काठमाडौं । भेरी नगरपालिका ४, रानागाउँकी उर्मिला विश्वकर्माको अवस्था वैशाखसम्म ठीकै थियो । पति मोहनलाल नेपाली ढाडका बिरामी छन् । पुर्ख्यौली काम गर्दा–गर्दै ढाड सड्काएका मोहनलाल मेलापात त परै जाओस्, हिँडडुलसमेत गर्न सक्दैनन् । मेलापात, भारोपर्मदेखि छोराछोरीलाई बाटो देखाउनेसम्मको दायित्व उनै उर्मिलाकै काँधमा आएको छ ।
तैपनि उर्मिला निराश थिइनन् । तामाका मुनाजस्ता चार छोरोछोरी थिए । उनीहरूको अनुहार हेरेर उनी आफ्नो दुःख बिर्सन्थिन् । र, पतिको स्याहारमा अविराम जुट्थिन् । जेठी छोरीको विवाह भइसकेको थियो । तीन सन्तानले पनि बाटो खोजिरहेकाले उनीहरूको भविष्यप्रति निश्चिन्त थिइन् । बरु पतिकै चिन्ताले हमेसा पिरोलिरहन्थ्यो ।
गत पुस १२ गते हुनुपर्छ, सावाँ अक्षर खुट्याउन नसक्ने उर्मिलालाई तिथिमिति ठ्याक्कै याद छैन । यति भन्न सक्छिन् । आकाश निकै धुम्मिएको थियो । पानी पर्लापर्लाजस्तो भएको थियो । दिउँसोपख एक युवती आइन् ।
छोरो नवराज पनि सँगै आएकाले ‘साथी होला नि’ भन्ठानेर सोधीखोजी पनि गरिनन् ।
“छोरोसँग आएकी थिई अन्यथा के सोच्नु !,” उनी बाह्रखरीसँग कुराकानीमा त्यो दिन सम्झने कोसिस गर्छिन्, “आफ्नो छोरो भनेर होइन, गाउँमा उसको बेग्लै मान थियो । उसका साथीहरू पनि थुप्रै थिए । ती सबै घरमा आउजाउ गर्थे । केटी साथी पनि थपिई छ क्यारे ठान्यौं ।”
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ मा घर रहेछ उनको । मल्ल थरकी किशोरी रहिछन् ।
“आफूभन्दा माथ्लो जातको केटी भन्ने थाहा पाएपछि मलाई असाध्यै डर लाग्यो,” उनी भन्छिन्, “गाउँलेले के भन्लान् ठानेँ र छोरालाई एकान्तमा बोलाएर ‘उसकै घर पुर्याइदे, घर ल्याउनुहुन्न क्या बाबु’ भनेँ ।”
माथ्लो जातको केटी ल्याएको थाहा पाएपछि छोरालाई दुई हातै जोडेर बिन्ती गरेको उर्मिला बताउँछिन् । तर छोराले टेरेनन् । “बरु दुईचार दिन यतै बस्छिन् । तपाईंलाई सघाउँछिन् भन्न थाल्यो । मलाई धेरै डर लाग्यो । छोरालाई हप्काइदप्काइ पनि गर्न सकिनँ,” उनी थकथकी मान्दै सुनाउँछिन् ।
त्यसपछि नवराजको चौरजहारी जाने क्रम बाक्लियो । खेल्नमा असाध्यै रुचि राख्थे । भलिबल, फुटबल आदि खेल्थे । त्यो बहानामा उनी चौरजहारी गइरहन्थे । खेल्ने क्रममै उनका बग्रेल्ती साथी थिए ।
चौरजहारी आउने–जाने क्रममा किशोरीसँग उनको हिमचिम बढिसकेको रहेछ । पुस २९ गते साँझतिर हुनुपर्छ, उनी फेरि आइन् । त्यसपटक पनि छोरोसँगै आएकी उनी तीन दिन बसेर गइन् । बिहे नगरेकी किशोरी पटक–पटक आउजाउ गर्न र बासै बस्न थालेपछि उर्मिला थप आतंकित भइन् । उनले छोरालाई हप्काइन् पनि ।
“दोस्रोपटक पनि घरमा ल्याएपछि मैले छोरालाई बेस्सरी हप्काएँ । ‘हामीलाई उसै त गाउँका मान्छेले निको मान्दैनन् । ठूला जातको मान्छेलाई आँखा लगाउने भनेर भनाइ खानुपर्छ । अरूले भन्ने बाटो नदे’ भनेर सम्झाइबुझाइ गरेकी थिएँ । उसको मायामा अन्धो भइसकेको रहेछ के मान्थ्यो,” उर्मिलाको भनाइ छ ।
त्यसपछि केही समय युवती आउने क्रम रोकियो । बरु छोरो फोनमै झुन्डिरहन्थे । उनीहरूको सम्बन्धबारे गाउँमा गाइँगुइँ चल्न थालिसकेको थियो । साथीसङ्गातीले जिस्क्याउँथे पनि । तैपनि किशोरी घरमा आउजाउ नगरेकाले उर्मिला ढुक्क थिइन् ।
वैशाख मध्यतिर हुनुपर्छ । उर्मिला बारीको काममा व्यस्त थिइन् । नवराजलाई प्रहरीले पक्राउ गरेको खबर पो आयो । उनी हान्निँदै वडाध्यक्षलाई भेट्न गइन् । तर, वडाध्यक्षले केही सहयोग नगरेको उनी बताउँछिन् ।
“छोरोले के बदमासी ग¥यो । म खानेपानीको काममा छु भनेर टारे । एक्लै चौकीमा गएर रोइकराइ गरेर छुटाएर ल्याएँ । केटी पक्षले सानो जातिले ललाइफकाइ गरेको र केटीको मञ्जुरीबिनै जबरजस्ती भगाउन खोजेको आरोप लगाएको रहेछ । मैले बेलिविस्तार लगाएपछि प्रहरीले पनि कुरा बुझ्यो र छाडिदियो,” उनी त्यसदिनको घटना सम्झिँदै भन्छिन् ।
वैशाखको अन्त्यतिर किशोरी फेरि उर्मिलाको घरमा आएकी थिइन् । त्यसदिन नवराजको जन्मदिन थियो । किशोरीले भाइ पनि साथै लिएर आएकाले उनले केही पनि भनिनन् । भाइ बसे । किशोरीलाई चाहिँ नवराजले मोटरसाइकलमा राखेर घरै पुर्याइदिएको उर्मिला बताउँछिन् ।
नवराजसँगको प्रेम सम्बन्धबारे परिवार पनि जानकार रहेको उर्मिलाको दाबी छ । योबीच एक–दुईपटक किशोरीका परिवारले नवराजलाई धम्क्याएका पनि थिए ।
उर्मिलाले पनि छोराको प्रेमसम्बन्ध छुटाउन नखोेजेकी होइनन् । उनले ती किशोरीलाई पनि सम्झाएको बताउँछिन् । किशोरीले अहिलेको कालमा सानोठूलो जात हुँदैन र यसमा अल्झनुहुँदैन भनेर उल्टै सम्झाएको उर्मिलाको कथन छ ।
“तल्लो जातको भएर आफ्नो ठाउँमा बस्नुपर्छ भनेर गालीगलौज गरेका थिए । छोराले त भनेको होइन,” आमा उर्मिला बिलौना गर्दै भन्छिन्, “उसका साथीहरूले पनि सम्झाउने कोसिस गरेका थिए रे !”
तर पनि नवराज किशोरीसँगको प्रेमबाट पछि हट्न नमानेको आमा गुनासो गर्छिन् ।
शनिबार १० गते दिउँसो १२ बजेतिर ‘...लाई भगाउन जाउँ’ भनेर साथीहरू बटुलेको मात्रै उर्मिलालाई थाहा छ । नवराज कसरी त्यो गाउँमा पुगे भन्ने पूरै भेउ पाइसकेकी छैनन् । किशोरीले नै ‘मलाई भगाएर लैजाऊ’ भनेर बोलाएपछि मात्रै चौरजहारी गएको साथीभाइले बताएका छन् । पुत्रवियोगको आँसुमा चुर्लम्म डुबेकी उर्मिलाले यकिन गर्न सकेकी छैनन् ।
रानागाउँका १० र अन्यत्रका ९ जना जम्मा भएर चौरजहारी पुगेका रहेछन् । बाटामा युवाको हुल आएको छ भन्ने थाहा पाएपछि चौरजहारी नगरपालिकाकै केही जनप्रतिनिधिसहितको समूहले घरेलु हातहतियार प्रयोग गरेर छोराको हत्या गरेको उनको दाबी छ ।
“दिउँसो १२ बजेतिर साथीहरू बटुलेर हिँडेछ । एकपटक चौकीमा पुर्याइसकेकाले जे पनि गर्न सक्छन् लागेको थियो । मैले भनेको मानेन, अपराधीहरूले मारिदिए,” बोल्दाबोल्दै उनको गला अवरुद्ध हुन्छ ।
गाउँलेहरूले लखेटी–लखेटी छोरासहित रानागाउँकै टीकाराम सुनुवारको पनि हत्या गरेपछि ज्यान जोगाउन भेरीमा हाम फालेका युवा वेपत्ता भएको उनी बताउँछिन् । हाम फाल्नेमध्ये सोमबार थप एकजनाको शव भेरीको बगरमा फेला परेको छ । एकजनाको अवस्था अझै अज्ञात रहेको स्थानीय बताउँछन् ।
“छोरा र उसको साथी टीकारामलाई कुटीकुटी मारेछन् । आँखाअगाडि नै कुटीकुटी मारेको देखेपछि ज्यान जोगाउन हाम फालेका अरू पनि भेटिएका छैनन् । छोराको शव कहाँ राखेका छन् हामीलाई थाहा छैन । कोही सोध्न पनि आएका छैनन् । सानो जातले ठूलो जातलाई मन पराउनु हुँदैन भने कानुन लगाएर जेल हालेको भए पनि हुन्थ्यो । मारिदिए बाबु ! कसलाई गुहार माग्न जानु ! सरकारले हाम्रो पीडा सुन्दो रहेनछ !,” उर्मिला निरूपाय हुँदै पीडा पोख्छिन् ।
दलित भनेर सबैको हेलाहाँसोमा परेको उर्मिलाको दुखेसो छ । भेरी नगरपालिकाका मेयर, वडाध्यक्ष, प्रहरी कसैले पनि आफ्नो पक्षमा नबोलिदिएको र पोस्टमार्टम पनि भए, नभएको आफूलाई थाहा नदिएको उनले बताइन् ।
“कुन हो कागजमा दस्तखत गर्न आउनु भनेर खै कसले पो फोन गरेको थियो,” उर्मिलाले बाह्रखरीसँग रुँदै भनिन्, “छोरालाई के कति कारणले मारेको हो ? अहिले हातहतियार बोकेर गएकाले लखेट्नुपरेको हो भनेर गाउँलेले बयान दिएका छन् भन्ने सुनेको छु । हतियार बोकेर गएकै भए पनि चौकीमा बुझाउने कि मारेर खोलामा फालिदिने ?”
उनले चौरजहारी ८ का सबैलाई पक्राउ गरेर बयान लिनुपर्ने बताउँछिन् । ढुङ्गाले हिर्काइहिर्काइ मान्छे मार्दा पनि समाज रमिते बनेको उनको आरोप छ । “कस्ता मान्छे हुन् त्यहाँका ? दलित भएर ठूलो जात ताक्दै हिँड्ने भन्छन् रे ? गाउँ नै मिलेर दलित भन्दै मार्दै गर्न पाइन्छ ? देशमा न्याय, निसाफ, कानुन छैन ?” उनी आक्रोशित हुँदै प्रश्न गर्छिन् ।
एक्लो सहारा गुमाएर विह्वल बनेकी उर्मिलाको न्याय पाउने आश मरिसकेको छ । गरिबीबाट निर्मम डामिएकी उर्मिलालाई पुत्रशोकको पीडा पनि थपिएको छ । “दलित भनेर सबैले हेलाहाँसो गर्दा रहेछन् । ठूलो जातको चेलबेटीमा आँखा लगाएपछि यस्तै हो भनेर अरूले पनि खासै वास्ता गरेका छैनन् । हाम्रो त कोही रहेनछ !,” उनी आश मार्दै भन्छिन् ।