
जनकपुर । महत्तोरीको सम्सी गाउँपालिका जिल्लाकै सानो गाउँपालिका हो । बुधबारमात्रै १६७ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि यस पालिकालाई तत्काल पूर्ण सिल गरिएको छ ।
पछिल्लो २४ घण्टामा सम्सी गाउँपालिकामा मात्रै १६७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो । यो समेत यस पालिकामा संक्रमितको संख्या २७३ पुगेको छ ।
एउटा सानो गाउँपालिकामा यति धेरै संक्रमण फैलिएपछि तत्काल पालिका क्षेत्रलाई पूर्ण सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
बुधबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि यो गाउँपालिकालाई पूर्ण सिल गर्ने निर्णय जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी कामेश्वर यादवले जनाए ।
अति आवश्यक सेवाहरु औषधी पसल, एम्बुलेन्स, स्वास्थ्य सेवा र मृत्यु संस्कार बाहेक अगामी शनिबार राति १२ बजेसम्मका लागि सम्पूर्ण क्रियाकलाप निषेध गरिएको यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
महोत्तरी जिल्लामा बुधबारमात्रै २०० जनामा कोरोना संक्रमण भएको पुष्टी भएकोमा १७६ जना सम्सी गाउँपालिकाकै छन् । तीमध्ये ८ वर्षीय एक बालकसमेत १८ वर्षमुनिका ४४ जना, ४१ देखि ६० वर्ष उमेर समूहका २२ जना र १९ देखि ४० वर्ष उमेर समूहका ११० जना रहेको मन्त्रालयले जनाएको छ । महोत्तरीमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ ।
प्रदेश २ मा अहिलेसम्म २ हजार ७१५ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा अहिलेसम्म उपचारपछि निको भएर ५५१ जना घर फर्केका छन् ।