site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लागुऔषध राखेर फसाउने प्रयास फेल खाएपछि भएको थियो विक्रम लामामाथि आक्रमण !

काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने मुख्य आरोपित अझै पक्राउ परेका छैनन् । घटना घटेको दुई महिना पुग्दा पनि आक्रमण गर्ने मुख्य अरोपित नुवाकोटका अजय तामाङलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

नुवाकोटकै विक्रममाथि कात्तिक ११ गते उनको अफिस नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो । घटनामा संलग्न चार जनामध्ये दुई जनालाई भने प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

घटनालगत्तै एक जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले र एक जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको करिब एक महिनापछि मंसिर १ गते पक्राउ गरेको थियो ।

Dabur Nepal
NIC Asia

पक्राउ पर्नेमा नुवाकोटकै मार्सस भनिने शैलेन्द्र तामाङ र गोरखाका २९ वर्षीय निश्चल सुनुवार छन् । निश्चललाई अपराध अनुसन्धान कार्यालयको टोलीले झापाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूको बयानका अधारमा विक्रममाथि ज्यान मार्ने उद्देश्यले नै आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानका क्रममा अजय तामाङको योजना अनुसार पक्राउ परेका निश्चल र शैलेन्द्र तामाङसहित अर्का फरार आरोपित दीपक बरामुले आक्रमण गरेको खुलेको हो ।

लामो सयमदेखि घरजग्गा व्यवसाय गर्दै आएका विक्रममाथि गाडी पार्किङ गरेर झरेलगत्तै अजय लामासहित चार जनाको समूहले आक्रमण गरेका थिए । आक्रमण गर्ने समूह र विक्रमबीच कनै दुस्मनी नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले समेत सुपारी लिएर विक्रममाथि आक्रमण गरेको निष्कर्ष प्रहरीले निकालेको छ । अजय लामा समूहको आक्रमणमा परेको विक्रमको टाउकोमा गम्भीर चोट लागेको थियो । करिब एक महिना चक्रपथस्थित ग्रिन सिटी अस्पतालमा भर्ना भएका विक्रम हाल डिस्चार्ज भएका छन् ।

प्रहरीले फरार अजय र दीपकमो खोजी तीव्र पारिएको जनाएको छ । उनीहरू भारत भागेको आशंका प्रहरीले गरेको छ । अजयले तीन साथीलाई प्रलोभनमा पारेर विक्रममाथि आक्रमण गर्न लगाएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

अजयले लिएका थिए हत्याको ‘सुपारी’ !

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपित र पीडित विक्रमबीच कुनै पूर्वरिसइबी छैन । अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘‘अजय आफैँले योजना बनाएर आक्रमण गरेका पनि होइनन् । उनलाई कसैले विक्रममाथि आक्रम गर्न लगाएको देखिन्छ । त्यसका लागि उनले सुपारी लिएको देखिन्छ ।’’

हाल प्रहरीको थुनामा रहेका निश्चल र शैलेन्द्र दुवैले आफूहरूलाई घटनाबारे धेरै जानकारी नरहेको र सुपारीको विषयमा अजयलाई मात्रै थाहा भएको बयान दिएका छन् ।

उनीहरू दुवैजनाले प्रहरीलाई भनेका छन्, ‘‘किन आक्रमण भयो भन्नेबारे हामीलाई केही जानकारी छैन । अजयले नै एउटा टार्गेट दिएपछि आक्रमण गरेका हौँ । उनी विक्रम हो भन्ने पनि थाहा थिएन ।’’

प्रहरीले विक्रममाथि उनकै आफन्तले आक्रमण गर्न लगाएको हुन सक्ने कोणबाट समेत अनुसन्धान थालेको छ । विक्रमका दाइ दिपेशले आफ्नी पूर्वश्रीमतीको भूमिका शंकास्पद रहेको बताउँदै आएका थिए । 

आपराधिक गिरोहको ‘कनेक्सन’ देखिएपछि संगठित मुद्दा

काठमाडौं प्रहरीले विक्रममाथि ज्यान मार्ने उद्देश्यले नै आक्रमण भएको र सुपारी लिएर आपराधिक समूहले आक्रमण गरेको खुलेपछि घटनाको अनुसन्धान गर्न संगठित अपराध मुद्दा चलाएको छ ।

सुरुमा पक्राउ परेका आरोपितमाथि शैलेन्द्रमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेको प्रहरीले अर्का आरोपित निश्चल पक्राउ परेपछि भने संगठित अपराध मुद्दामा अनुसन्धान थालेको हो । प्रहरीको अनुसन्धानका क्रममा फरार अजय केही समयअघि मात्र जेल सजाय भुक्तान गरेर आएका खुलेको छ ।

उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ । विक्रममाथि आक्रमण गर्न उनीहरूले नयाँ चार सिमकार्ड र मोबाइल प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

लागुऔषध राखेर फसाउने प्रयास असफलपछि आक्रमण

फरार अजय सहितको समूहले सुरुमा विक्रम लामालाई लागुऔषध मुद्दामा फसाउने प्रयास गरेका थिए । त्यसका लागि उनीहरूले विक्रम लामाले पार्किङ गरेर राखेको गाडी भित्र लागुऔषध राख्ने र आफैँले प्रहरीलाई सूचना दिने योजना बनाएका थिए ।

पक्राउ परेका आरोपितले उक्त योजनाबारे प्रहरीलाई बयान दिएका छन् । उसो त विक्रमलाई ठूलो लागुऔषध कारोबारी रहेको गलत सूचना प्रहरीलाई दिई पनि सकेका थिए ।

उनीहरूकै सूचनाको आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको प्रहरी टोली विक्रम लामाको घर खानतलासी गर्न समेत पुगेको खुलेको छ ।

विक्रम लामा बस्दै आएको बूढानीलकण्ठस्थित मन्डिखाटारको घरमै लागुऔषध नियन्त्रण ब्युरोको टोली राति पुगेर सर्च गरेका थिए । तर, घरमा खानतलासी गर्दा केही नभेटिएपछि उनीहरू फर्किएका थिए ।

विक्रम लामा भन्छन्, ‘‘मलाई आक्रमण हुनुपूर्व उनीहरूले प्रहरीलाई समेत भ्रममा पारेर ठूलो लागुऔषध कारोबारीदेखि सुन तस्करीसम्म बनाएका रहेछन् । प्रहरीले उनीहरूकै सूचनामा भर परेर मेरो घरसम्म खानतलासी गर्न नै पुगे ।’’

लागुऔषधबाट दुई/दुई जना डीएसपीले ठूलो मात्रामा प्रहरी ल्याएर आफ्नो घर खानतलासी गरेको उनले बताए ।

‘‘म लामो समयदेखि जग्गा व्यवसायीमा हिँडेको मान्छे । कहिले उनीहरू सीआईबी पुगेर सुन तस्कर हो भन्दा रहेछन् । कहिले लागुऔषध कारोबारी हो भन्दा रहेछन् । प्रहरीले त्यसैको भरमा मलाई अनावश्यक केरकारसमेत गरेको छ,’’ विक्रम भन्छन् ।

अहिलेसमेत लन्डनमा रहेको आफ्नो दाइ दिपेश र आफू पनि अझै असुरक्षित रहेको अनुभव गरिरहेको उनको भनाइ छ । प्रहरीको अनुसन्धानका क्रममा आक्रमण गर्ने समूहसँगै हाल थुनामा रहेका राजीव गुरुङ दिपक मनाङे निकट केही युवाहरूको समेत कनेक्सन देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १७:००
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC