काठमाडौं । ‘राजनजी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले अलि डिस्टर्ब गर्लाजस्तो छ, कार्यक्रम एक साताअगाडि सार्नुपर्लाजस्तो छ । तपाईंको समय के छ,’ क्यानडाबाट आयोजक मधु आचार्यले साेधे ।
राजनको कार्यतालिका खुकुलो नै थियो । आयोजकको प्रस्ताव स्विकार्दै उनले भने, ‘हुन्छ म आउँछु ।’
मार्च २२ तारिख भ्यानकुवरबाट कार्यक्रम सुरु थियो । राजनराज १६ तारिख त्यसतर्फ जाने कार्यक्रम थियो । तर कोरोनाको संक्रमण क्यानडामा पनि देखिन थालेपछि आयोजकले एक साताअगाडि नै बोलाएको थियो । राजनराज नयाँ कार्यतालिकाअनुसार एक साताअगाडि नै क्यानडा पुगे ।
क्यानडा पुगेको पाँच दिन भएको थियो । भ्यानकुवरदेखि टोरन्टोसम्म सातवटा कार्यक्रम तय भइसकेको थियो । अरू ठाउँमा पनि कार्यक्रम गर्ने तय हुँदै थियो । कार्यक्रम निश्चित भइसकेका सहरमा आयोजकले टिकट बिक्री गरिसकेको थियो ।
तर कोरोनाको संक्रमण तीव्र गतिमा फैलिँदै थियो । एकातिर मान्छे बिरामी भएर जीवन र मृत्युको दोसाँधमा छन्, यो क्रम दिन दुई गुणा रात चौगुणा फैलिरहेको छ । अर्कोतिर रामरौस गर्दै रमाइलो यो त मानवता र नैतिकताले पनि दिँदैन भन्दै राजनराजले आयोजकलाई भने कार्यक्रम नगरौं, पछि गरौंला । आयोजकहरू भन्दै थिए, ‘टिकट बिक्री भइसकेको छ, सबै नगरे पनि एउटा मात्रै भए पनि गरौं ।’
‘नैतिकताका हिसाबले पनि कार्यक्रम गर्नु उचित हुँदैन । हाम्रै कार्यक्रममा सहभागी भिडभाडबाट कोरोना फैलियो भने पछि राम्रो पनि हुँदैन त्यसैले नगरौं ।’
आयोजक कार्यक्रम पछि गर्न राजी भयो ।
कार्यक्रम पछि सार्ने निर्णय गरेकै दिन क्यानडाले पनि ५० जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्णय गर्दै तीन दिन पछिबाट लागु हुने निर्णय गर्यो ।
नेपाल फर्किन २१ तारिखको टिकट लिएका थिए । सरकारले २२ तारिख मध्ये रातबाटै उडान बन्द गर्ने निर्णय गरेको उनले मन्त्रिपरिषद्को निर्णय सामाजिक सञ्जालमा देखे । कसरी फर्किने ? छट्पटी भयो । राजनराजलाई लाग्यो अब म क्यानडामै थुनिने भएँ ।
आयोजकले बिहानबाट टिकट बुझ्न सुरु गरेको दिउँसो १२ बजे बल्ल एउटा टिकट भेट्यो । त्यसमै मलेसिया हुँदै काठमाडौं फकिर्नुपर्ने भयो ।
“१८ तारिख थियो । म प्रायः बाहिर गएकाबेला केही काम नहुने भएकाले बिहान १०/११ बजेसम्म सुत्छु । तर त्यसदिन ५ बजे नै ब्युझिएँ । फेसबुक हेर्दा दुई दिन पछिबाट उडानहरू बन्द गर्ने मन्त्रिपरिषदको वक्तव्य देखेँ,” उनी भन्छन्, “मलाई लाग्यो अब म यहीँ थुनिएँ । आयोजकलाई फोन गरेँ ।
उहाँहरूले आत्तिनु पर्दैैन टिकट नपाए यतै बसौंला भन्नुभयो । म सँग भिसा पनि थियो । तर मलाई बस्न मन थिएन । नेपाल नै फर्किन चाहना थियो । म त्यो दिन अलिकति ढिलो ब्युँझिएको मात्रै भए पनि टिकट पाउने थिइनँ । संजोगले एउटा टिकट पाइयो । र त्यसबाटै फर्किएँ । होइन भने म उता परिवार यता । के थाहा म फर्किन्थे कि फर्किन्नथेँ ।”
० ० ०
त्यो बेला कोरोना संक्रमणको जोखिम हवाई यात्रामा बढी छ भनिँदै थियो । कारण को कहाँबाट कसको सम्पर्कमा रहेर हवाई यात्रामा आइपुगेको हुन्थ्यो थाहा हुँदैन थियो । त्यसैले क्यानडा–टोकियो–मलेसिया हुँदै लामो हवाई यात्रा गरेका राजनराजलाई डर लाग्यो । मनमा प्रश्न उठ्यो, ‘कतै मलाई पनि संक्रमण त भएन ?’
सरकारले अन्तर्राष्ट्रिय उडानबाट आएकाहरू क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेको थियो । एकातिर सरकारको आग्रहलाई पालना गर्दै सेल्फ क्वारेन्टाइनमा बस्नु थियो । अर्को आफ्नो परिवारको स्वास्थ्यलाई ख्याल गर्दै सामाजिक दूरी कायम गरेर कम्तिमा १४ दिन बस्नु थियो । आफ्नै लागि त हो, बस्नै पर्यो । बसे सेल्फ क्वारेन्टाइनमा राजनराज । श्रीमती र दुई छोरीबाट टाढै रहे ।
सधैं सँगै बसेको कहाँ सजिलो हुँदोरहेछ र दूरी कायम गर्न ? दिन कटाउन दिनभरि फिल्म हेर्थे । करेसाबारीमा काम गर्थे । सरसफाइ गर्थे ।
दिन कसरी बिताउनेभन्दा पनि संक्रमण पो छ कि भन्ने कुराले मनमा त्रास सिर्जना गथ्र्यो । कोरोनाको लक्षण पढ्दा कति आफैंसँग मिलेजस्तो लाग्थ्यो । कतै ज्वरो पो आयो कि ? घण्टा–घण्टामा ज्वरो नाप्थे । भन्छन्, “सेल्फ क्वारेन्टाइनको १४ दिन मैले सबैभन्दा धेरै गरेको काम ज्वरो नाप्ने नै हो ।”
जिन्दगीको माया मान्छेलाई कति धेरै हुँदोरहेछ ? उनले अनुभूत गरे ।”
त्रासदीपूर्ण १४ दिन सकिनै लागेको थियो । जिन्दगी केही नहुने भयो भन्ने खुसी सञ्चार हुँदै थियो । उनले समाचार पढे २० दिनसम्म पनि संक्रमणको खतरा रहन्छ । फेरि सुरु भयो मनका शंका । के थाहा ३० दिनभित्र पनि त देखिन सक्छ ।
अरूमा देखिँदा ममा देखिँदैन भन्ने के छ ? अन्तरसंवाद सुरु भयो । र फेरि सुरु भयो अर्को दुई साताको सेल्फ क्वारेन्टाइनको बसाइ । भलै थपिएको दुई साता अघिल्लो १४ दिनको जति त्रासको पारो चढेन । तर डरको अंश भने कायम थियो । यी दुई सातामा थर्मोमिटरले पनि अलि होलो पायो ।
० ० ०
३० दिन कटेको बिहान राजनराजलाई जिन्दगी सुरक्षित रहेको महसुस भयो । उनले लामो श्वास फेरे । लाग्यो, ‘अबचाहिँ बाँचियो ।’
क्यानडाबाट फर्किएको ४० दिनसम्म उनले गीतसंगीतको केही काम गरेनन् । कारण उनी त्रास र दबाबमा काम गर्दैनन् । त्यसैले कोरोनाको त्रासमा उनले गीतसंगीतको काम गरेनन् ।
जब मानसिक तनाव हट्यो । संसारै फुर्सदिलो भएको यो समयमा उनी पनि फुर्सद भए । र सुरु गरे सिर्जनाको काम । केही गीत आफैंले लेखे । केही अरूले लेखेका गीतमा कम्पोज गरे । गीतकार राजेन्द्र थापा, डा. राजुबाबु श्रेष्ठ, हरिहर तिम्लिसेना र दुर्गाबहादुर सुवेदीसँग राजनराजले यो लकडाउनमा सहकार्य गरे । उनीहरूका गीत कम्पोज गरे । एउटा गीत आफैं लेखे । अहिले एरेन्जरकोमा गीत पुगेका छन् । केही त एरेन्ज पनि भइसके । “अब रेकर्ड गर्न मात्रै बाँकी हो,” राजनराजले सुनाए ।
लकडाउनमा लेखिएका गीत भए पनि लकडाउन र कोरोनाको सेरोफेरो समेटेका गीत होइनन् उनले कम्पोज गरे । सामान्य समयमा गरिने जस्तै गीत छन् । उनकै शब्दमा केही माया प्रेमका केही स्वदेश गान ।
कोरोनाका गीतका लागि अफर नआएको त होइन । तर उनले त्यो काम गरेनन् । कारण समय र विषयको परिधिमा बसेर भन्दा स्वतन्त्र भएर काम गर्न उनी रूचाउँछन् ।
त्यसो भए चलचित्रका उनका गीत ? प्रश्न स्वाभाविक रूपमा जन्मिन्छ ।
“चलचित्रमा समावेश गरिएका मेरो गीत संयाेगले चलचित्रकाे विषय र परिवेशसँग मिलेका हुन् । धेरै गीत त मैले अगाडि नै तयार पारेका गीत चलचित्रमा प्रयोग गरिएका हुन्,” उनको जवाफ छ ।
“सर्जक आकाशमा उड्ने पक्षी हो, र पक्षी सधैं स्वतन्त्र हुन्छ । १२ वर्षअगाडि जसरी म कसैको दबाब बिना फुर्सदमा आफूलाई मनपर्ने गीत बनाइरहेको थिएँ,” राजनराज भन्छन्, “आज पनि म त्यही परिस्थितिमा काम गरिरहेको छु । आफैंलाई मनपर्ने गीत गाइरहेको छु । पहिला आफूलाई मन पर्नुपर्ने रहेछ । आफूलाई मन परेको गीत स्रोता दर्शकलाई पनि मनपर्दोरहेछ ।”
० ० ०
संसार शून्य प्रायः छ । मान्छे घरभित्र छन् । आर्थिक गतिविधि ठप्प छ । समय त रोकिएको छैन । तर रोकिएको भान हुन्छ राजनराजलाई । हुँदा खानेहरू समस्यामा परिसके । अर्काले दिएको राहतको कति दिन चल्छ । अथवा चल्नै छाडिसक्यो ? थाहा छैन । अब त हुने खानेहरूलाई पनि समस्या हुने बेला भइसक्यो । तर खोई हाम्रो सरकारको योजना ? उनी प्रश्न गर्छन् । जवाफ आजसम्म उनले कतै देखे भेटे र सुनेका छैनन् । तर उनले सुनेका छन् । कलाकारहरूले सरकारलाई कर तिरेका छन् र उनीहरूका लागि सरकारले राहत प्याकेज ल्याओस् ? त्यसैले उनलाई आशै छैन सरकारले अभिभावकत्व लिएला भन्ने । तर राजनराज भन्छन्, “हामी जनताले पनि संयम गुमाउनु हुँदैन । राज्यले पनि दायित्त्व भुल्नु हुँदैन ।”