काठमाडौं । १३ दिन भयो उर्मिला विश्वकर्माको आँखाबाट निद्रा गुमनाम भएको । जान्छु पनि नभनी ‘दुलही’ लिन गएको छोरो कहिल्यै नफर्कने गरी भेरीमा बिलीन भयो । भेरीमा ऊ एक्लै बगेन, बिरामी बाबुलाई सघाउने र मातृपितृ ऋण चुक्ता गर्ने दायित्व र तीन दिदी बहिनीप्रतिको कर्तव्य पनि ऊसँगै भेरीमा मिसिएर निःचेष्ट भए ।
“यस्तो विपत्ति त कसैलाई पर्दैन होला हजुर । न छोरो रह्यो, न सपनाहरू नै बाँकी रहे । हामी त रित्तो भएका छौं,” बर्बराउँछिन् आमा उर्मिला । हुन पनि अहिले चौरजहारी हत्याकाण्डमा ज्यान गुमाएका नवराजकी आमा उर्मिला र बाबु मोहनलाल नेपालीसँग आँसु सिवास केही छैन । खण्डहर मन लिएर छोराको न्याय निम्ति भौंतारिन बाध्य छन् ।
घटनापछि रानागाउँ र अलि पर्तिरको मटेला अझै आफ्नो दैनिकीमा फर्कन सकेको छैन । स्तब्ध र भयग्रस्त छ ।
१२ दिनको अन्तरालमा ६ जनाको क्षतविक्षत शव भेटिएकाले गाउँका मानिसहरू बेँसी–बगर झर्न कहालिन्छन् । भेरीको उच्चाटलाग्दो बगर मसानघाटजस्तो लाग्छ । नदीको सघन सुसाइ उही ज्यान बचाउन गुहार मागिरहेका अकिञ्चन युवाको एकोहोरो प्रलाप प्रतीत हुन्छ ।
नागबेली भेरीले छुट्टयाएको चौरजहारी र रानागाउँबासीबीच कुनै मनमुटावको इतिहास थिएन । आमुन्नेसामुन्ने अवस्थाका यी दुई गाउँको आर्थिक हैसियत एकै थियो भन्दा हुन्छ । मानिसहरूको जिन्दगी र दैनिकीमा पनि धेरै साह्रै भिन्नता छैन ।
समयक्रममा चौरजहारीले रानागाउँलाई केही उछिने पनि दुई गाउँको नाता–सम्बन्ध भने आपसमा जेलिएकै छ । गाँजिएकै छ ।
“हामी धेरैजसो किनमेल गर्न चौरजहारी जान्छौं । मेलापात पनि उतैतिर बढ्ता हुन्छ । भेरीले छुट्टयाएर मात्र हो, नत्र धेरै हिसाबले दुई गाउँ आपसमा नजिक छन्,” दुई गाउँको नाता पर्गेल्ने र चिनाउने कोसिस गर्छिन्, आमा उर्मिला ।
तर, जेठ १० गते रानागाउँले नसोचेको घटना बेहोर्यो । गाउँ उल्टिएर ढुङ्गामुढा गर्लान्, जीवनको बाटो नपहिल्याइसकेका युवाको कत्लेआम होला र रगतको नमेटिने दाग बस्ला भनेर रानागाउँ र मटेलाबासीले कहिल्यै कल्पना गरेका थिएनन् ।
चौरजहारी–८ बासीले विवेक गुमाउँदा रानागाउँ आँसुको गर्तमा धकेलियो । मुटुमा कहिल्यै निको नहुने घाउ लाग्यो । आधुनिक मानव सभ्यताको अनुहारमा गाढा मोसो पोतियो । इतिहास कलंकको टीका लगाएर सदियौंसम्म बाँच्न अभिशप्त भयो । छुवाछूतको आगाले लपेटिएर नवराजहरू खाक बनेको क्षणको साक्षी बस्न भेरी नदी विवश बन्यो । चौरजहारीबासीको चिर्पट, ढुङ्गा र हँसियाले मानवतालाई त मरणान्त तुल्याएको छ नै, यसको मूल्य राज्य र समाजव्यवस्थाले चुकाउनु पर्नेछ । समाजको पिँधबाट माथि उठ्दै गरेका समुदायमाथिको कत्लेआमको क्षमा युगौंसम्म मागिरहनुपर्नेछ ।
“छुवाछूतकै कारण हो बाबु ! दलित नभएको भए हाम्रा छोराहरू त्यसरी लखेटिइ लेखेटिइ मारिनुपर्ने थिएन,” गला अवरुद्ध बनाउँदै आमा उर्मिला भन्छिन्, “अरू दुईजनाचाहिँ त्यसैको घानमा परे ।”
छिमेकी गाउँबासी जिउँदाका जन्ती, मर्दाका मलामी हुन् । उनीहरूले नै मृत्युको बाटो देखाइ दिएपछि र काल प्रतीत भएपछि रानागाउँबासीको ओठतालु सुकेर भेरीको बगरजस्तो भएको छ । मारिने त मारिइहाले, बाँच्नेहरूको दशा के हुने हो ? के आपत बेहोर्नुपर्ने हो ? साँझ–बिहान हिँड्दा नवराजहरूकै नियति बेहोर्नुपर्ने त होइन भनेर मनमा भयको हुण्डरी चलेको छ ।
“छोरालाई मारिहाले, हामीलाई पनि मार्छन् भने पनि मारुन्, केही थिएन, गाउँका सबैलाई आक्रमण गर्ने हुन् कि भन्ने डर लागिरहन्छ । तेत्रा गाउँलेले छोरो र उसका साथीलाई घेरा हालेर मार्दा पनि बचाउन कोही अघि सरेनन्, नहानसम्म कसैले भनेको थाहा पाएका छैनौं,” आमा उर्मिला विस्तारै कुरा खोल्छिन्, “अहिले पनि एउटा परिवारलाई लिएर गाउँलाई नै मुछेको भनेर धम्की दिइरहेका छन् रे !”
नवराज र टीका सुनारको शव भेरीको बगरमा फेला पर्नेबित्तिकै उर्मिलासहित मारिनेको परिवारले २० जनाको नाममा किटानी जाहेरी दिएको थियो । किटानी जाहेरी दिएकामध्ये दुईजनाको पहुँचमा प्रहरी पुगेको छैन । बाँकी सबै पक्राउ परिसकेका छन् । पटकपटक गरी प्रहरीले २५ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।
मारिने सबैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ । रिपोर्टले ‘हत्या’ नै भएको ठहर गरेको छ । घटनाको योजनाकार किटानी जाहेरी दिएकामध्ये नै भएको निष्कर्षको नजिक छ प्रहरी ।
दलित अधिकारवादी सङ्घ–सङ्गठनले स्वतन्त्र तवरले अध्ययन, अनुसन्धान गरी हत्या नै भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारिसकेका छन् । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन पूरा गरी काठमाडौं फर्किइसकेको छ । प्रतिवेदन निर्माण गरी बुझाउने अन्तिम चरणमा छ । राष्ट्रिय मानवअधिकार र केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमै रहेर तथ्य पर्गेलिरहेको छ ।
सबै कोणबाट तथ्यको गहिराइमा पुग्ने प्रयत्न भइरहँदा पनि आमा उर्मिला भने विश्वस्त हुन सकिरहेकी छैनन् । कथित दलित भएकै कारण भेरीको बगरमा हत्या बेहोर्नुपरेको नवराज र उनका ज्यान दिने साथीहरूले न्याय पाउँछन् भनेर उनलाई रत्तिभर पनि विश्वास छैन । देशको न्यायप्रणालीमाथि भर पर्न नखोज्ने पनि होइनन् । दलित भन्दै हिजोदेखि भोग्नुपरेको अपमान, दूत्कार, छीःछी र दुर्वचनले मस्तिष्कमा डरलाग्दो चित्र बनाउँछ । र, छोराले न्याय पाउँछ भन्ने आशा कता बेपत्ता बनाइदिन्छ, बनाइदिन्छ ।
“दलितले अहिलेसम्म न्याय पाएका छैनन् भनेर सुनिरहन्छु । हामीले ठूला मानिस चिनेका पनि छैनौं । प्रधानमन्त्री पनि चिनेका छैनौं । के न्याय पाइएला र हजुर ?,” उनी हारमान्दै सुनाउँछिन् ।
सावाँ अक्षर खुट्टयाउन गाह्रो भए पनि उनी छोराको हत्याबारे आइरहेका समाचार, खबरबाट बेखबर भने छैनन् । घटनाको तातो छउञ्जेल सबैले साथ दिए पनि सहानुभूति लामोकालसम्म बाँचिरहनेमा उनलाई शङ्का छ ।
“जुनै घटनामा पनि दलित जातिलाई तल पारिदिएका छन् भन्ने सुन्छु । सरकार गम्भीर भयो भने न्याय पाउँथ्यौं कि भन्ने आस छ । हुन त सरकारका मान्छे, प्रहरीहरू आएर जहाँ जानुपर्ने हो, जे गर्नुपर्ने हो सरकारले गर्छ, मुद्दा पनि सरकारले नै लड्छ, तपाईंहरू रुनु पर्दैन भनेर भन्नुभएको छ । तर, के गर्नु आँसु थाम्न गाह्रो हुँदो रहेछ,” उनी विक्षिप्त हुँदै भन्छिन्, “प्रधानमन्त्रीज्यू ! हाम्रो आँसुको मर्म बुझिदिनुस् है ।”