
जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा एकजना महिलासमेत ६६ जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले पुष्टि गरेका छन् । उनका अनुसार सोही अवधिमा १३२ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
बिहीबार थपिएका नयाँ संक्रमितहरुमा धनुषाका २९ जना, महोत्तरीमा एक जना, सर्लाहीमा दुई जना र रौतहटमा ३४ जना छन् । धनुषाको मुखियापटी मुसरनियाँ गाउँपालिकामा ३५ वर्षीय एक पुरुष, नगराइन नगरपालिकामा एकदेखि १८ वर्ष उमेर समूहका छ जना पुरुष, ४१ देखि ६० वर्ष उमेर समूहका पाँच जना पुरुष र १९ देखि ४० वर्ष उमेर समूहका १७ जना पुरुष रहेका छन् ।
महोत्तरीको सम्सी गाउँपालिकामा २५ वर्षीय एक पुरुष छन् । यो गाउँपालिकामा बुधबारमात्रै २०० जनासमेत २७३ जनामा संक्रमण पुष्टी भएपछि बुधबारैदेखि ७२ घण्टासम्मको लागि जिल्ला प्रशासन कार्यालयले पूर्ण सील गरेको छ ।
बिहीबार सर्लाहीका विष्णुपुर गाउँपालिकामा १८ र ४५ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा एक जना ३२ वर्षीया महिलासमेत ३४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जनाए । उनका अनुसार रौतहट, राजपुर नगरपालिकाकै ४१ देखि ६० वर्ष उमेर समूहका चार जना पुरुष, १३ वर्षीय एक किशोरसमेत १९ देखि ४० वर्ष उमेर समूहका चार जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, रौतहटकै इशनाथ नगरपालिकामा तीन वर्षीय दुई बालकसहित एक देखि १८ वर्ष उमेर समूहका चार जना र १९ देखि ४० वर्ष उमेर समूहका तीन जना पुरुष, विपि कोइराला माविको क्वारेन्टाइनमा रहेका १२, १४ र १६ वर्षका किशोरसहित १८ देखि ४० वर्ष उमेर समूहका नौ जना पुरुष तथा शंकर प्राविको क्वारेन्टाइनमा रहेका एक देखि १८ वर्ष उमेर समूहका चार जना र १९ देखि ४० वर्ष उमेर समूहका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।