site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोर्डको नेतृत्वमा लय, दयाराम र भुवन आकांक्षी

काठमाडौं । चलचित्र विकास बोर्डमा आवेदन आह्वान भएसँगै अब अध्यक्ष पदका आकांक्षीहरूले दौडधूप सुरु गर्नेछन् । बोर्डले मंगलबार योग्यता ताकेर रिक्त अध्यक्ष पदका लागि आवेदन आह्वान गरेपछि अब आकांक्षीले आवेदन दिँदै लबिङ पनि सुरु गर्नेछन् । 

अहिलेसम्म बोर्डमा हाल सदस्य रहेका दयाराम दाहाल, नायक भुवन केसी र निर्देशक तथा कलाकार लय संग्रौलाले आवेदन दिने संकेत गरेका छन् । दुवैले आफूलाई साथी तथा शुभचिन्तकले अध्यक्षमा जान सुझाएको भन्दै सुझावलाई सकारात्मक रूपमा लिएको बताएका छन् । 

“साथीहरूले बोर्डमा तपाईं जानुप¥यो भुवन दाइ भनिरहनुभएको छ । ३७ वर्ष लामो अनुभव पनि छ, चिनजान र व्यक्तित्व पनि छ,” भुवन बाह्रखरीसँग भन्छन्, “साथीहरूको सुझावलाई मैले सकारात्मक रूपमा लिएको छु । तर निर्णय नै भने गरिसकेको छैन ।” 

भुवनको जस्तै भनाइ दयारामको पनि छ । “साथीहरूले सुरुदेखि नै तपाईंलाई चलचित्र क्षेत्रको जानकारी पनि छ । बोर्डमा काम गरेको अनुभव पनि छ, त्यसैले अध्यक्ष बन्नुपर्छ भन्नुभएको छ,” उनी भन्छन्, “साथीहरूको सहयोग तथा साथ रहे पक्कै पनि म पनि यसमा सकारात्मक नै हुनेछु ।”

अध्यक्ष पद खाली भएदेखि नै अकांक्षीहरूले लबिङ सुरु गरेका थिए । मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि आकांक्षीहरूले नियुक्तिका लागि लबिङ सुरु गरेका थिए ।  चलचित्र क्षेत्रको सर्वोच्च संस्थामा रिक्त अध्यक्ष पदमा आकांक्षीमा निर्देशक तथा बोर्ड सदस्य दयाराम दाहाल, नायक भुवन केसी, निर्देशक तथा कलाकार लय संग्रौलासँगै निर्देशक केपी पाठक पनि आकांक्षी हुन् । लय संग्रौलाले पनि स्वच्छ प्रतिस्पर्धा भए आफूले आवेदन दिने बताएका छन् । “म मेरो अनुभव र योग्यताका आधारमा अध्यक्षमा जान चाहान्छु,” लय बाह्रखरीसँग भन्छन्, “तर पदकै लागि चलखेल हुन्छ भने र त्यो संकेत पाएँ भने आवेदन दिन्नँ ।”

तर, बोर्डले योपटक आवेदन आह्वान गर्दा पुरानो नियम मिचेर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र २० वर्ष चलचित्र क्षेत्रमा काम गरेको व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । तर यसभन्दा अगाडि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र चलचित्र क्षेत्रको १० वर्षे अनुभव चाहिने मापदण्ड थियो । 

“योग्यताको यो मापदण्ड किन परिवर्तन भयो भन्ने सबैले अनुमान लगाउन सक्छ,” कलाकार तथा निर्देशक मोहन निरौला भन्छन्, “स्नातक नभएको कोही व्यक्तिलाई बोर्डको अध्यक्षमा लैजान नयाँ मापदण्ड ल्याएको हो ।” 

स्रोतका अनुसार अध्यक्षका सबै आकांक्षीको शैक्षिक योग्यता स्नातक छैन । 

आकांक्षीमध्ये दयाराम अध्यक्षका बलिया प्रतिस्पर्धीमध्ये एक हुन् । उनी अध्यक्षका आकांक्षीमध्ये सबैभन्दा बलियो प्रतिस्पर्धी भएको स्रोतको दाबी छ । उनी तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाका गृहजिल्लाका हुन् । उनले बास्कोटालाई चुनावमा सहयोगसमेत गरेका थिए । 

तत्कालीन सञ्चारमन्त्री बास्कोटाले उनैलाई चाहेका थिए । आफूलाई चुनावमा लगाएको गुन दाहाललाई बोर्डको अध्यक्ष पद दिएर चुक्ता गर्ने योजनामा बास्कोटा थिए । तर उनी सञ्चारमन्त्रीबाट हटिसकेपछि उनले मन्त्रालयमा कत्तिको लबिङ गर्न सक्छन्, त्यसमा भर पर्ने स्रोत बताउँछ । 

भुवन पनि अध्यक्षको दौडमा छन् । तत्कालीन एमालेनिकट भुवन नेकपाका नेता माधव नेपालनिकट मानिन्छन् । संविधानसभामा सभासदका रूपमा जान चर्को लबिङ गरेका उनी अहिले अध्यक्षका लागि लबिङमा छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चारमन्त्री युवराज खतिवडासँग लबिङका लागि सीधै पहुँच राख्छन् । 

दर्जनौं टेलिशृंखला निर्देशन गरेका लय पनि आफूलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् । सञ्चारमन्त्रीसँग उनको सीधा पहुँच छ । सञ्चारमन्त्री खतिवडा र लय संग्रौलाको गृहजिल्ला (झापा) मात्रै एउटै होइन । उनीहरू स्कुलदेखि कलेजसम्म सँगै पढेका क्लासमेट हुन् । उनीहरूबीच तँ–तँ र म–मको सम्बन्ध छ । यही सम्बन्धकै कारण लयलाई सञ्चारमन्त्रीले ग्रिन सिग्नल दिइसकेका थिए । स्रोतका अनुुसार लयले नियुक्तिका लागि सञ्चार मन्त्रालयमा आवश्यक डकुमेन्ट बुझाइसकेका थिए । मन्त्रालयले सार्वजनिक रूपमा आवेदन आह्वान नगरी उनलाई नियुक्ति दिने आश्वासन दिएको थियो । अहिले एक्कासि शैक्षिक योग्यताको मापदण्ड परिवर्तन गरेर आवेदन आह्वान गरेपछि उनी झस्किएका छन् । 

उच्च रक्तचाप र सुगरका बिरामी भट्टराईको हृदयाघातका कारण नियुक्ति पाएको ९ महिनामा निधन भएको थियो । दुई वर्षे कार्यकालका लागि सरकारले उनलाई गत चैतमा नियुक्त गरेको थियो ।

उनले आफ्नो कार्यकालमा बक्स अफिस लागु गर्न सुरु गरेका थिए । उनकै पालामा चलचित्र ऐनको ड्राफ्ट तयार भएको थियो । काठमाडौंको आसपासमा इनडोर फिल्म स्टुडियो निर्माणका लागि सरकारको वार्षिक आय–व्यय (बजेट भाषण) मा रकम छुट्याउन लगाएका थिए । 

अबको नेतृत्वलाई यी काम पूरा गर्दै कोरोनाका कारण थला बसेको चलचित्र उद्योगलाई पुनः पहिलाकै अवस्थामा फर्काउने चुनौती हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro