काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न आह्वान गर्ने लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले चौतर्फी दबाबका माझ लकडाउनलाई लुजडाउनतर्फ लगेको हो ।
बुधबारको मन्त्रिपरिषद्ले आर्थिक गतिविधि ठप्प हुँदा जनजीवनमा परेको अप्ठ्यारोलई महसुस गर्दै सहजीकरण गरेको हो । जसअनुसार अब सबै निजी कार्यालय सञ्चालन गर्न सकिने भएको छ भने आवागमनलाई सहज बनाइएको छ ।
यो मोडालिटी असार १ गतेदेखि कार्यान्वयनमा आउने छ ।
जसअनुसार सरकारी कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था बिहान ८ बजेदेखि दिउँसो १ सम्म र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन हुनेछन् । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्तो बताए । उनका अनुसार १३ प्रकारका बाहेक सबै गतिविध सञ्चालनमा आउनेछन् तर सञ्चालन गर्दा कोभिड रोग संक्रमण फैलिन नदिने गरी सुरक्षाका विधि अपनाउनुपर्नेछ । जसमा सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटकपटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन सरकारको छ ।
सरकारको लकडाउन मोडालिटी अनुसार के-के सञ्चालन गर्न पाउने ? (पूर्णपाठ)
त्यसैगरी काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारीमात्र सञ्चालन गर्न दिने सरकारको योजना छ । सार्वजनिक तथा जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधन पनि सञ्चालनमा आउनेछन् । यसका लागि सीटको एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्नेछ । सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नु पर्नेछ भने स्यानिटाइजरको व्यवस्था पनि गर्नुपर्नेछ । सवारी साधनलाई दैनिक निसंक्रमित गर्नुपर्ने सरकारको लुडाउन मोडालिटीमा उल्लेख छ ।
यी सेवा तथा कार्य सञ्चालन गर्दा सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आ–आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयहरूको सम्बन्धमा आवश्यक प्रोटोकल जारी गरी लागू गर्नुपर्नेछ । यो व्यवस्था असार २१ गतेसम्म कायम रहनेछ । अर्थमन्त्री खतिवडाले परिस्थितिको समीक्षा एवं संक्रमणको जोखिम विश्लेषणका आधारमा उल्लिखित व्यवस्थामा आवश्यक हेरफेर एवं थपघट गर्न सकिने बताए ।
के-के खुल्ने ?
स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिकसमेत)
सबै प्रकारका कृषि र पशुपन्छी व्यवसाय (उत्पादनदेखि विक्री वितरणसम्मका सबै श्रृंखला),
उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर,
सबै प्रकारका ढुवानी,
पैदल आवागमन,
साइकल र मोटरसाइकल (चालक मात्र रहने गरी),
काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी
चारपांग्रे सवारी साधन (चालकबाहेक थप २ जनासम्म मात्र सवार हुने),
फोहरमैला व्यवस्थापन,
विद्युत्, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाकसम्बन्धी सेवा,
बैंक तथा बित्तीय संस्था, सहकारी र बिमा सेवा,
नर्सरी, वनजन्य उद्यम,
विकास आयोजना (निजी क्षेत्रबाट प्रवद्र्धितसमेत),
निर्माण कार्य (निजीसमेत)
नदी तथा खानीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी र बिक्रीवितरण,
रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा,
क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन,
सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था (बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन गर्ने)
सार्वजनिक तथा जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधन (सीटको एक लहरमा एक जना पात्रु मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने)
के-के नखुल्ने ?
शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र),
अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू,
तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,
सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार,
सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन,
सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल,
सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना,
स्पा, सैलुन तथा ब्युटी पार्लर,
स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,
सपिङ मल,
समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,
सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल,
यात्रुबाहक सार्वजनिक सबारी साधन (पर्यटक सवारी साधनसमेत),
काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी