काठमाडौं । काठमाडौं महानगरपालिकामा एक हप्तामा ४३ प्रतिशतमात्र मतगणना भएको छ । मतदान सकिएको भोलिपल्ट अर्थात् सोमबार दिउँसो दुई बजेबाट सुरु भएको मतगणनामा हालसम्म ७५ हजार ४४१ मत गनिएको छ । यो आइतबार दिउँसो दुई बजेको तथ्यांक हो ।
३२ वडा रहेको महानगरमा एक लाख ७२ हजार ३८० मत खसेको थियो । त्यस्तै हालसम्म सात वडाको परिणाम आएको छ भने २५ वडाको परिणाम आउन बाँकी छ । घोषणा गरिएका सात वडामध्ये तीनमा एमालेले र चारमा नेपाली कांग्रेसले विजय हासिल गरेका छन् ।
२९ मा स्वतन्त्रले झन्डै बाजी मारे
२८१ तहमा भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगर सबैको चासो र चर्चामा रह्यो । राजधानी सहरको महानगर भएकाले पनि काठमाडौं महानगरमा सबैको आँखा पर्ने नै भयो । तर, २९ वडाको परिणामले सबैको ध्यानाकर्षण गर्यो । त्यसो त कामपा २९ को मैतिदेवी बुथमा बहालवाला मन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले समेत मतदान गरेका थिए ।
उक्त वडामा नेपाली कांग्रेसका कुश ढकालले १५४५ मत ल्याए भने उनलाई शिवराम राजवंशीको ठड्याएको औँलाले चुनौती दियो । सुुरुदेखि लिड गरेका उनी अन्तिम समयमा १४९१ मत ल्याएर पछि परे । केही समयअघि उनी एमालेमा प्रवेश गरेका थिए । तर, एमालेले वडाध्यक्ष नपत्याएपछि उनी स्वतन्त्रबाट चुनाव लडेका थिए ।
वडाध्यक्षमा कांग्रेस, मेयरमा एमाले
कामनपाको हालसम्म घोषणा भएको वडाहरूमा कांग्रेसले वडाध्यक्ष जित दर्ता गरे पनि ती वडामा महानगर प्रमुखमा एमालेले नै लिड गरेको छ । वडा नं. २८ मा कांग्रेसका भाइराम खड्गीले १२०६ मत प्राप्त गरे । र, प्रतिद्वन्द्वी मधुसुन्दर तण्डुकारले ११२३ मत ल्याए र पछि परे । सोही वडाबाट एमालेको प्रमुखलाई ९३७ मत आयो भने कांग्रेसका प्रमुखलाई ९०३ मत प्राप्त भयो ।
रोचक त वडा नम्बर २५ नम्बरमा भयो । वडाध्यक्षमा नीलकाजी शाक्यले १५२५ मत ल्याएर चुनाव जिते । निकटतम प्रतिद्वन्द्वी एमालेका बाबुराजाले १४९० ल्याए । तर महानगर प्रमुखमा भने कांग्रेसका राजुराज जोशीले वडाध्यक्षले पाएको आधामात्रै मत पाए । अर्थात विद्यासुन्दर शाक्यले १७३२ मत ल्याउँदा जोशीले ८७८ मत पाए ।
रञ्जु दर्शनाको लोकप्रियता
काठमाडौं महानगरमा कुल स्वतन्त्रसमेत गरी २८ जना महानगर प्रमुखमा चुनाव लडेका थिए । तर, चर्चामा रहिन् २१ वर्षीया रञ्जु दर्शना । विवेकशील पार्टीबाट मेयर पदमा उठेकी उनले हालसम्म ९८४९ मत प्राप्त गरेकी छन् भने उनले माओवादी केन्द्रका सर्वोत्तम डंगोललाई पछि पारेकी छन् । त्यतिमात्रै होइन भर्खरै खुलेको साझा पार्टीबाट त्यसबाट मेयर पदमा उठेका पूर्वसचिव किशोर थापालाईसमेत पछि पारेकी छन् । थापाले हालसम्म ७४१६ मत पाएका छन् ।
मतगणनाको सुस्तता
काठमाडौं महानगरको मतगणना कुल १३ ठाउँमा भइरहेको छ । अहिले वडा नं. ३, ४, ५, ६, ७ त्यस्तै वडा नं. २२, २३, २४, २६, ३१, ३२ को मत गणना भइरहेको छ । र, पछिल्लो समय २४ घन्टामा २० हजारको हाराहारीमा मत गणना गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यही अनुपातमा मत गणना हुने हो भने मतपरिणाम आउन अझै एक हप्ता लाग्ने देखिन्छ ।