काठमाडौं । विधान श्रेष्ठ, जे पापी र रीता उपाध्यायको स्वरमा रहेको गीत ‘माछी मार्न जाउँ न दाजै काला पानीमा...’ । फेरि एकपटक बाक्लै सुनिन थालेको छ । जबजब सीमामा विवाद र हस्तक्षेपको कुरा उठ्छ अनि यो गीत सुनिन थाल्छ । भारतले फेरि एकपटक काला पानी (लिपु लेक, लिम्पियाधुरा) हाम्रै हो भन्दै सडक खोलेपछि यो गीतको सान्दर्भिकता बढेको हो ।
विजय श्रेष्ठले लेखेको गीतको एउटा अन्तराले भन्छ– लाहुरको नोकरीको भर छैन, फर्केर आउँदा घर छैन । कालापानीमा मात्रै नेपाल–भारत सीमा क्षेत्रमा बस्ने प्रत्येक नेपालीले हरेक दिन भोग्ने समस्या बोलेको छ अन्तराले । भारत नेपालको सीमा मिच्दै नेपालतिर आउँछ । राति सुत्दा नेपालमा रहेका नेपाली बिहान उठ्दा भारतमा हुन्छन् । अर्थात् जङ्गे पिलर आफ्नो घरभन्दा अगाडि सरिसकेको हुन्छ । त्यसैले सीमाबारे परोक्ष रूपमा बोलेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ ।
५० को दशकको सुरुतिर विधान श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय थिए । उनका गीत स्रोतामाझ लोकप्रिय थिए । गीतको भिडियो बनाउने चलन सुरु भइसकेको थियो । कारण नेपाल टेलिभिजनको स्थापना भएको दशक हुन लागिसकेको थियो । टेलिभिजनबाट भिडियो भएका गीत बज्न थालिसकेका थिए । विधान श्रेष्ठले पनि आफ्नो गीतको म्युजिक भिडियो बनाउन थालेका थिए ।
त्यही क्रममा उनको भेट भुषण दाहालसँग हुन्थ्यो । भुषण म्युजिक भिडियो निर्देशन गर्थे ।
०५४ सालमा सीमा विवाद उत्कर्षमा पुगेको थियो । भुषणले विधानलाई भने सीमा विवाद सम्बन्धमा गीत बनाउने हो भने राम्रो हुन्छ । राष्ट्रियता र सार्वभौमिकता सबैका लागि प्यारो हुन्छ ।
विधानलाई भुषणको कुरा मनासिव लाग्यो । उनले गीतकार विजय श्रेष्ठलाई सुनाए । विजय नाताले विधानका बुवा । गीतमा विजयको कलम खुरुखुरु कुथ्यो । “मैले बुवालाई भनेको दुई घण्टामा यो गीत तयार पारिदिनु भयो । उहाँले नै संगीत पनि भरिदिनुभयो,” विधान नोस्टाल्जिक हुन्छन्, “गीत ०५४ सालमा लेखियो । ०५६ मा रेकर्ड भयो । ०५७ मा अनएअर भयो ।”
०५५ मा उनले सीमा र सार्वभौमका विषय उल्लेख गरेको गीत ‘ज्ञानबहादुर छोरो...’ गाइसकेका थिए । ‘कालापानी...’ पनि सीमाको विषय नै उठाएकाले करिब एकै खालको गीत लगातार नगाऔं जस्तो उनलाई लाग्यो । त्यसैले उनले यो गीत नगाउने तयार तयारी गरे । जे पापी, राजन सिंह र रीता उपाध्यायले गाउने तयारी गरे । तर, जब विधान सिने साउन्ड रेकर्डिङ स्टुडियोमा पुगे संगीतकार, रेकर्डिस्ट तथा साथी शुभेच्छुक सबैले भने, “गीत राम्रो छ तिमी पनि गाऊ ।”
सबैको आग्रहलाई विधानले नाईं भन्न सकेनन् । गाए । विधानले नगाएको भए उनको ठाउँमा राजन सिंहले गाउने जे पापी बताउँछन् ।
गीतको भिडियो बनाउने सल्लाह गरे । भुषण दाहालले केही समय मागेको जे पापी सम्झिन्छन्, “भुषण दाहालले केही समय मागेपछि हामीले सोचेकोभन्दा दुई महिना ढिलो गरेर भिडियो बन्यो ।”
गीतको भिडियो कहाँ खिच्ने ? “कालापानी मै खिच्न पाए त राम्रो हुनेथियो । तर सम्भव भएन । लगानी र भौगोलिक अवस्था र दूरीका हिसाबले पनि टाढा भएकाले सम्भव हुँदैन भन्ने भयो,” विधान भन्छन्, “त्यसैले काठमाडौं नजिकै कतै खोलामा गएर खिचौं भन्ने भयो । सिकुटे, दोललघाट र बनेपामा खिच्यौं ।”
तिहारको तीनदिन पछि खिचिएको गीत थियो । जाडो मौसम थियो । बिना पारिश्रमिक भिडियो निर्देशन गरिदिएका थिए भुषणले । “तीन कप चियाबाहेक हाम्रो केही पनि नलिई भुषणले यो भिडियो निर्माण गरिदिनुभएको थियो,” जे पापी भुषणप्रति अनुग्रहित सुनिए ।
नेपाल टेलिभिजनमा च्यानल ‘दिव्य दृष्टि’ले समय किनेको थियो । त्यही च्यानलले किनको समयमा ०५७ मा पहिलोपटक गीत प्रशारण भयो ।
गीत बनाउँदा विधानलाई स्रोताले गीत मन पराए पनि ‘हिट’ होला भन्ने लागेको थिएन । उनको मनमा थियो, ‘औषत गीत बन्ला ।’
भुषणले भनेका थिए, “गीतको शब्दमा विवाद पनि हुनसक्छ है ।”
गीतमा सीमाको कुरा गरिएको छ । पिलरको कुरा गरिएको छ । महाकालीको पानीमा भारतले मनपरि गरेको प्रसङ्ग उठाइएको छ । महाकालीदेखि पूर्वको पशुपतिनगरसम्मको कुरा गरिएको छ । गीतले सिधै गाली गरेको छैन । तर नेपालमा अनपेक्षित रूपमा जनसंख्या बढेको प्रसंग उठाएको छ ।
खुला सीमानाको फाइदा उठाउँदै अनावश्यक रूपमा भारतीय नागरिक नेपाल प्रवेश गरिरहेकाले त्यस्ता नाका (ढोका) बन्द गर्न आग्रह गरेकोतर्फ संकेत गरेको छ ।
विजयले निडर भएर लेखेका छन्– थुनिदेऊ नचाहिने ढोका स्वदेशी हो कम्मर कस ।
जस्तो भनेको त्यस्तै दिनकै ७/८ पटक बज्ने गीत एक्कासि बज्नै छोड्यो । किन भनेर विधान बुझ्नलाई टेलिभिजनको कार्यालय पनि जान्थे । तर उनले ठोष उत्तर पाएनन् । ‘अब बज्छ भनेर भन्थे तर बजेन’ । पछि ०६२ मा फेरि बज्न थालेको विधान सुनाउँछन् ।
गीत विधानले सोचेभन्दा धेरै लोकप्रिय भयो । “जबजब सीमामा विवाद र अतिक्रमण हुन्छ अनि यो गीत खोजीखोजी सुन्न थालिन्छ,” विधान आभार प्रकट गर्छन् ।
विधानले ०५५ मा ‘ज्ञानबहादुर छोरो...’ गाउँदा युवा पुस्ताले राष्ट्रभक्ति गीत खासै गाउँदैन थिए । राष्ट्र र राष्ट्रियताको गीत त उमेर ढल्किसके पछि पो गाउने हो त भन्ने आम युवाको बुझाइ रहेको विधान बताउँछन् ।
“मैले गीत गाउन थालेपछि राष्ट्रवादी गीत युवाले पनि गाउन थाले । सुरुमा त मलाई पनि लाज लागेको थियो । तर, बुवाले कर गरेपछि मैले लाज मानीमानी यो गीत गाएको थिएँ,” फेरि नोस्टाल्जिक हुन्छन् विधान, “जब मैले ज्ञानबहादुर गाएपछि हिट भयो त्यसपछि दौरा–सुरुवाल लगाएर गीतार र ड्रम सेटमा राष्ट्रवादी गीत गाउने युवाको ट्रेन्ड नै चल्यो ।”
संयोग विधानलाई बिहीबार दिउँसो टेलिफोन सम्पर्क गर्दा उनी सुनसरीको इनरुवामा थिए । कारण, हाम्रो नेपाली खुकुरीको कथाको गीतको छायांकनका लागि लकडाउनको दुई दिन अगाडि सुनसरी पुगेका थिए । बराहक्षेत्र र धुनिबेसीमा छायांकन गर्ने उनको सोच थियो । “तर लकडाउनका कारण यतै अलपत्र परेर बसेको छु,” अर्को पनि राष्ट्रवादी गीत गाउन लागेको विधानले सुनाए ।