काठमाडौं । नरदेवीको ताम्सीपाखा रहेका केही न्यूनवर्गका परिवारलाई सहयोग गर्न केही दाताहरु जुटेका छन् ।
बाह्रखरीमा बिहीबार र शुक्रबार आएका ‘२५ दिनकी शिशु लिएर सात सन्तानकी आमा सडकमा अलपत्र’ र ‘जुट्नु पर्छ सहयोगी हातहरु’ समाचार पढेर उनीहरु सहयोगमा जुटेका हुन् ।
नेपालको सेभेन समिट ट्रेक्सका सञ्चालकहरुले लालकला लगायत ५/६ परिवारलाई एक–एक बोरा चामल र ग्यास सहयोग गरेका छन् । काठमाडौं ओम बाहलका साथीहरुसँगै फोटोपत्रकार प्रकास माथेमाको सहयोगमा सबै परिवारलाई तरकारीको व्यवस्था गरिएको छ ।
लालकलाको सानो बच्चालाई चाहिने दूध, लुगा लगायतका सामानहरु पनि प्रदान गरिएको छ । त्यस्तै तामाङ्गनी दिदीका छोरीहरुको तस्बिर देखेर एक जना सानी नानीले पनि तामाङ्गनी दिदीका जुम्ल्याहा छोरीअरु गंगा जमुनालाई चक्लेट बिस्कुटहरु दिन आएकी थिइन् ।
दाताहरुबाट प्राप्त सहयोग लिँदै लालकलाले भनिन्, ‘‘सधैं त यस्तै नहोला नि, काम गरी खाने दिन छिट्टै आउन् ।’’