काठमाडौं । महामारी संक्रमण रोकथामका लागि देश लकडाउनमा गएको करिब ३ महिना हुन लागिसकेको छ । यो समयमा रंगकर्मीहरू, अभिनेता अभिनेत्रीहरू घरमै थन्किन बाध्य भएका छन् । यस्तै हालत सानो किराना पसले व्यापारीहरूदेखि ठूलाठूला व्यवसाय हाक्दै गरेका व्यापारीहरूको पनि छ ।
तर, हाम्रा चित्रकार (आर्टिस्ट) हरू भने यो समयमा पनि खाली हात बस्नु परेको छैन । घरमै बसेर विश्वलाई आफ्नो सानो क्यानभासमा उत्तार्न पोख्त कलाकारहरू अहिले लकडाउनको समयमा पनि यही कामलाई निरन्तरता दिइरहेका छन् ।
लकडाउनको यो समयमा पनि उनीहरूको सृजनाको ढुकुटी भरिएको छ । तर, आफ्नो भरिएका सृजनाका ढुकुटीले ग्राहक कहिले पाउने हुन् भन्ने अन्योल कायमै छ । यद्यपि यस अन्योलका बीच पनि उनीहरू सकारात्मक नै छन् ।
०००
ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्मचार्य यो समय कामको व्यस्तताले अपूरै रहेका क्यानभासलाई पूर्ण बनाउँदै र नयाँनयाँ सृजना क्यानभासमा उतार्दै बिताइरहेका छन् ।
किनभने यो कठिन समय अस्थायी मात्रै भएको र भोलि फेरि सबै सामान्य अवस्थामै फर्किने कुरामा उनी विश्वस्त छन् ।
त्यसैले यो थप समयको अस्थायी केही नोक्सानीलाई सोचेर चिन्ता गर्नुभन्दा पछिका लागि तयारीमा लाग्नु पर्नेमा उनी जोड दिन्छन् ।
कलाकारका लागि आफ्नो कला पछिका लागि सन्चय गर्ने यो राम्रो समय भएको कर्मचार्यको बुझाइ छ ।
त्यसैले त उनी जुनियर कलाकारहरूलाई यो समयको भरपुग उपयोग गरी धेरैभन्दा धेरै सृजना कोर्न सुझाव दिइरहेका छन् । किनभने उनलाई थाहा छ, यसरी फ्री भएर सृजनामा मात्रै लाग्ने समय अरुबेला फेरि पाइँदैन ।
“भोलि नभए पर्सि, पर्सि नभए निकोपर्सि त त्यसको बजार पक्कै भइहाल्छ नि” उनी आशावादी देखिए ।
यो लकडाउनको असर अस्थायी भनिरहँदा उनी यो पनि नकार्दैनन् कि यदि अब कलाकारले समयअनुरूप आफूलाई र आफ्नो कामलाई ढाल्दै लग्न सकेनन् भने यसको असर लामो समयसम्म पर्नेछ ।
यसमा अब प्रविधिको समयलाई सदुपयोग गर्दै डिजिटल प्लेटफर्ममा जाने कुरामा पनि उनले जोड दिए । विश्वले पहिले नै अपनाइसकेको यो अनलाइन प्लेटफर्मलाई नेपाली कलाकारहरूले अहिले विस्तारै अपनाउन थालेको र यो राम्रो सुरुवात भएको उनको बुझाइ रह्यो ।
यो लकडाउनको समयमा थुप्रै कलाकारहरूले आफ्नो कला दर्शकसामु पुर्याउन अनलाइन कला प्रदर्शनीको विकल्प रोजिरहेका छन् ।
यो भौतिक दूरी कायम गर्नुपर्ने अवस्थामा कलाकारहरूले आफ्नै पहलमा कला प्रदर्शनीको नयाँ बाटो अपनाएकोमा उनी खुसी छन् ।
“यो लकडाउन खुलेर जनजीवन सामान्य अवस्थामा फर्किएपछि कस्तो खालको आर्टको जरुरत पर्छ त्यसलाई ध्यान राखेर आफ्नो काम, अघि बढाउन सक्नुपर्छ” उनले समयसापेक्ष आफूलाई ढाल्दै भोलिको तयारीमा कलाकार जुट्नुपर्ने कुरामा जोड दिए ।
०००
चित्रकार मुकेष मल्ल चित्रकलामा पूर्व लगानी गर्नुपर्ने भएकाले कलाको अरु पेसा भन्दा यो फरक रहेको बताउँछन् । ठूलो खर्च हुने तर लकडाउनका कारण बिक्री नहुँदा कलाकारलाई आर्थिक रूपमा समस्या हुने भए तापनि यो अस्थायी मात्रै भएको उनी मान्छन् ।
उनका अनुसार पेन्टिङको ‘रिसेल भ्यालु’ छ । यदि अहिले बनाएको पेन्टिङ तुरुन्तै बिक्री भएन भने पनि १०० वर्षपछि पनि यसको माग झनै बढ्ने उनले बताए । उनी पेन्टिङलाई सुनसँग तुलना गर्दै भन्छन्, “पेन्टिङ भनेको सुन किनेजस्तै हो, तपाईंले सुन जति जम्मा गर्न सके पनि खेर जाँदैन । एक हिसाबमा पेन्टिङ पनि त्यस्तै हो ।”
कलाकारको नाम र उसको कामले त्यसको ‘भ्यालु’ निर्धारण हुने उनले बताए ।
त्यसैले यो लकडाउनको समयमा अहिले केही दिन, महिना समस्या भए पनि आत्तिहाल्नुपर्ने अवस्था आइनसकेको उनको बुझाइ छ । उनी यो समय चित्रकारका लागि अझै सृजनशील भएर नयाँनयाँ विषय र थिममा चित्र कोर्ने राम्रो समय मिलेको बताउँछन् । त्यसैले त पछिल्ला केही वर्षदेखि लेखनमा बढी सक्रिय उनी लकडाउन भएसँगै पुनः पेन्टिङमै फर्किएका छन् ।
वर्षौंपछि पेन्टिङमा फर्किएका उनी यी सृजना अहिले नै बेच्नेभन्दा पनि पछिका लागि सन्चित गरी राख्ने योजनामा छन् ।
यो लकडाउनभरि कलाकारहरू पूर्णरूपमा यसमा मात्रै लागिरहेका हुनाले हरेक कलाकारको घरमा पेन्टिङको चाङ हुने र लकडाउन खुल्ने बित्तिकै प्रदर्शनीमा पेन्टिङको बाढी आउने अनुमान उनको छ ।
प्रदर्शनीपछि बिक्री नहुने कुरामा दुईमत नहुनेमा उनी विश्वस्त छन् । पेन्टिङलाई ‘आर्ट थेरपी’ का रूपमा पनि लिने भएकाले, यो विषम परिस्थितिबाट पैदा गरेको मानसिक असन्तुलनलाई साम्य बनाउन पनि कला पारखीहरूले पेन्टिङ किन्ने उनी विश्वास गर्छन् ।
०००
चित्रकार शिवानी राणा तिमिल्सिना पनि अरु कलाकार जस्तै लकडाउनको समयलाई उपलब्धीमुलक नै बनाइरहेकी छन् ।
महामारीको त्रास त छँदैछ तर यसबीच पनि उनी चित्रकोर्न राम्रो समय भएको महसुस गरिरहेकी छन् ।
गाडी तथा मान्छेको कोलाहलले मन एकाग्र हुन नसकिरहेको अवस्थामा यो शान्त समय उनलाई रंग र ब्रससँग खेल्ने राम्रो समय मिलेको छ ।
उनले यो लकडाउनभरि साना र ठूला गरी करिब १५ भन्दा बढी चित्र कोरिसकेकी छन् । अरुबेला त्यति समय नमिल्ने भएर उनी अबको एकल प्रदर्शनीका लागि अहिले धमाधम चित्र कोरिरहेकी हुन् ।
“अरु बेला कहिले प्रदर्शनी, कहिले के काम भनेर निस्किराख्नु पर्थ्यो, तर अहिले पूरैदिन घरमै बसेर नयाँनयाँ सृजना गर्ने अवसर मिलेको छ ।”
अहिलेसम्म उनले हाँसको दश अवतार, पोट्रेट सिरिज, पेन्सिल सिरिज तयारी गरिसकेकी छन् । उनी धेरै जसो सिरिजमा काम गर्न रुचाउँछिन् ।
यो लकडाउनको सयमले सृजनामा नयाँ आयम थप्न मद्दत मिलेको बताउने उनी अहिलेको प्रकृतिले आफ्नो कलामा पनि सकारात्मक कुराहरू धेरै दर्शाउने गरेको बताउँछिन् ।
तर, लकडाउन हटे पनि हिजो जस्तो सामान्य अवस्थामा फर्किन अझै समय लाग्ने उनको धारणा छ । जसका कारण आफ्नो सामान्य आवश्यकता छोडेर पेन्टिङका लागि खर्च गर्छन् भन्ने कुरामा उनलाई शंका छ ।
“यो लामो लकडाउनका कारण आर्थिक समस्या भोगिरहँदा मानिसहरू यो विलासिताको रूपमा लिइने पेन्टिङमा समय खर्चिन्छन् जस्तो मलाई लाग्दैन । त्यसैले कलाकारलाई लामो समय नै गाह्रो हुने देखिन्छ ।”
तर, यति हुँदा पनि उनी अरू कलाकारले जस्तै अहिले पेन्टिङ ‘स्टोर’ गरिनै रहेकी छन् ।
०००
यो महामारीका कारण लामो समय चित्रकलाको ग्राहक हुँदैनन् भन्ने कुरा कलाकार पृथ्वी श्रेष्ठलाई राम्रोसँग थाहा छ ।
तर, पनि उनी निरन्तर चित्र कोरी नै रहेका छन् । अरुबेला भागदौड गरिरहनुपर्ने तर, यो कोरोनाले ‘मेन्टली फ्री’ भएर काम गर्ने उपयुक्त वातावरण पाएकोमा खुसी छन् ।
उनमा यसको डर र त्रास भने नभएको होइन । यसबीच पनि उनले यो लकडाउनमा ५, ६ वटा ठूला क्यानभास रङगाइसकेका छन् । भने ३, ४ वटा नयाँ कन्सेप्ट पनि बनाइसकेका छन् ।
अरुबेला यी ठूला पेन्टिङ गर्न उनलाई हम्मेहम्मे पर्थ्यो । काम सुरु गरेको केही छिनमै कहिले कता कहिले कता गइराख्नु पर्ने हुन्थ्यो । तर, अहिले सम्पूर्ण समय र ध्यान यसमै दिन पाउँदा काम राम्रो बनेकाले उनी खुसी छन् ।
०००
चित्रकार सौरगंगा दर्शनधारीको चैतमा एकल प्रदर्शनी थियो । तर, लकडाउनले स्थगित भयो । केही समय हुने होला अनि फेरि सामान्य भइहाल्छ र आफ्नो एकल प्रदर्शनी पनि आयोजना हुन्छ भनेर उत्साहित थिइन् ।
तर, लकडाउन भएको करिब ३ महिना पुगिसकेको छ । अब प्रदर्शनी कहिले हुने उनी आफै अन्योलमा छिन् ।
यद्यपि उनी निराश नभई निरन्तर चित्र कोरी नै रहेकी छन् । किनभने उनलाई चित्र नकोरी चित्त बुझ्दैन ।
“यो समय प्रकृतिले आफ्ना लागि सुन्दर बनाइदिएको जस्तो लागिरहेको छ । त्यसैले म पनि प्रकृतिको कुरा समेटेर क्यानभासमा उत्तार्दै छु ।” उनले यो अवधिमा करिब १५ वटा पेन्टिङ तयार गरिसकेकी छन् ।
किनभने ढिला चाँडो पेन्टिङ बिक्री हुन्छ भन्ने कुरामा उनी विश्वस्त छिन् । नभए स्थगित भएको प्रदर्शनीमा राख्न मिल्यो ।
०००
कलाकार सविता डंगोल पनि नोभेम्बरमा हुन गइरहेको आफ्नो एकल कला प्रदर्शनीको तयारीमा थिइन् ।
तर, नोभेम्बर नआउँदै आएको महामारीले लकडाउन सुरु भयो । लकडाउन लम्बिँदै गएसँगै अब आफ्नो एकल कला प्रदर्शनी पूर्वनिर्धारित समयमा नहुने हो कि भन्ने तनाव उनमा बढ्दै गएको छ ।
प्रदर्शनी पनि रोकियो कुनै गतिविधि छैन त्यसैले उनी यो खाली समय विभिन्न रंगले क्यानभास भर्ने काम गरिरहेकी छन् । उनी सकेसम्म धेरैभन्दा धेरै पेन्टिङ स्टोर गर्ने प्रयासमा छिन् । सानो सानो पेन्टिङका लागि समय धेरै नचाहिने तर ठूलो पेन्टिङका लागि करिब २, ३ महिना नै लाग्ने भएकाले यो लकडाउनको समय सदुपयोग गर्दै दुवै किसिमका पेन्टिङ गरिरहेकी छिन् ।
यो लकडाउनले उनलाई प्रकृति, मठमन्दिर आदिको महत्त्व बुझाएको र त्यसलाई आफ्नो कलामा राख्न प्रेरित गरेको उनी बताउँछिन् ।
यद्यपि यो महामारीका कारण भिजिट नेपाललाई लिएर उत्साहित भइरहेकी उनी लगायत अरु कलाकारहरूलाई निराश भने बनाएको छ ।
नेपाली चित्रकलाको ग्राहक विदेशीहरू धेरै हुने भएकाले यो महामारीले लामो समयसम्म असर गर्ने हो कि भन्ने अनुमान उनमा छ ।
तर, गुणस्तरीय काम गर्ने र केही चिनाजानी बनाइसकेका कलाकारका लागि भने त्यति असर नगर्ने, र आत्तिहाल्नु पर्ने अवस्था आइनसकेको उनी बताउँछिन् ।
०००
कलाकार एन बी गुरुङ यो लकडाउनको समयलाई चित्र कोर्दै, अनलाइन प्रदर्शनीको आयोजना गर्दै त देश तथा विदेशी कलापारखीहरूलाई अनलाइन कक्षा सञ्चालन गर्दै बिताइरहेका छन् ।
केही साताअघि मात्रै उनले करिब ६० नेपाली चित्रकारहरूको कला ‘भर्चुअल साउन्ड’ शीर्षकमा अनलाइन प्रदर्शनीको आयोजना गरे, जुन जारी नै छ ।
यसले लामो समय थन्किरहेको कलाकारको सृजनाले दर्शक पाउने र आर्थिक रूपमा केही राहत पनि हुने आशाले उनले आयोजना गरेका हुन् ।
यसका साथै उनी पेन्टिङ पनि गरी नै रहेका छन् । लकडाउनको आजको समयसम्म उनले सानादेखि ठूला गरी करिब ३५ पेन्टिङ जम्मा गरिसकेका छन् ।
यस पेसामा भर्खरै बामे सरेका कलाकारलाई यो लकडाउनका असर गहिरो नै पर्ने देखिए पनि भाषा, प्रविधि र कलामा पोख्त कलाकारलाई बाँच्न गाह्रो नहुने उनको बुझाइरहेको छ ।
नकारात्मक पाटो त छँदै छ यसले सकारात्मक र अझै सम्भावना ल्याएको उनी बताउँछन् । “यो समयले नेपाली कलाकारहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न अझै धेरै मद्दत गर्छ जस्तो मलाई लाग्छ । किनभने यो लकडाउनले हामीलाई डिजिटल प्लेटफर्ममा पनि अवसर छ है भन्ने देखाइदिएको छ ।”
उनी महामारी र यसले निम्त्याउने दीर्घकालीन असरको बारेमा सोच्दा चिन्तित पक्कै हुन्छन् । तर, त्यसमा चिन्ता लिइराख्नु भन्दा उनले विकल्प रोजेर अघि बढ्न उचित ठाने ।