातलो भएसँगै क्वारेन्टिन स्थलमा बस्नेको संख्या पनि घटेको हो । अब भने सरकारले उद्धार गरी तेस्रो देशबाट ल्याएकोहरूको व्यवस्थापनमा ध्यान दिइरहेका छौं ।” पराजुलीले विराटनगरका दुई वटा क्वारेन्टिनस्थलमा मानिसको संख्या शून्यमा पुगेको बताए ।
मोरङको सुन्दरहरैंचा नगरपालिकामा ३८ जना क्वारेन्टिनमा छन् । यसैगरी उर्लाबारी नपामा ८२, रंगेली नपामा २२, बेलबारी नपामा ७६, रतुवामाई नपामा ८०, पथरी नपामा २६, सुनवर्षी नपामा ६३, लेटाङ नपामा २५, मिक्लाजुङ गाउँपालिकामा ७५, धनपालथान गाउँपालिकामा ६५, जहदा गाउँपालिकामा ८, कटहरी गाउँपाकिलामा १०, ग्रामथान गाउँपाकिलामा १०, बुढीगंगा गाउँपालिकामा २५, केराबारी गाउँपालिकामा २३ जना छन् ।
कानेपोखरी गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा अहिले कोही पनि छैनन् । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल भन्छन्, “अहिले भारतबाट भन्दा पनि तेस्रो देशबाट आउने नागरिकको संख्या बढ्न थालेको देखिन्छ ।” उनले क्वारेन्टिनमा बस्नेको स्वास्थ्य परीक्षण गरेर मात्र घर फर्काउने नीतिअनुरुप काम हुँदै आएको सुनाए ।
मोरङमा हालसम्म जम्मा ४ हजार ७७ पुरुष, ७३४ महिला गरेर जम्मा ४ हजार ८११ जना क्वारेन्टिनमा बसेका छन् । तीमध्ये फिर्ता हुनेको संख्या ४ हजार ७४ छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अब जिल्लाका क्वारेन्टिनमा जम्मा बाँकी नागरिकको संख्या ७७३ जना छ ।
अस्पतालमा संक्रमित घटे, नाकाबाट आउने न्यून
मोरङमा सञ्चालित उपचार केन्द्रमा समेत कोरोना पोजेटिभ देखिएका रोगीको संख्यामा कमी आउन थालेको छ । उपचारका लागि मोरङको सुन्दरहरैंचा गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालय र विराटनगरको कोसी कोभिड अस्पताल सञ्चालन गरिएको छ । गोठगाउँमा २८० जना उपचारका लागि भर्ना भएकोमा २३६ ठिक भएर फिर्ता भएका छन् ।
अब बाँकी ४४ जना छन् । यसैगरी कोसी अस्पतालमा १६८ जना उपचारमा थिए । तीमध्ये उपचारपछि १५४ फिर्ता भई अब १४ जना बाँकी छन् । मोरङका यी दुई उपचार केन्द्रमा जम्मा ४४८ जना उपचारका लागि भर्ना भएकामा दुवैमा ५८ जना उपचारमा छन् ।
यता, जोगबनी नाका भएर जम्मा ३ हजार २४३ जना मानिस नेपाल प्रवेश गरेका छन् । त्यो नाका भएर नेपालतर्फ आउनेभन्दा भारत फर्कनेको संख्या नै अधिक छ । त्यो नाका भएर कुल ५ हजार २७५ जना मानिस भारततर्फ गएका छन् । बुधबार ९२ जना भारत गए भने २५ जना नेपाली जोगबनी हुँदै स्वदेश फर्किए ।