काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभाव अन्य क्षेत्रमा जस्तै सांगीतिक क्षेत्रमा पनि परेकाले आम्दानीको स्रोतको विकल्प खोज्नुपर्ने कलाकारहरूले बताएका छन् । कोरोना संक्रमणको जोखिमका कारण सांगीतिक कार्यक्रम तथा रेकर्डिङका सम्पूर्ण काम ठप्प हुँदा यस क्षेत्रमा काम गर्ने ठूलो समूह प्रभावित भएकाले विकल्प सोच्नुपर्ने कलाकारहरू बताउँछन् ।
संगीतकार संघका अनुसार नेपालमा सांगीतिक क्षेत्रमा करिब ५ हजार आबद्ध छन् । गायन, संगीत, लेखन, बाध्यबाधन, तथा रेकर्डिङ, म्युजिक कम्पनी, ब्यान्ड, नाइट क्लब र रेस्टुराँमा गाउने गरेर करिब ५ हजार सांगीतिक क्षेत्रमा आबद्ध रहेको संगीतकार संघका अध्यक्ष शान्तिराम राई बताउँछन् ।
यो संख्याको ८० प्रतिशतले अब आम्दानीको स्रोतको विकल्प खोज्ने अवस्थामा पुग्ने राईको भनाइ छ । लकडाउनपछि पनि केही वर्ष सांगीतिक क्षेत्र पुरानै अवस्थामा फर्किन नसक्ने भएकाले करिब ८० प्रतिशत यो क्षेत्रबाट पलायन हुने अथवा वैकल्पिक बाटो खोज्ने अवस्थामा पुग्ने उनको दाबी छ । सांगीतिक कार्यक्रम नहुने भएपछि गीत रेकर्ड तथा म्युजिक भिडियो निर्माणमा पनि ठूलो परिमाणमा कमी आउने राई बताउँछन् ।
“जो गीतसंगीतलाई साधना सम्झिएर यो क्षेत्रमा आउनु भएको थियो उहाँहरू जसोतसो यसैमा रहनुहुन्छ । तर, जो पैसा र लहडका भरमा आउनु भएको थियो उहाँहरूलाई अब यो क्षेत्रमा टिकिरहन कठिन हुनेछ,” अध्यक्ष राई भन्छन् ।
हाल नेपालमा गीतकार ९ सय र संगीतकार ११ सय छन् । यसमा करिब साढे तीनसय गीतकार र त्यति नै संख्यामा संगीतकार सक्रिय छन् । संगीतकार संघको सदस्यता लिने संगीतकारको संख्या ३२१ छ ।
कलाकार तथा संगीतकर्मीहरू वैकल्पिक पेसा अपनाउन बाध्य हुने राई बताउँछन् । “अधिकांशको घर गाउँमा छ । गाउँमा घर हुनेको खेतबारी छ । स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिने भनेको छ, त्यसैले आधुनिक कृषिकर्मतर्फ लाग्नुको विकल्प छैन,” उनी भन्छन्, “मनोरञ्जन मान्छेको प्राथमिक विषय र आवश्यकता नभएका कारण अब यसमा हुने न्यून लगानीतर्फ कलाकारले विकल्प सोच्नुपर्छ ।”
संगीतकार संघका पूर्व अध्यक्ष तथा संगीतकार लक्ष्मण शेष सांगीतिक क्षेत्र भित्रै विकल्प खोज्नुपर्नेमा जोड दिन्छन् । रोयल्टीलाई पारदर्शी बनाउने, डिजिटल प्लेटफर्मलाई पारदर्शी बनाएर रोयल्टीको दायरामा ल्याउन सके पहिलाको भन्दा धेरै आम्दानी आफ्नै गीतसंगीतबाट हुने उनको दाबी छ ।
“अब गायकगायिकाले लामो समय भीड र मञ्च पाउँदैनन् । त्यसैले अब यही क्षेत्रमा विकल्प खोज्नुपर्छ,” संगीतकार लक्ष्मण भन्छन्, “अहिले हामीले चलाएको अभियानको सार्थकता थप पुष्टि हुँदै गएको छ । अब रोयल्टीलाई पारदर्शी बनाउनुपर्छ ।
डिजिटल प्लेटफर्मलाई रोयल्टीको दायरामा ल्याएको खण्डमा गायकगायिकाले अहिले मञ्चबाट कमाइरहेको भन्दा धेरै कमाउँछन् ।” कोरोना संक्रमणको जोखिमका कारण भएको लकडाउनमा गीतसंगीत डाउनलोड र स्ट्रिमिङ बढे पनि कलाकारहरू भने त्यसबाट भइरहेको आम्दानीबाट वञ्चित भइरहेको उनको भनाइ छ ।
संगीतकार लक्ष्मण शेषसँगै गीतकार यादब खरेल, गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, संगीत संयोजक राजन इशान लगायत केही कलाकर्मी कपिराइटको अधिकार सुरक्षित गर्न माग गर्दै अड्डा अदालत धाइरहेका छन् ।
सरकारले नीति तथा कार्यक्रममा कपिराइट सुनिश्चित गरिने बताएर कलाकारलाई ‘ललिपप’ देखाए पनि बजेट आउँदा ‘माछा माछा भ्यागुतो’को वातावरण सिर्जना गरेको संगीतकार शेष बताउँछन् ।
अब डिजिटल प्लेटफर्म बनाएर त्यसबाट आम्दानी हुने नयाँ विकल्प खोज्नुपर्ने, आफ्नै युट्युब च्यानल बनाएर नयाँ स्रोतको सिर्जना गर्नुपर्ने उनी बताउँछन् ।
गायक रामकृष्ण ढकाल भर्चुअल कन्सर्ट अहिलेका लागि राम्रो विकल्प भएको बताउँछन् । यसअघि भौतिक रूपमै उपस्थित भएर गरिने कन्सर्टमा जस्तै अब भर्चुअल कन्सर्टको कन्सेप्ट आइसकेको र यसैलाई व्यावसायिक रूपमा अगाडि बढाउनुपर्ने उनको धारणा छ ।
“विदेशमा बस्ने गीतकार तथा संगीतकारले नेपाली सांगीतिक क्षेत्रमा ठूलो लगानी गरिरहनु भएको थियो । तर, अहिले कोरोनाका कारण रोजगारी गुमाएर उहाँहरू नै स्वदेश फर्किनु पर्ने अवस्था छ,” रामकृष्ण भन्छन्, “यस्तो अवस्थामा आफैंले लगानी गरेर सांगीतिक क्षेत्रमा क्रियाशील हुनुको विकल्प छैन । कलेक्सन एल्बममा गीत गाउनु पनि आम्दानीको स्रोत थियो, त्यो पनि अब बन्द भयो ।”
कपिराइटलाई सुनिश्चित गर्दै रोयल्टी पाउने व्यवस्था गर्नुपर्ने उनी बताउँछन् । गीतसंगीत प्रयोग गरेवापत रोयल्टी दिने, संकलन गर्ने तथा उठेको रोयल्टी पारदर्शी हिसाबले वितरण गर्न उनको माग छ ।
प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तुलसी पराजुलीका अनुसार देश तथा विदेशमा हुने मेला महोत्सव तथा कन्सर्टबाट गायकगायिकाले ३० हजारदेखि डेढ लाखसम्म लिन्छन् । ग्लोबल अर्थतन्त्र नै खस्किएको र भिडभाड गर्न नहुने वर्तमान परिस्थितिमा यस्ता कार्यक्रम नहुने र यसको मार गायकगायिकालाई पर्ने पराजुलीको भनाइ छ ।