काठमाडौं । अधिकारवादी संघ–सङ्गठनले पश्चिम रुकुमको चौरजहारीको नरसंहार जातीय छुवाछूत र अहङ्कारको उपज भएको निष्कर्ष निकालेका छन् । स्थलगत अध्ययन र पीडितहरूको बयानका आधारमा उनीहरू घटना नियोजित भएको निचोडमा पुगेका हुन् ।
गत जेठ १० किशोरी भगाउन छिमेकी गाउँ, भेरी नगरपालिका ४, रानागाउँबाट दलबलसहित युवाको एक समूह सोती गाउँ पुगेको थियो । कथित दलित युवकले माथ्लो जातको केटी भगाउन खोजेको भन्दै गाउँलेहरूले साङ्घातिक आक्रमण गर्दा प्रेमी नवराज विक र उनका पाँच साथी मारिएको अधिकारकर्मीहरूको ठहर छ ।
घटनामा केही युवा घाइते छन् । उनीहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आफैं जमानी बसेर उपचार गराइरहेको बताएको छ ।
घटनास्थलको प्रकृति, पीडित पक्षको भनाइ र प्रहरीको भनाइका आधारमा मृतकहरूलाई हत्यापश्चात् भेरी नदीमा बगाइएको अधिकारवादीहरूले निष्कर्ष निकालेका छन् ।
भेरीमा निमोठिएको विजातीय प्रेमको अन्तरकथा
भेरी नगरपालिका ४, राना गाउँका नवराज विश्वकर्मा र भेरीपारि मध्यपहाडी लोकमार्गसँगै जोडिएको चौरजहारी नगरपालिका ८ की मल्ल थरकी किशोरीबीचको केटौले मायाप्रीति पुरानो होइन । झाँगिएको केही समय मात्रै भयो ।
अढाइ वर्षअघि, २०७५ सालमा जाजरकोटको कुदुमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भएको थियो । खेलकुदमा सौख भएका नवराज स्कुलबाट प्रतिनिधित्व गर्दै कुदु गएका थिए । त्यसअघि नै धेरै टुर्नामेन्टमा भाग लिएका नवराज साथीसङ्गातीबीच पनि लोकप्रिय थिए । उनको ‘ख्याति’ वल्लोपल्लो गाउँ छिचोलेर टाढाटाढा पनि पुगेको थियो ।
त्यही स्पर्धामा मल्ल थरकी किशोरीसँग उनको भेट भएको थियो । किशोरवय छिचोलेर भर्खरै युवावयमा प्रवृष्ट भएका नवराज किशोरीसँग आकर्षित भए । प्रेम प्रगाढ बन्न कत्ति समय पनि लागेन ।
तर, त्यही प्रेम काल बन्छ र अकालमा ज्यान गुमाउनुपर्छ भनेर नवराजले भेउ पाउनै सकेनन् । दुईजनाको केटौले प्रेममा जात पर्खाल बन्छ र जीवन गुमाउने कारक पनि त्यही बन्छ भनेर हेक्का नराखी दुवैले ‘विजातीय प्रेम’लाई निरन्तरता दिई नै रहन्छन् ।
आठवटा सङ्घ–सङ्गठनले स्वतन्त्र तवरले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितापछि मल्ल थरकी ती किशोरी र नवराजबीचको भेटघाटमा केही ‘ग्याप’ देखिन्छ । यद्यपि उनीहरूबीच फोन संवाद र म्यासेन्जरमा भने गफ आदान–प्रदान भइ रहेको तथ्यबाट खुल्छ ।
‘छोरो मारिँदा पनि न्याय देऊ भनेर आन्दोलन गर्नुपरेको छ’
२०७६ पुस १२ गते जाजरकोटको खलङ्गामा स्थानीय मेला चलेको थियो । भेरीपारि चौरजहारी र आसपासका गाउँबाट मानिसहरू मेला भर्न आएका थिए । मल्ल थरकी किशोरी पनि मेला भर्न आएकी थिइन् । र, चारदिन नवराजकै घरमा आश्रय लिएर चौरजहारी फर्किएकी थिइन् ।
“त्यतिबेला किशोरी हाम्रै घरमा आइन् । उनकै उमेरकी नवराजकी बहिनी पनि छन् । उनीसँगै सुतिन् । चारदिन बसेपछि नवराजले नै उनलाई चौरजहारी ८, सोतीगाउँमा रहेको उनको घर पुर्याइ दिएका थिए,” आमा उर्मिला त्यसदिनको घटना सम्झिन्छिन् ।
मल्ल थरकी किशोरी ठूलो जातको भन्ने थाहा पाएपछि त्यतिबेलै छोरालाई हप्काइदप्काइ गरेको उर्मिलाको भनाइ छ ।
बाबु मोहनलालले पनि ती किशोरीलाई सम्झाउने कोसिस नगरेका होइनन् । मानवअधिकारवादी सङ्घसंस्थाका प्रतिनिधिसँग उनले भनेका छन्, “तिमी त उमेरमा पनि स्यानी छौ, जातका आधारमा पनि तिमी मल्ल ठकुरीकी छोरी, हामी सानो जातका मानिस, भोलि तिम्रो बाबुआमाले लफडा गर्लान् । अबदेखि तिमी हाम्रो घरमा नआउनू !”
किशोरीले आफ्नो ढिपी छाडिनन् । बरु उनले उल्टै सम्झाउन खोजेको मोहनलालले सम्झिएका छन्, “अङ्कल तपाईं पनि कस्तो मन्त्री जस्तो कुरा गर्नुहुन्छ ? हामी माओवादी हुम् ! हामी जात–भात मान्दैनौं । हामी दुवैजना साथीसाथी हौं । हामीले आठ वर्षपछि बिहे गर्ने हो ।”
कार्यदलको प्रतिवेदनमा २०७६ पुस २९ गते पनि किशोरी नवराजको घरमा आएको उल्लेख छ । बाह्रखरीसँगको कुराकानीमा आमाले पनि दोस्रोपटक तीनदिन आएर बसेको बताएकी थिइन् । त्यतिबेला उर्मिलाकी बहिनीका छोरा (नवराजको सानीआमाका छोरा) को जन्मदिन थियो । घरमा सानोतिनो जमघटको आयोजना भएको थियो ।
“नआइजो भन्दाभन्दै पनि त्यतिबेला उनी आइन् । त्यतिबेला पनि तीन दिन बसेर गइन्,” आमा उर्मिलाले बाह्रखरीसँगको कुराकानीमा भनेकी थिइन् ।
त्यसपछि भने किशोरीको बाबुआमाले नवराजसँगको प्रेम सम्बन्ध चाल पाएको र छुटाउने प्रयत्न गरेको उर्मिला बताउँछन् ।
“हामीले ठूला जातको छोरीमा आँखा नला । उनीसँग हाम्रो जात मिल्दैन । केटीका बाबुआमाले मान्दैनन् भनेर सम्झाएका थियौं,” आमा भन्छिन् ।
त्यसबीचमा केटीका आमाबाबुले नवराजलाई फोनमै हप्काइदप्काइ गरेको र पिछा नलाग्न चेतावनी दिएको आमा बताउँछिन् ।
‘एक्लो छोरो थ्यो, दलित भएर ठूलो जातको केटी भगाउने भन्दै मारे’
२०७६ चैत १७ गते, लकडाउनकै अवधिमा नवराज पुनः चौरजहारी गएका थिए । छोरी उठाउन आएको भन्दै क्षुब्ध बनेका किशोरीका बाबुआमाले अपशब्दले गाली–गलौज गर्दै नवराजलाई चौकी पुर्याएको उर्मिला बताउँछिन् । चौकी पुर्याउने हर्ताकर्ता तिनै वडाध्यक्ष डम्बरबहादुर मल्ल थिए ।
त्यतिबेला आमाले चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष मल्लसँग छोराको बदमासी र चौकी पुर्याउनुपर्ने कारणबारे सोधनी गरेकी थिइन् । तर, खानेपानीको काममा छु भन्दै वडाध्यक्षले भेट्न र कुरा गर्न इन्कार गरेको उनको भनाइ छ ।
“वडाध्यक्षले चौकीमा आउन मानेनन् । मेरो खानेपानीको काम छ भन्दै टारे । भोलिपल्ट बिहान आफैंले कागज गरेर छुटाएर ल्याएँ । त्यसबेला पनि केटीको पिछा नलाग्न छोरालाई भनेकी थिएँ,” आमा भन्छिन् ।
कुटीकुटी हत्या, प्रहरी रमिते
गत १० गते नवराजले १९–२० जना साथी बटुलेर सोती गाउँ लागेको अध्ययनबाट देखिन्छ । त्यतिबेला आफू घरमा नभएको र बाबु पनि बजार गएकाले केही थाहा नभएको आमा बताउँछिन् । त्यही दिन जाजरकोट, खलङ्गा बजार गएकाबेला किशोरीको ठूलो बुबा नाता पर्नेले ‘मल्लको सम्धी बन्न इच्छा छ ?’ भनेर सोधेको बुबा त्यतिबेलै आफूलाई शङ्का लागेर छोरीलाई दाजु आएको छ ? भनेर सोधेको मोहनलालले अध्ययन टोलीलाई बताएका छन् ।
घटना भएको दिन किशोरीले नै नवराजलाई बोलाएको प्रतिवेदनको ठहर छ । ‘मेरो अन्यत्रै विवाह गरिदिने भए । भगाएर लैजाने भए आउनू’ भनेर बोलाएपछि नवराज सोती गाउँ जान तयार भएको र साथी बटुल्न थालेको अधिकारवादीले निष्कर्ष निकालेका छन् ।
सन्देश किशोरीले पठाएकी थिइन् कि फोन कब्जामा लिएर बाबुआमा, दाजुले घटना घटनाउने नियतले बोलाएका थिए भन्ने अनुत्तरित छ । प्रहरीको अनुसन्धानमा पनि यो पाटो नखुलिसकेकाले अधिकारवादीको प्रतिवेदनमा पनि यो प्रश्न अनुत्तरित छ ।
किशोरीसँगको प्रेम सम्बन्ध विवाहमा परिणत गर्न १८ साथीसहित नवराज मध्याह्न १२ देखि १ बजेको समयमा सोतीगाउँतिर लागेको सँगै गएकाहरू बताउँछन् ।
सोतीगाउँ हिँडेका नवराजको समूह भेरी नदीको झोलुङ्गे तरेर पारि पुगेर थप साथीको प्रतीक्षा गरेको आमा बताउँछिन् । प्रेमिका लिन हिँडेको नवराजको समूह त्यहाँ करिब २० मिनेट बसेको देखिन्छ । त्यतिञ्जेल चौरजहारीतिरबाट आठ साथी थपिएको आमा बताउँछिन् ।
सोती गाउँ जाने किशोर–युवाले पनि आफूहरूलाई नवराजले फोन गरेर केटी भगाउन जाउँ भनेर बोलाएको बयान दिइसकेका छन् ।
“त्यसदिनको बिहानको खाना खाइसकेपछि करिब साढे १२ बजेतिर मलाई नवराजले केटी भगाउन जाउँ भने,” किशोरी भगाउन जाने समूहमा रहेका र भागेर ज्यान जोगाएका इन्द्रजङ्ग शाही भन्छन्, “त्यपछि हामी साथीहरू मिलेर रानागाउँबाट केटी ल्याउने भनेर सोतीगाउँ प्रस्थान गरेका थियौं । हामी सबै गरेर १९ जना गएका थियौं ।”
साँझको ५ बजे नवराजसहितको समूह किशोरीको घरमा पुग्दा आमा बाटैमा फेला परिन् । बाटोको छेउमा पाल नभएको घर थियो । आमा बाटैमा युवा आउँदै छन् भनेर चाल पाएजसरी बसेकी थिइन् । उनले टाढैबाट नवराजलाई चिनिहालिन् । हात उज्याउँदै गाली गर्न थालिन् ।
‘‘तँ....... फेरि आइस्..., अस्तिको पिटाइले तँलाई पुगेन..!’ भनेर वडाध्यक्षलाई बोलाइन् । त्यतिञ्जेल हामी केही साथीहरू अब यहाँ लफडा हुने भयो भनेर फर्कियौं,” इन्द्रजङ्ग शाहीले बयान दिएका छन् ।
किशोरीको आमाले फोन गरेर वडाध्यक्षलाई बोलाउनबित्तिकै गाउँलेहरू झुरुप्प जम्मा भएको कार्यदलको पनि निष्कर्ष छ । हातमा घरेलु हातहतियार, दाउरा, भाटा लिएका गाउँलेहरूले युवालाई भेरी बगरसम्मै लखेटेका थिए । त्यतिञ्जेल भेटिएजत्तिलाई पिटेको र नभेटिएलाई भेरीमा हेलिन बाध्य बनाएको समितिको ठहर छ । भेरीको किनारमा रहेका प्रहरीले केहीलाई उद्धार गरेपछि गाउँले पनि तितरबितर भएको अध्ययनको निष्कर्ष छ ।
“हामी भाग्दै थियौं, वडाध्यक्षहरूको हूलले घरेलु हतियार हँसिया, लाठी र ढुंगाले आक्रमण गर्न थाले,” इन्द्रजङ्ग घटनाको सविस्तार वर्णन गर्छन्, “त्यसपछि हामी गोइरीस्थित भेरीको किनारमा पुग्यौं । ज्यान जोगाउन भेरीको सानो भँगालो छिचोलेर जँघारतिर के सोझिएको थिएँ, त्यहाँ हामीलाई नदीको दुवैतिर गाउँलेहरूले घेराहालेर बसेका रहेछन् । मलाई पनि समातेर लाठीले कुट्न थाले ।”
उनले गुहार, गुहार भन्दै खुट्टा समातेर बिन्ती गर्दा पनि गाउँलेले कुट्न नछाडेको बताएका छन् ।
“उनीहरूले सुनेनन्, कुटेको कुट्यै गरे,” उनले अध्ययन टोलीलाई त्यसदिनको घटनाको विवरण सुनाएका छन्, “त्यसपछि मलाई प्रहरीले उद्धार गरेर लियो । प्रहरी त्यहाँ नआएको भए हामीलाई पनि मार्ने थिए ।”
उनले त्यतिबेला नवराज र मारिने कसैलाई पनि बगरमा नदेखेको पनि बताएका छन् ।
नवराजको शव त्यही दिन साँझ ७ बजे भेरीको झोलुङ्गे पुलनजिक फेला परेको थियो । त्यसको केहीबेर पछि टीकाराम सुनारको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा प्रहरी रमिते बन्न बाध्य भएको इलाका प्रहरी कार्यालय चौरजहारीका निरीक्षक धर्मसिंह विष्टले स्वीकार गरेका छन् ।
उनी त्यसदिन अघिल्लो दिनकै सडक विवाद मिलाउन खोलागाउँमा वडाध्यक्षले फोन गरेर बोलाएको विष्ट बताउँछन् । वडाध्यक्षको फोन आएको केहीबेरमै सहायक निरीक्षक सन्तोष लामिछानेको कमान्डमा पाँचजना प्रहरी वारदातस्थल पठाएको बताएका छन् ।
“म त्यहाँ पुग्दा महेश कार्की र डिल्ली विश्वकर्मालाई नियन्त्रणमा लिएर राखेका रहेछन्,” उनले अध्ययन टोलीलाई घटनाको जानकारी दिँदै भनेका छन्, “वडाअध्यक्षसहित ५० जना जति बारीको डिलमा उभिएका थिए । गाउँलेको पिटाइबाट सुदीप खड्काको मुखमा रगत आएको थियो । उनी अलिक धेरै घाइते थिए । उभिएका जतिले ढुङ्गा, लाठीले पिट्दै गरेको देखेपछि प्रहरीले रोकेको हो ।”
किशोरीकी आमाले वडाध्यक्षलाई ‘..फौज आएका छन्, डेढ–दुईसय मानिस ल्याउनू’ भनेर फोनमै भनेको सुनेपछि डराएका युवा केही ओह्रालो झरेका थिए । त्यहाँ पनि गाउँलेले ‘काफल, पानी खाओ’ भनेर अल्मल्याउन खोज्नुले पनि घटना नियोजित रहेको पुष्टि हुने र गावैंको संलग्नता देखिने रानागाउँवासीको ठहर छ ।
किशोरीको घरबाट १० मिटर वर आइपुग्नेबित्तिकै ढुङ्गामुढा– लाठीको वर्षा भएको र युवाको समूह तितरबितर भएको घाइतेहरूले बयान दिएको प्रहरीले बताएको छ । “हामी बाटाबाटै भाग्दै थियौं । गाउँलेहरू कुट्दै थिए । कतिलाई मारेर भेरीमा फालिसके भनेर उद्धार गरिएका १२ जना केटाहरूले बयान दिएका छन्,” प्रहरी निरीक्षक विष्टले बताएका छन् ।
गाउँलेहरूले किशोरी उठाउन जाने केटाहरू हातहतियारसहित गएको बताए पनि प्रहरीले त्यसको खण्डन गरेको छ । घाइते र मृतक सबै निःशस्त्र रहेको विष्टको भनाइ छ । “घाइतेहरू निःशस्त्र थिए पैसा पनि थिएन । हामीले नै सुदीप खड्काको २ हजार ८ सय र अरू ११ जनाको १७ हजार ९ सय रुपैयाँको उपचार जमानी बसेर गराएका हौं,” विष्टले भनेका छन् ।
प्रहरीले पनि घटना जातीय भेदभाव, छुवाछूतकै कारण घटाइएको निष्कर्ष निकालेको छ । “मृतक सबैको कुटेरै हत्या भयो । यसको निष्पक्ष छानबिन गर्छौं,” विष्टले आश्वस्त पार्दै भनेका छन् ।
भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश (सीपी) घर्तीले पनि गाउँलेको लखेटाइमा परेका किशोर–युवाको समूह आफैं भेरीमा हाम फालेको भन्ने अवस्था नरहेको बताउँछन् । घटनास्थलको अवस्था र मृतकको प्रकृतिले पनि त्यो बयानको इन्कार गर्ने उनको भनाइ छ । सीपीले शव भेटिएका ठाउँ वरवर ठूलाठूला भँगाला रहेकाले हाम फालेर मरे भन्न नमिल्ने बताउँछन् । मारिनेमध्ये अधिकांश युवा पौडन सिपालु रहेकाले हत्या गरेरै फालेको निष्कर्ष रानागाउँवासीको पनि छ ।
भेरी नगरपालिकाका मेयर सीपी जातीय सङ्कीर्णतावादी सोचलाई नै हत्याको कारण औंल्याउँछन् । “घटनाको प्रकृति हेर्दा सोतीका गाउँलेहरूले नवराजलगायत उनका साथीलाई लखेटेर, भेरी नदीको दुवैतर्फ घेरा हालेर कुटपिट गरी हत्या गरेर शवलाई नदीमा फालेको देखिन्छ,” उनले ठहर गरेका छन् ।
प्रहरी घटनास्थलमा नभएको भए बाँकी १२ जनाको पनि हत्या हुनसक्ने अवस्था देखिने उनको निष्कर्ष छ ।
हामी सुरुमा नवराज विश्वकर्माको घर गयौं । उनकी बाबुआमासँग भेट गर्यौं । त्यसपछि हामी भेरी नगरपालिकाका मेयर सीपी घर्तीसँग भेट गर्यौं । ततपश्चात् जिल्ला प्रहरी कार्यालय जाजरकोट गयौं । त्यसको भोलिपल्ट चौरजहारी पुग्यौं । त्यहाँ गएर जो घटनामा बाँच्न सफल भए उनीहरूलाई भेट्यौं । इलाका प्रहरी कार्यालयमा अन्तर्क्रिया गर्यौं र, घटनास्थलतर्फ लाग्यौं ।
घटनास्थल अवलोकन गरेपछि हामी के निष्कर्षमा पुग्यौं भने घटना एकदमै योजनाबद्ध हो । नियोजित रूपमा घटाइएको हो । भेरी नदी अहिले होइन बर्खामा पनि सहजै तर्न सकिन्छ । त्यहाँका मानिसहरू सजिलै भेरी तर्न सक्छन् । भान्सामा भात पकाउँदा–पकाउँदै तल आएर माछा मारेर तरकारी पकाएर पनि खाँदा रहेछन् ।
घटनास्थलभन्दा मुनि भिरालो परेको जमिन छ । कतै भिर पनि छ । तर, भाग्दाभाग्दै भिरबाट खसे होलान् भन्ने अवस्था छैन । उनीहरूलाई लखेट्दै भिरतिर पुर्याइएको छैन । एकैपटक भेरीको बगरमा पुगेका छन् । शव फेला पार्ने मानिस कसैले पनि नदीमा हाम फालेर मरेका हुन् भनेका छैनन् । सबैजसो शवहरू हात बाँधिएका अवस्थामा फेला परेका थिए । टाउकामा ठुल्ठूला चोट छन् । हामीले स्थानीय, प्रत्यक्षदर्शी सबैको भिडियो ल्याएका छौं । भिडियोले पनि मारेकै हो भन्ने पुष्टि गर्छ ।
युवालाई योजनाबद्ध तवरले बोलाइएको छ । किशोरीका दाजुले मोबाइल नियन्त्रणमा लिएर आफैंले म्यासेज गरेर बोलाएको तथ्य पनि हामीले फेला पारेका छौं ।
हाम्रो अध्ययन र घटनास्थलको प्रकृति हेर्दा यो जातीय छुवाछूतकै कारण हो भनेर निष्कर्ष निकाल्न सकिन्छ । घटनामा चारजना दलित र दुईजना गैरदलितको हत्या भएको छ । भागेर बाँचेका र प्रहरीले नियन्त्रणमा लिएकाहरू विक्षिप्त छन् । घटनाको क्षण सम्झन पनि सक्दैनन् । भक्कानिन्छन् । नियन्त्रणमा लिइसकेपछि बाँधेर, पिटेर, आँखामा बालुवा खाँदेर मारिएको छ । अमानवीय, क्रूर तरिकाले मानिस मारिएको छ । घटनामा मुख्य योजनाकार नै वडाध्यक्ष देखिन्छन् । उनीहरूले नै गाउँलेलाई खबर गरेका छन् ।
हामी त्यहाँ गइरहँदा त्यस क्षेत्रमा माननीय जनार्दन शर्माले घटनालाई तोडमोड गर्दै आफैं भेरीमा हाम फालेका हुन् भन्नुभयो । जाजरकोटबाट निर्वाचित माननीय त अहिलेसम्म बोल्नुभएको छैन । त्यो माओवादी जनयुद्धको आधारभूमि हो । उहाँहरू त्यसलाई जनक्रान्ति भन्नुहुन्छ । जनयुद्ध भएकै ठाउँमा दलित त्यसरी मारिन्छन्, अन्यत्र कस्तो होला ?
निचोडमा के भन्न सकिन्छ भने, मृतक ६ जना सबै मारिएका हुन् । जातीय छुवाछूतकै कारण उनीहरूको हत्या भएको हो । चौरजहारी नगरपालिका र कान्छो जिल्ला पश्चिम–रुकुम जातीय छुवाछूतमुक्त जिल्ला घोषणा गरिसकिएको रहेछ । कर्णाली प्रदेशका मुख्यमन्त्री र त्यस जिल्लाका माननीय भएर घोषणा गर्नुभएको रहेछ । तर, अवस्था त्यस्तो छ ।
अब मारिएकाहरू फर्किएर आउँदैनन् । उनीहरूको जात, धर्म, संस्कृतिअनुसार क्षतिपूर्ति दिनुपर्छ । क्षतिपूर्ति पैसामा होइन, सबै प्रकारका जातीय छुवाछूत अन्त्य गर्न राज्यले ठोस कदम चाल्नुपर्छ । मारिने ६ जनाको सम्झनामा केही खडा गरिदिनुपर्छ । २० जनाविरूद्ध किटानी जाहेरै भएको छ । उनीहरूलाई जन्मकैदको सजाय हुनुपर्छ । ताकि छुवाछूतले पुनः मुन्टो उठाउन नपाओस् ।
अध्ययन कार्यदलमा रहेका गैरसरकारी संस्था महासंघ नेपाल,
पाँच नम्बर प्रदेशका प्रतिनिधि धर्मलाल रोकाया