site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेको भाइरल तस्बिर, निकोलसको दाबीसँग मिल्छ !

काठमाडौं । सामाजिक सञ्जालमा यतिखेर रवि लामिछाने एउटा तस्बिर भाइरल भइरहेको छ । 

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि लामिछाने सुतिरहेको तस्बिर सीसीटीभीबाट स्कृन सर्ट लिएको देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको हिरासतभित्रैको तस्बिर सार्वजनिक भएपछि रास्वपा नेता तथा कार्यकर्ताहरू सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै सरकार र प्रहरीको चर्को आलोचनामा छन् ।

तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि आफूलाई ‘सामाजिक अभियान्ता’ भनेर दाबी गर्ने डा. निकोलस भुसालले उक्त तस्बिर आफूले खिचेको दाबी गरेका छन् ।

निकोलस भुसालले दुईदिन पहिले आफ्नो फेसबुकमा ६ पुसमा चितवनमा हुने एउटा कार्यक्रमको सन्दर्भमा उक्त फोटो पोष्ट गरेका थिए । तर, उनले अहिले उक्त पोष्ट नै फेसबुकबाट हटाइसकेका छन् ।

भुसालले आजमात्र फेसबुक पोष्ट र भिडियो मार्फत प्रहरी हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो आफूले खिचेको दाबी गरेका छन् ।

हेर्नुहोस अर्काइभ

उनको दाबी सही हो भन्ने केही आधार पनि देखिन्छ । ‘पृथ्वी पथ मिडिया’ नाम गरेको युट्युब च्यानलमा १४ डिसेम्बर (२९ मंसिर)मा ‘रबि र दुर्गा प्रसाईंलाई प्रहरी हिरासतमा भेटेपछि के भन्छन् त डा.निकोलस भुसाल ? गरे गम्भीर खुलासा !’ शीर्षकमा एउटा भिडियो राखिएको छ ।

उक्त भिडियोमा भुसालले रवि लामिछाने हिरासतमा सुतिरहेको त्यसबेला नै बताएका छन् । उनले उक्त भिडियोमा भनेका छन्, “दुःख लाग्यो दाइलाई भेट्दा पनि, हेर्दा पनि । कहिले मन्त्री भनेर भेटियो, कहिले कार्यालयमा भेटियो, कहिले कता भेटियो कति जोस जाँगर हौसलामा हुनुहुन्थ्यो हाम्रो दाइ । आज सुतिराख्नु भा’को थ्यो ।”

सोही भिडियोमा उनी अगाडि भन्छन्, “बाहिर हामीले अलिकता जुन तरिकाले धेरै नै दमन भयो कि जस्तो तर, भित्र हेर्दा खेरी चैं कोठा दिएको रहेछ बस्नलाई छुट्टै, मसँग फोटो पनि छ म विस्तारै त्यसलाई पनि सार्वजनिक गर्छु ।”
तस्बिर भाइरल हुनुभन्दा पाँच दिनअघि नै भुसालले यस्तो दाबी गरेका थिए, भिडियोमार्फत् ।

यस बाहेक भुसालले आज फेसबुक लाइभमार्फत पनि शनिबार (२९ मंसिर, १४ डिसेम्बर) रवि लामिछानेलाई भेटेको दाबी गरेका छन् ।

लामिछानेको फोटो आफूले हिरासत कक्षभित्रबाटै नभइ सीसीटीभी फुटेज देखाइएको मनिटरबाट खिचेको दाबी गरेका छन् । उनले फेसबुक लाइभमार्फत् भनेका छन्, “म चैं त्यहाँ जाँदा खेरि भनौँ, भित्र हिरासत जाँदा खास त मोबाइल छाडेर जानुपर्ने तर, मैले फोटो खिचेको चैं सीसीटीभी क्यामेराको फुटेजबाट खिचेको हो क्या, भित्र गएर हिरासतमा खिचेको होइन ।”

यससँगै अहिले सामाजिक सञ्जालमा एउटा अर्को तस्बिर पनि सार्वजनिक भएको छ ।

kaski-police-1734601596.JPG

रवि लामिछाने सुतेकोजस्तो मात्र देखिनेगरी यही फोटो क्रप गरिएको देखिन्छ । सीसीटीभी फुटेज देखिने मनिटरसहितको तस्बिर र भाइरल भइरहेको तस्बिरका दृश्य एकआपसमा मिल्छन् । सीसीटीभी मनिटरमा देखिएअनुसार यो तस्बिर खिचेको समय हो, १४ डिसेम्बर २०२४(२९ मंसिर, २०८१) ३ बजेर ५८ मिनेट १७ सेकेन्डमा)

बाह्रखरीले प्रहरी कार्यालयको दृश्य र सीसीटीभी मनिटर देखिने तस्बिर कास्की प्रहरीलाई पठाएर, ‘यो तस्विर कास्की प्रहरी कार्यालयको हो ?’ भनेर सोधेको थियो । कास्की प्रहरीले उक्त तस्बिर आफ्नै कार्यालयको भएको पुष्टि गरेको छ । यस बाहेक कास्कीस्थित बाह्रखरी संवाददाता विशन क्षेत्रीले पनि उक्त तस्बिर जिल्ला प्रहरी कार्यालय कास्कीकै रहेको पुष्टि गरेका छन् ।

कास्की प्रहरीले पनि घुमाउरो तरिकाले उक्त तस्बिर आफ्नै कार्यालयको भएको स्वीकार गर्दै विज्ञप्ति जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, “जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको अवस्थाको जस्तो अस्पष्ट देखिने तस्बिर केही दिन अगाडि सामाजिक सञ्जालमा हाल चालू रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकरात्मक प्रभाव पार्नेगरी..।”

प्रहरीले रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पती शुद्धिकरणको अभियोगमा अनुसन्धान गरिरहेको छ ।

यस बाहेक प्रहरीले उक्त तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्ने समेत बताएको छ ।

प्रहरीले विज्ञप्ति जारी गर्दै भनेको छ, “सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारबाही गरिने ।”

भुसालले यो तस्बिर जिल्ला प्रहरी कार्यालय कास्कीको मूल गेटबाट छिर्नेबित्तिकै दाहिनेतर्फको कोठामा रहेको सीसीटीभी मनिटरबाट खिचेका हुन् । जिल्ला प्रहरी कार्यालय कस्कीमा प्रवेश गर्दा मोबाइल, स्मार्टवाच लैजान पाइँदैन । प्रहरीले कार्यालयभित्र जानेहरूको मोबाइल, स्मार्टवाच राख्ने कोठा बनाएको छ । यहाँबाट प्रहरीले हिरासतको निगरानी र कार्यालयभित्र छिर्ने व्यक्तिको मोबाइल, स्मार्टवाच, क्यामेराजस्ता सामग्री राख्ने गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro