site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 महोत्तरीको भंगहामा मृत्यु हुनेको संख्या १२ पुग्यो, मदिरा सेवनको आशंका

जनकपुर । एकपछि अर्को हुँदै दिनकै तीन जनासम्मको मृत्यु हुन थालेपछि महोत्तरीस्थित भंगहा नगरपालिकामा स्वास्थ्य क्षेत्रका सबै निकायको ध्यान केन्द्रित भएको छ । 

भंगहा नगरपालिका ७ मा दुई साता अगाडि एकजना अधवैशे पुरुषको अचानक मृत्यु भयो । त्यसको एक सातापछि थप एक जना र भोलिपल्ट एकै दिन अन्य दुई जनाको मृत्यु भएपछि स्थानीयमा त्रसित भएका थिए । घटना विवरण सञ्‍चामाध्यममा आएपछि जिल्ला अस्पताल, प्रदेश अस्पताल र सरुवा रोग नियन्त्रण महाशाखाको ध्यानाकर्षण भयो । पछिल्लो सातामात्रै थप आठ जनाको मृत्यु भयो । आइतबारसम्म यसरी मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

“हिँडडुल गर्दागर्दै अचानक टाउको दुख्‍न थाल्ने, वान्ता हुने, पेट दुख्‍ने र केहीबेरपछि मृत्यु हुने”, यो अवधिमा ज्यान गुमाएका १२ जनामध्ये अधिकांस व्यक्तिमा देखिएकोबारे भंगहा ७ का वडाध्यक्ष वासुदेव सिंहले बाह्रखरीलाई बताए । उनका अनुसार सुरुमा आठ जनाको मृत्युपछि पोष्टमार्टम नगरिकनै अन्त्येष्टी गरिएको थियो । एकै प्रकारका लक्षण देखिने र केही दूरीकै अन्तरालमा धमाधम मानिसको मृत्यु हुन थालेपछि स्थानीय प्रशासनले चासो लियो र पछिल्लो चार जनाको पोष्टमार्टम गराइएको सिंहको भनाई छ । 

भंगहा ७ का तीन र सोही नगरपालिका वडा नम्बर ६ का एक जनाको आरडीटी, पीसीआर जाँच र पोष्टमार्टम गरिएको छ । तीमध्ये आइतबार मृत्यु भएका एकजनाको आरडीटी रिपोर्ट नेगेटिभ देखिएको छ भने पीसीआर रिपोर्ट आउन बाँकी छ । अन्य सबैको आरडीटी र पीसीआर रिपोर्ट नेगेटिभ आएको र मृत्युको कारण देखिन सक्ने पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको नगर प्रमुख संजीव साहले जानकारी दिए । 

जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले शारीरिक रुपमा कमजोर रहेका र अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिहरुको मृत्यु भएको देखिन्छ । यतिबेला खुल्ला मदिरा पूर्णरुपमा प्रतिबन्ध गरिसकिएको र स्थानीयमा पनि सचेतना आइसकेको आधारमा थप घटना हुने सम्भावना घटेको उनको दाबी छ । 

दुई हप्तामा १२ जनाको ज्यान गएकोमा भंगहा ७ का ७ जना, सोही नगरपालिका वडा नम्बर ६ का १ जना र बर्दिबास नगरपालिका १२ का ४ जनाको मृत्यु भएको हो । भंगहाको वडा नम्बर ६ र ७ तथा बर्दिबासको १२ नम्बर वडाको सीमा जोडिएको छ ।

आपसमा जोडिएका तीन बस्तीका दर्जन व्यक्तिको धमाधम मृत्यु हुन थालेपछि यतिबेला सरुवा रोग नियन्त्रण महाशाखा टेकु, वीपी कोइराला स्वास्थ्य विज्ञान केन्द्र धरान र प्रदेश २ स्वास्थ्य निर्देशनालयको साथै विश्व स्वास्थ्य संगठनको संयुक्त टोली परिचालन भएको छ । उक्त टोलीले घटनाको कारण खोज्‍न मृतकका परिवार, छिमेकी र स्थानीय स्वास्थ्यकर्मीहरुसँग सोधपुछ गरिरहेका छन् । उक्त टोलीले पनि शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको कारण खुल्ने बताएको एसपी अधिकारी बताउँछन् । 

स्थानीयले भने विषाक्त मदिरा सेवन गरेको कारण उनीहरुको मृत्यु भएको अनुमान छ । दुई महिनाअघि यो ठाउँदेखि नजिकै पर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा विषाक्त मदिरा सेवन गर्ने करिब एक दर्जन सर्वसधारणको मृत्यु भएको थियो । उक्त घटनामा ज्यान गुमाउने परिवारहरुलाई प्रदेश २ सरकारले जनही तीन लाख रुपैयाँको दरले क्षतिपुर्ति उपलब्ध गराएको थियो । 

यसैबीच, एकपछि अर्को हुँदा दुई हप्तामै १२ जनाको ज्यान गएपछि प्रदेश २ सरकारले भंगहा ७ मा रहेको स्वास्थ्य चौकीलाई तत्काल स्तरोन्नतिगरी पाँच शय्याको अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले सोमबारै उक्त स्वास्थ्य चौकीमा पुगेर आवश्यक उपकरण र औषधी नगर प्रमुख संजीव साहलाई हस्तान्तरण गरेका छन् । जिल्ला अस्पतालबाट वेड पठाइसकिएको छ । बुधबारसम्म चिकित्सक लगायत आवश्यक जनशक्ति समेत परिचालन गरिसक्नेगरी तयारी भइरहेको मन्त्री साहले जनाए । 

यसअघि सोमबारै बिहान उक्त क्षेत्रका सांसद मञ्जु यादवको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउँदै मृतक परिवारहरुलाई उचित क्षतिपुर्ति र खुला मदिरा उत्पादन तथा बिक्री वितरण गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरेका थिए । 

उक्त टोलीमा धनुषाका सांसद शत्रुधन महतो र महोत्तरीका भरत साह तथा कौशलकुमार यादवलगायत उपस्थित थिए । ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री राउतले मृतक परिवारहलाई एक लाखको दरले क्षतिपुर्ति रकम उपलब्ध गराउने आश्वासन दिएको सांसद यादवले बताइन् ।  
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro